काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) नेत्र बहादुर कार्कीलाई प्रदान गरिएको छ।
यसअघि उक्त जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टले सम्हाल्दै आउनुभएको थियो। डिआइजी भट्टको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी डिआइजी कार्कीलाई दिइएको हो।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार संगठनको निर्णयअनुसार डिआइजी कार्कीले अबदेखि सशस्त्र प्रहरी बलको आधिकारिक धारणा सार्वजनिक गर्ने, सञ्चारमाध्यमसँग समन्वय गर्ने तथा संगठनसँग सम्बन्धित सूचना प्रवाह गर्ने जिम्मेवारी सम्हाल्नुहुनेछ।
डिआइजी कार्की संगठनभित्र अनुभवी र व्यावसायिक अधिकृतका रूपमा परिचित हुनुहुन्छ। विभिन्न महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएका उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइनु संगठनको सूचना व्यवस्थापन तथा जनसम्पर्क कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालको गतिविधि, सुरक्षा व्यवस्थापन, विपद् उद्धार, सीमा सुरक्षा तथा अन्य जनसरोकारका विषयमा अब डिआइजी कार्कीले आधिकारिक जानकारी सार्वजनिक गर्नुहुनेछ। उहाँको नियुक्तिसँगै संगठन र सञ्चारमाध्यमबीचको समन्वय तथा सूचना प्रवाह थप सशक्त हुने विश्वास गरिएको छ।
हालै सशस्त्र प्रहरी बलभित्र भएका सरुवा तथा जिम्मेवारी हेरफेरको क्रममै डिआइजी कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। संगठनले समयअनुकूल जनतालाई सही, तथ्यपरक र आधिकारिक सूचना उपलब्ध गराउने उद्देश्यका साथ सूचना व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ।
नयाँ जिम्मेवारी पाएसँगै डिआइजी कार्कीले संगठनको छवि अभिवृद्धि, पारदर्शिता प्रवर्द्धन तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा भूमिका खेल्ने अपेक्षा गरिएको छ।