काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रतालाई कसैले पनि हनन गर्न नसक्ने बताएका छन्। उनले सरकार प्रेस स्वतन्त्रता संकुचन गर्ने दिशामा नरहेको स्पष्ट पार्दै पत्रकारहरूलाई अनावश्यक आशंका नगर्न आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएकाले सरकारले त्यसको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए।
उनले प्रेस स्वतन्त्रता संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भएकाले कुनै पनि सरकार वा निकायले त्यसको हनन गर्न नसक्ने उल्लेख गरे। पछिल्लो समय सरकारले प्रेस स्वतन्त्रता सीमित गर्न खोजिरहेको भन्ने आशंका व्यक्त भइरहेका बेला त्यसमा सत्यता नरहेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्य नराखेको स्पष्ट पार्दै पत्रकार र सञ्चारमाध्यमसँग आवश्यक विषयमा खुला संवाद गर्न सरकार सधैं तयार रहेको बताए। उनले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति, कानुन तथा अन्य विषयमा सुझाव आवश्यक परे सरकार छलफलका लागि खुला रहेको उल्लेख गरे।
उनले भने, “यो सरकारले प्रेस स्वतन्त्रता सङ्कुचन गर्न लागेको जस्तो संकेत गरिएको मैले सुनेको छु। त्यस विषयमा सम्पूर्ण पत्रकार मित्रहरूलाई चिन्तित नहुन आग्रह गर्न चाहन्छु। हामीलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ। कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन। यो संविधानले सुनिश्चित गरेको अधिकार हो।”
उनले यदि सरकारले संवैधानिक हक–अधिकारको कार्यान्वयनमा बाधा पुर्याएको महसुस भए त्यसका विरुद्ध संवैधानिक र कानुनी उपचारका पर्याप्त व्यवस्था देशभित्रै रहेको पनि बताए। लोकतान्त्रिक व्यवस्थामा कानुनी प्रक्रियामार्फत आफ्नो अधिकारको रक्षा गर्न सकिने भएकाले निराधार आशंका फैलाउनु उपयुक्त नहुने उनको धारणा थियो।
सञ्चारमन्त्री तिमिल्सिनाले पत्रकारिताको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई सरकार र सार्वजनिक निकायलाई उत्तरदायी बनाउने महत्वपूर्ण माध्यम भएको बताए। सरकारले गैरजिम्मेवार व्यवहार गरे त्यसबारे प्रश्न उठाउनु र सत्यतथ्य सार्वजनिक गर्नु पत्रकारको प्रमुख दायित्व भएको उनको भनाइ थियो।
उनले जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक मर्यादाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याए। सरकार र सञ्चार क्षेत्रबीच आपसी सहकार्य, संवाद र विश्वासको वातावरण कायम रहनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहभागी सञ्चारकर्मी, कानुनविद् तथा सरोकारवालाहरूले बदलिँदो सञ्चार परिवेश, प्रेस स्वतन्त्रता, डिजिटल मिडिया, सञ्चारसम्बन्धी कानुन तथा पत्रकारिताको जिम्मेवारीका विविध पक्षमा धारणा राखेका थिए।