काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
बजारमा ग्यास हुँदाहुँदै ‘ग्यास छैन’ भन्दै उपभोक्तालाई नदिने, अब ग्यास पाइँदैन भनेर बढी मूल्य असुल्ने तथा इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै पनि सवारीसाधनलाई नदिने गुनासो बढेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ।
काठमाडौँ महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार ग्यासको अभावको गलत सूचना फैलाएर उपभोक्ताबाट बढी मूल्य असुल्ने र सर्वसाधारणको जनजीवनमा असहज अवस्था सिर्जना गर्नेमाथि कानुनअनुसार कारबाही गरिनेछ।
उनले भने, “ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेलाई कारबाही गरिनेछ। नेपाल आयल निगमले आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकेको छ। यही मूल्यमा खरिद–बिक्री गर्न व्यवसायी र उपभोक्तालाई अनुरोध गर्दछौँ।”
काफ्लेका अनुसार बजारमा ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्तिका कारण पनि कृत्रिम अभाव देखिएको हुनसक्छ। यसले माग र आपूर्तिको सन्तुलन बिग्रिने भएकाले उपभोक्ताले पनि जिम्मेवारीपूर्वक ग्यास खरिद गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, “यदि अत्यधिक सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पर्छ। त्यसैले सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्छ।”
यस्तै, केही पेट्रोल पम्पहरूले मौज्दात इन्धन हुँदाहुँदै पनि ‘इन्धन छैन’ भन्दै सवारीसाधनलाई उपलब्ध नगराउने सूचना प्राप्त भएपछि महानगरले यस विषयमा समेत निगरानी सुरु गरेको जनाएको छ।
ग्यास तथा इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखिएमा त्यसबारे तथ्यसहितको जानकारी महानगरपालिकाको हटलाइन नम्बर ११८० मा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा महानगरले आवश्यक छानबिन र निगरानी गर्ने जनाएको छ।
यसैबीच ग्यास बिक्रेता महासङ्घ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतबाट नेपाल आउने ग्यासको आपूर्ति हालसम्म नियमित रहेको बताएका छन्। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न आग्रह गर्दै बजारमा अभावको हल्ला नफैलाउन अनुरोध गरेका छन्।