Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँचथरमा बाढीपहिरोको कहर : २६ घर उच्च जोखिममा, सडक र खानेपानी संरचना ध्वस्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १४ २०८३
  • 969
    SHARES

पाँचथर । लगातारको बेमौसमी वर्षापछि गएको बाढीपहिरोले पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापू क्षेत्रलाई पुनः संकटमा पारेको छ । गत जेठ ८ गते परेको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा यहाँका कम्तीमा २६ घर उच्च जोखिममा परेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

स्थानीयवासीका अनुसार वर्षा सुरु हुनासाथ त्रास बढ्ने गरेको छ । कतिपय परिवार राति पानी पर्न थालेपछि घर छाडेर सुरक्षित स्थानतर्फ भाग्न बाध्य हुने अवस्था रहेको छ ।

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार साविक च्याङथापू गाविसका विभिन्न टोलमा पहिरोले ठूलो क्षति पुर्याएको छ । ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुरलगायत क्षेत्र पहिरोको उच्च जोखिममा परेका छन् ।

उनका अनुसार २६ घर तत्काल जोखिममा छन् भने करिब ७० घर पहिरोको सम्भावित जोखिम क्षेत्रमा रहेका छन् । पहिरोले चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको घर बगाएको छ भने कोप्चेका गङ्गाराम बेघाको घर पनि पहिरोले पूर्ण रूपमा क्षति पुर्याएको छ । अन्य धेरै घरहरू चर्किएको र जोखिमपूर्ण अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

वडाध्यक्ष खालिङले भने, “कसैको घरमाथिबाट पहिरो आएको छ भने कसैको घरमुनिबाट जमिन बगिरहेको छ । पानी पर्नासाथ सबैजना त्रसित हुने अवस्था छ ।”

मानवीय क्षति नभए पनि बाढीपहिरोले पशुचौपाया बगाएको, खेतीयोग्य जमिन पुरिएको तथा अलैँची बगानमा व्यापक क्षति पुगेको जनाइएको छ । कृषिमा निर्भर स्थानीयवासीको जीविकोपार्जनमा यसले गम्भीर असर पुर्याएको छ ।

च्याङथापू क्षेत्रमा तीन वर्षअघि पनि ठूलो विपद् आएको थियो । विसं २०८० असार ३ गते मेवाखोलासहित विभिन्न खोलामा आएको बाढी र पहिरोले यहाँ ठूलो क्षति पुर्याएको थियो । त्यसबेला चोक, खोलाघारी, एकरातेलगायत क्षेत्र प्रभावित भएका थिए । स्थानीयका अनुसार यसपटकको वर्षा र पहिरो अघिल्लो विपद्भन्दा अझ भयावह बनेको छ ।

वडाध्यक्ष खालिङले दुःख व्यक्त गर्दै भने, “तीन वर्षअघि जसरी पहिरोले गाउँ ध्वस्त पारेको थियो, अहिले फेरि त्यस्तै अवस्था दोहोरिएको छ । प्रकृतिले पीडामाथि पीडा थपिरहेको छ ।”

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङका अनुसार प्रभावित क्षेत्रमा अहिले त्रासदीपूर्ण अवस्था रहेको छ ।

उनले भने, “बादल लाग्नासाथ मानिसहरू दिउँसै घर छाडेर भाग्ने अवस्था छ । जताततै पहिरो गएको छ । खोलाकिनारका संरचना बाढीले बगाएको छ ।”

बाढीपहिरोका कारण यहाँका आठ वटा सिँचाइ योजना, तीन वटा खानेपानी आयोजना तथा तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गतको च्याङथापू खण्डमा समेत ठूलो क्षति पुगेको छ ।

फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ तथा च्याङथापू–लामपोखरी सडकका विभिन्न भाग अवरुद्ध भएका छन् । च्याङथापू–लामपोखरी सडक बन्द भएपछि सुकाढापस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी)सम्म आवश्यक सामग्री ढुवानी गर्नसमेत कठिन भएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन थप प्रभावित बनेको छ । ५० भन्दा बढी विद्यार्थी विद्यालय जान नसक्ने अवस्थामा पुगेका छन् भने गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण प्रभावित भएको स्थानीय तहले जनाएको छ ।

तीन वर्षअघि क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माण नहुँदै पुनः विपद् दोहोरिएपछि स्थानीय सरोकारवालाले यस क्षेत्रलाई “संकटग्रस्त क्षेत्र” घोषणा गर्न माग गरेका छन् ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार वडा नं १, २ र ३ मा सबैभन्दा बढी क्षति पुगेको छ भने वडा नं ४ र ५ मा आंशिक क्षति भएको छ । हाल सबै वडाबाट क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ ।

बाढीपहिरोपछि गाउँपालिकाका सबै वडा जोड्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । गाउँपालिकाले ओयामतर्फबाट सडक खुलाउने प्रयास सुरु गरेको जनाएको छ ।

उपाध्यक्ष मेन्याङ्बोले भने, “हालसम्म वडा नं ३ को फलामखोलासम्म सम्पर्क स्थापित गरेका छौँ । बाँकी सडक खुलाउने काम जारी छ ।”

सडक अवरुद्धकै कारण राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको छ । गाउँपालिका स्वयं पनि च्याङथापू र फलैँचासम्म पुग्न नसकेको जनाएको छ ।

उपाध्यक्ष मेन्याङ्बोले भने, “अहिले हामी ओयामभन्दा माथि जान सक्ने अवस्थामा छैनौँ । त्यसैले त्यहाँका जनप्रतिनिधिलाई नै क्षतिको विवरण सङ्कलन तथा स्थानीय समन्वयको जिम्मा दिएका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४