काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्य दिगो, दीर्घकालीन र पारस्परिक लाभदायक हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार मन्त्री शर्मासँग कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेका थिए।
मन्त्री शर्माले आजको विश्व परिवेशमा एक्लै अघि बढेर लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्दै आपसी सहकार्य अपरिहार्य रहेको बताए। उनले निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन भएको भन्दै कतारी निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा लगानीका लागि आमन्त्रित गरे।
कतारको विकास अनुभवबाट नेपालले सिक्न सक्ने कुरा धेरै रहेको उनले बताए। दुवै देशका लागि लाभदायक र दीर्घकालीन सहकार्यका क्षेत्र पहिचान गरी संयुक्त लगानी गर्न सकिने उनका भनाइ थिए।
कतार चेम्बर अफ कमर्सका बोर्ड सदस्य अलोबैदेलीले नेपाल–कतार सहकार्य सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत अघि बढाउन सकिने बताए। उनले अन्तर्राष्ट्रिय बजारमा कतारको अनुभव, रणनीतिक विश्व साझेदार र उपलब्ध अवसरहरूलाई बुझेर सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए।
अलोबैदेलीले राजनीति र निजी क्षेत्रलाई उत्प्रेरकको रूपमा प्रयोग गरी दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउन सकिने बताए। साथै, दुवै देशका चेम्बर अफ कमर्स तथा व्यापार परिषद्लाई सक्रिय बनाइने जानकारी दिए। कतार चेम्बर विश्वव्यापी रूपमा बलियो नेटवर्किङ प्लेटफर्म भएको उल्लेख गर्दै उनले प्रत्येक वर्ष ३५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलहरू कतार आउने जानकारी दिएका छन्।
कतारी प्रतिनिधिमण्डलले ऊर्जा, पर्यटन र प्रविधि क्षेत्रमा लगानीका अवसर खोजिरहेको बताए। प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको थियो र मंगलबार अर्थमन्त्री रामेश्वर खनाल तथा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग पनि भेटवार्ता सम्पन्न भयो।
भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली र लगानी सम्भावनाबारे छलफल गरिएको थियो। कतारी प्रतिनिधिहरूले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए दीर्घकालीन लगानीका लागि तयार रहेको जानकारी दिएका छन्।
भेटवार्तामा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता रहेको थियो।