Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले–प्रलोपा तालमेलले शक्ति सन्तुलन हल्लायो, प्रचण्ड दबाबमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमालेले चुनावी रणनीतिमा नयाँ फड्को मारेको छ । उम्मेदवारी फिर्ता लिने समयसीमा सकिएपछि एमालेले कर्णाली र लुम्बिनी प्रदेशका १३ जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोबबीच भएको लिखित सहमतिअनुसार, एमालेले रुकुम पूर्व र रुकुम पश्चिममा प्रलोपाका उम्मेदवारलाई सघाउने भएको छ । यसको बदलामा अन्य ११ जिल्लामा प्रलोपाले एमाले उम्मेदवारलाई मतदान गर्नेछ । एमाले र प्रलोपाबीचको यो सहमतिले रुकुम पूर्व र पश्चिमको चुनावी नतिजालाई निकै रोचक बनाएको छ ।

रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन् । एमालेले आफ्ना उम्मेदवार लीलामणि गौतमलाई निष्क्रिय बनाउँदै प्रलोपाका सन्दीप पुनलाई समर्थन गर्ने निर्णय गरेपछि दाहालमाथि दबाब बढेको विश्लेषण गरिएको छ । त्यस्तै, रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रलोपाका संरक्षक जनार्दन शर्मा चुनावी मैदानमा छन् । एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटाको साटो शर्मालाई (आँखा चिह्नमा) मतदान गर्ने सहमति गरेपछि त्यहाँको प्रतिस्पर्धा थप कसिलो बनेको छ । रुकुम पश्चिममा नेकपाका तर्फबाट गोपाल शर्मा उम्मेदवार छन् ।

तालमेलका १३ जिल्ला
सहमतिअनुसार एमाले र प्रलोपाबीच कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिम तथा लुम्बिनीका रुकुम पूर्व, दाङ, रोल्पा र प्यूठानमा सहकार्य हुनेछ । रुकुमका दुई क्षेत्रबाहेक अन्य जिल्लामा प्रलोपाका उम्मेदवारले एमालेलाई सघाउनेछन् । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार हुम्ला र जुम्लाबाहेकका जिल्लामा यो सहमति इमानदारिताका साथ कार्यान्वयन गरिनेछ ।

औपचारिक सहमतिबाहेक एमाले र नेकपा (माओवादी) बीच कालीकोट र दाङमा अनौपचारिक ‘लेनदेन’ भएको चर्चा समेत राजनीतिक वृत्तमा छ । स्रोतका अनुसार कालीकोटमा एमालेले माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सघाउने र त्यसको बदलामा दाङ क्षेत्र नं. २ मा माओवादीले एमाले महासचिव शंकर पोखरेललाई सहयोग गर्ने बुझिएको छ ।

२०७९ को निर्वाचनको तथ्याङ्क हेर्दा रुकुममा माओवादीको पकड बलियो देखिन्छ । तर, यसपटक माओवादी पृष्ठभूमिका नेताहरू नै विभाजित भएर फरक दल (प्रलोपा) बाट मैदानमा उत्रिएको र उनीहरूलाई एमालेको समेत साथ रहने भएपछि चुनावी अङ्कगणित फेरबदल हुन सक्ने अनुमान गरिएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार दाङमा आयोजित एक कार्यक्रममार्फत रुकुम पूर्वका एमाले उम्मेदवारलाई प्रलोपासँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४