काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन धापड्याम बाट पानी छाड्न सुरु गरिएको छ । नदीमा स्नान गर्न आउने हजारौँ भक्तजनलाई सहजता प्रदान गर्नुका साथै नदीको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यले पानी प्रवाह गरिएको सम्बन्धित निकायले जनाएको छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सञ्चालन भइरहेको बाग्मती सुधार आयोजना ले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजन उपस्थित हुने भएकाले नदीमा पानीको बहाव बढाउन विशेष तयारी गरिएको जनाएको छ । आयोजनाका अनुसार दिउँसोदेखि क्रमिक रूपमा पानी छोड्न सुरु गरिएको हो र पर्व अवधिभर निरन्तर पानी प्रवाह हुनेगरी आवश्यक समन्वय गरिएको छ ।
आयोजनाका उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपाल का अनुसार धापड्यामबाट पानी छोडेपछि पशुपति क्षेत्रसम्म आइपुग्न करिब १४ घण्टा लाग्ने भएकाले समय मिलाएर पानी प्रवाह सुरु गरिएको हो । विशेष चाडपर्वका अवसरमा बाग्मती नदीको बहाव बढाउन ड्यामको पानी प्रयोग गर्ने अभ्यास यसअघि पनि हुँदै आएको उनले बताए । महाशिवरात्रिमा देश तथा विदेशबाट ठूलो सङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शन र बाग्मतीमा स्नान गर्न आउने भएकाले नदीमा पर्याप्त पानी कायम राख्न विशेष पहल गरिएको उनको भनाइ छ ।
प्रतिसेकेन्ड ४०० लिटर पानी प्रवाह
समितिका अनुसार तीन दिनसम्म प्रतिसेकेन्ड करिब ४०० लिटर पानी बाग्मती नदीमा छाडिनेछ । यसले नदीको सतह घुँडासम्म पुग्ने अनुमान गरिएको छ, जसले व्रतालु तथा श्रद्धालुलाई स्नान गर्न सहज बनाउने विश्वास गरिएको छ । यसबाट नदीको दृश्यात्मक सौन्दर्यता बढ्नुका साथै धार्मिक गतिविधि सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ ।
यस क्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग पनि समन्वय गरिएको छ । सुन्दरीजल प्रशोधन केन्द्रमार्फत नदीमा पानी प्रवाह गरिदिन आग्रह गरिएको छ । साथै आवश्यक परे मेलम्ची खानेपानी आयोजना को पानी प्रयोग गरी थप बहाव कायम राख्ने तयारी गरिएको छ ।
पाँच करोड लिटरसम्म पानी छाड्ने तयारी
बाग्मती सुधार आयोजना प्रमुख शम्भुराज पण्डित का अनुसार महाशिवरात्रिका अवसरमा करिब पाँच करोड लिटरसम्म पानी बाग्मती नदीमा प्रवाह गर्ने योजना बनाइएको छ । यसअघि विभिन्न चाडपर्वमा पनि नदीमा पानी प्रवाह गर्ने निर्णयअनुसार आवश्यक व्यवस्थापन भइरहेको उनले बताए ।
त्यसैगरी सुन्दरीजल पानी प्रशोधन आयोजनाका प्रमुख हेम बुढाथोकी ले बाग्मतीमा पानी प्रवाह गर्दा उपत्यकाका उपभोक्तालाई खानेपानी आपूर्तिमा कुनै असर नपर्ने स्पष्ट पारे । उनका अनुसार दैनिक रूपमा वितरण भइरहेको पानीभन्दा अतिरिक्त स्रोत व्यवस्थापन गरी नदीमा पानी छाडिने भएकाले उपभोक्तालाई समस्या नपर्नेछ ।
धापड्यामको धार्मिक, पर्यटकीय र वातावरणीय महत्त्व
धापड्याम शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित रहेको छ । धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने यस ड्यामले बाग्मती नदीको बहाव कायम राख्न र नदी संरक्षणमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।
ड्याम निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको सम्बन्धित निकायले जनाएको छ । वर्षायाममा संकलित पानी हिउँदमा नदीमा छाड्ने लक्ष्यसहित निर्माण गरिएको यस परियोजनाले नदीको सौन्दर्यता जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यस परियोजना निर्माणमा एशियाली विकास बैंक को करिब ८९ करोड रुपैयाँ सहयोग रहेको छ । ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ भने जलाशय क्षेत्रफल करिब १५ हेक्टर छ ।
दैनिक पानी प्रवाहमा चुनौती
यद्यपि सुक्खा मौसममा पर्याप्त पानी संकलन हुन नसक्दा दैनिक रूपमा नदीमा पानी छाड्ने सरकारी लक्ष्य पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । प्रारम्भिक योजनाअनुसार हिउँदमा प्रतिसेकेन्ड ४० लिटर पानी छाड्ने सोच बनाइएको भए पनि त्यसले उल्लेखनीय प्रभाव नदेखाएपछि प्रतिसेकेन्ड ४०० लिटर आवश्यक पर्ने निष्कर्ष निकालिएको छ । तर ड्याममा पर्याप्त पानी संकलन नहुँदा नियमित रूपमा पानी प्रवाह गर्न चुनौती देखिएको अधिकारीहरूले बताएका छन् ।
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने धार्मिक गतिविधि, स्नान तथा दर्शनलाई सहज बनाउन यसपटक पनि विशेष तयारी गरिएको छ । सम्बन्धित निकायले सुरक्षा, सरसफाइ र पानी व्यवस्थापनलाई प्राथमिकता दिँदै पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गराउने लक्ष्य लिएको जनाएको छ ।