काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै त्यहाँ कुनै पनि प्रकारका सभा, प्रदर्शन, पत्रकार सम्मेलन वा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न कानुनी रूपमा अनुमति नभएकाले प्रहरीले तत्काल हस्तक्षेप गरेको उनले जानकारी दिए।
प्रहरीका अनुसार सुरक्षा व्यवस्था कायम राख्ने उद्देश्यले प्रसाईंलाई नियन्त्रणमा लिइएको हो। आवश्यक समन्वय र छलफलपछि उनलाई कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन भक्तपुरस्थित निजी निवाससम्म सुरक्षित रूपमा पुर्याइएको प्रहरीले जनाएको छ।
एसपी भट्टराईले प्रसाईंविरुद्ध यस घटनासँग सम्बन्धित कुनै नयाँ मुद्दा दर्ता नगरिएको स्पष्ट पार्दै कानुनको पालना गराउने र विमानस्थलको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मात्रै प्रहरी परिचालन गरिएको बताए।
घटनापछि केही समयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षा सतर्कता बढाइएको थियो। यात्रुहरूको आवागमन र विमानस्थलको नियमित सञ्चालनमा भने कुनै अवरोध नआएको प्रहरीले जनाएको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय सुरक्षा दृष्टिकोणले अति संवेदनशील क्षेत्र भएकाले पूर्वअनुमति बिना निषेधित क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, प्रदर्शन, नाराबाजी, पत्रकार सम्मेलन वा सार्वजनिक गतिविधि गर्न नपाइने कानुनी व्यवस्था रहेको पुनः स्मरण गराएको छ।
सुरक्षा निकायले यस्ता संवेदनशील क्षेत्रमा कानूनविपरीत गतिविधि हुन नदिन आगामी दिनमा पनि आवश्यक निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाइने जनाएको छ।