काठमाडौं । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा गत माघ २२ गते भएको भीषण डाइनामाइट विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । विष्फोटमा बेपत्ता रहेका खोटाङका ५० वर्षीय रत्न राईको शव अस्पतालमा डढेको अवस्थामा फेला पारी आफन्तले पहिचान गरेपछि मृतकको संख्या बढेको हो ।
हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका राई गत असोज ९ गते रोजगारीको खोजीमा मेघालय पुगेका थिए । उनको मृत्युको खबरले परिवार र गाउँमा गहिरो शोक उत्पन्न भएको छ भने उनका छोराहरूले माघ २५ गतेदेखि नै काजकिरिया सुरु गरेका छन् ।
यसअघि सोही विष्फोटमा खोटाङको बराहपोखरी गाउँपालिका-१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भइसकेको थियो । मृतक पूर्णबहादुर र सुरेन्द्र दाजुभाइ हुन् । विष्फोटमा पूर्णबहादुर र सुरेन्द्र घटनास्थलमै र नरबहादुर उपचारका क्रममा मृत्यु भएको थियो ।
विष्फोटमा ज्यान गुमाएका खपाङ्गी त्रयको माघ २६ गते शिलाङको झालुपारामा दाहसंस्कार गरिएको छ । मृतकका आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार शव नेपाल ल्याउन नेपाल सरकारको तर्फबाट कुनै पहल नभएपछि परदेशमै अन्तिम संस्कार गर्न बाध्य हुनुपरेको हो ।
सोही घटनामा बराहपोखरीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन् । उनीहरू गत पुस ३ गते मात्र कामको खोजीमा त्यहाँ पुगेका थिए ।
अवैध रूपमा सञ्चालित भनिएको उक्त कोइलाखानीमा भएको शक्तिशाली डाइनामाइट विष्फोटमा अझै दर्जनौँ कामदारहरू फसेको अनुमान गरिएको छ । नेपाली मजदूरको सुरक्षा, अवैध खानी नियन्त्रण र तत्काल उद्धारमा ध्यान दिनुपर्ने आवश्यकता दोहोरिएको छ ।