Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सयपत्री फूलको माग धान्न धौ-धौ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ५ २०८२
  • 4.8K
    SHARES

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् ।

याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन् ।

समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताइन् । यसपटकको तिहारको भाइटीका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उनले जानकारी दिए ।

अध्यक्ष गुरुङले भने ‘हाल दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन् । माग धान्न धौ धौ भएको छ । कतिपय व्यवसायीहरु फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा केही सहज भएको छ । गत वर्ष रु चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष रु पाँच लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।’

आँबुखैरेनी कृषि शाखाप्रमुख सन्तोष केसीले हाल यहाँ थोरै फूलखेती गरेका किसानले पनि रु ३५ देखि ४० हजारसम्म फूल बिक्री गरेको बताए । उनले मागअनुसार फूल आपूर्ति गर्न नसकिएको बताए ।

‘सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ, अरुलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ’, शाखाप्रमुख केसीले भने ‘यस क्षेत्रमा मौत्र ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । करिब रु १५÷१६ लाखको फूल उत्पादन हुनुपर्ने भए पनि सोचेअनुरुप उत्पादन भने भइरहेको छैन ।’

यहाँ प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तोकिएको छ । सयपत्री फूल प्रतिकिलोग्राम रु ३५० देखि ४०० सम्म कायम गरिएको छ ।

गत वर्षको तुलनामा यसवर्ष प्रतिमालामा रु ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

‘माग धान्न सकिएको छैन । अर्को वर्ष एक महिनादेखि नै बुकिङ काउन्टर खुला गर्ने योजना बनाउँछौँ’ उनले भने ‘फूलखेतीले यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन् । पालिकाले यसलाई थप व्यवस्थित बनाउँछ ।’

यसवर्ष फूल कतार नपठाइने

यसवर्ष आन्तरिक माग बढी भएकाले अन्य देशहरूमा फूल निर्यात नगरिने गाउँपालिकाले जनाएको छ । गत वर्ष माला तयार गरी बिक्रीका लागि कतारमा पठाइएको थियो ।

यसैगरी कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनीमा हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला ‘बुकिङ’ गरिसकेको कृषि शाखाप्रमुख केसीले जानकारी दिए ।

छिम्केश्वरी–बूढीदेवी मन्दिरको बृहत्तर विकासका लागि छिम्केश्वरी पर्यटन विकास समितिले महायज्ञको आयोजना गर्दैछ । महायज्ञमा पण्डित दीनबन्धु पोख्रेलले कथावाचन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४