काभ्रेपलाञ्चोक । Araniko Highway अन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नतिको काम सुरु गरिएकाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सडक पक्की बनाउने तथा स्तरोन्नतिको काम तीव्र बनाउन यही चैतको पहिलो सातादेखि करिब दुई हप्ता सडक बन्द गरेर काम अघि बढाइएको Division Road Office Bhaktapur ले जनाएको छ।
लामो समयदेखि निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएपछि कामलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख सिनियर डिभिजन इञ्जिनियर सुनम योगेशका अनुसार उक्त सडकखण्डमा पक्की बनाउने कार्यका लागि चैत ७ गतेदेखि चैत २० गतेसम्म रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। यस अवधिमा टिपर तथा मालवाहक सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको उनले बताए।
चार किलोमिटर लम्बाइ रहेको उक्त सडकखण्डमध्ये चैत महिनाभित्र करिब दुई दशमलव पाँच किलोमिटर पक्की बनाउने र बाँकी काम आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
उक्त सडकखण्डमा सुरक्षाका लागि सिसीटिभी जडान गर्ने तयारी पनि भइरहेको इञ्जिनियर योगेशले जानकारी दिए। सिसीटिभी जडानपछि लक्ष्यअनुसार पक्की बनाउने कामलाई थप तीव्र बनाइने उनले बताए।
डिभिजन सडक कार्यालयका अनुसार १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी सिएन एवान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो। हाल सडकमा साना संरचना निर्माण तथा टेवा पर्खाल निर्माणको काम भइरहेको छ।
चिसो मौसमका कारण हालसम्म सडकको सतहसम्बन्धी काम हुन नसकेको भन्दै मौसम क्रमशः न्यानो हुँदै जाँदा कालोपत्रको काम सुरु गरिने जनाइएको छ। कालोपत्र सम्पन्न भएपछि सडकको स्लोप मर्मत तथा अन्य बाँकी काम पनि गरिनेछ।
सात मिटर चौडाइको बन्ने उक्त सडकका विभिन्न स्थानमा देखिएका पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधि प्रयोग गरिने पनि जनाइएको छ।
यसैबीच निर्माण कार्य ढिलाइ हुँदा तीन वर्षदेखि उक्त राजमार्गमा यात्रा गर्ने यात्रु धुलो, हिलो, ट्राफिक जाम तथा दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुँदै आएका स्थानीयले बताएका छन्। पुरानो निर्माण कम्पनीले समयमै काम नगरेपछि कार्यालयले ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत काम अघि बढाइएको हो।
यसअघि धुलिखेल–खावा सडक स्तरोन्नतिको जिम्मा पाएको गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का कार्यालयले रद्द गरेको थियो। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि विसं २०८१ फागुन १५ गते उक्त ठेक्का रद्द गरिएको थियो।
उल्लेखित सडकखण्ड Araniko Highway हुँदै चीनसँग जोडिएको उत्तरी नाका Tatopani Border तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने प्रमुख मार्ग भएकाले यसको स्तरोन्नति महत्त्वपूर्ण मानिएको छ।
मालवाहक सवारीसाधनको भारवहन क्षमतालाई ध्यानमा राख्दै सडकलाई बलियो बनाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसिएको बेस राख्ने तथा दुई चरणमा कालोपत्र (डिबिएम र आस्फाल) गर्ने योजना रहेको कार्यालयले जनाएको छ।