काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ हजार ७०० रुपैयाँले बढेको छ भने चाँदी १४५ रुपैयाँले महँगिएको छ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९० हजार २०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८४५ निर्धारण गरिएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० मा कारोबार भएको थियो भने चाँदी रु ४ हजार ७०० मा सीमित थियो। आइतबार सुनको मूल्य रु २ लाख ८६ हजार र चाँदी रु ४ हजार ७२० कायम भएको थियो। यसले पछिल्ला दिनहरूमा बजारमा तीव्र उतारचढाव देखिएको स्पष्ट हुन्छ।
अन्तरराष्ट्रिय बजारको प्रभाव पनि स्थानीय बजारमा देखिएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल विश्व बजारमा एक औँस सुन करिब ४ हजार ५६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी करिब ८० अमेरिकी डलरमा किनबेच भइरहेको छ।
विशेषज्ञहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा बढ्दो मूल्य, अमेरिकी डलरको उतारचढाव र भूराजनीतिक अवस्थाका कारण सुनचाँदीको मूल्यमा निरन्तर दबाब परेको छ।