Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज श्रीकृष्ण जन्माष्टमी : धर्मको रक्षा र कर्मयोगको सन्देश दिने पर्व, देशभर उल्लास


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ३२ २०८२
  • 5.7K
    SHARES

काठमाडौँ । श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ:

“यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत ।
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ।।“

अर्थात्, “जब-जब पृथ्वीमा धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तब-तब धर्मको रक्षाका लागि म स्वयं अवतार लिएर धर्तीमा आउनेछु ।”

भगवान् श्रीकृष्णको यही दिव्य उद्घोषलाई सार्थक बनाउने दिन, भाद्रकृष्ण अष्टमी, आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । द्वापर युगको अन्त्यतिर, विष्णु भगवानको आठौँ अवतारका रूपमा मथुराको कारागारमा माता देवकी र पिता वसुदेवको पुत्रका रूपमा मध्यरातमा श्रीकृष्णको जन्म भएको थियो । उहाँको जन्म अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट मानवतालाई मुक्त गराउने उद्देश्यले भएको धार्मिक विश्वास छ ।

धार्मिक ग्रन्थहरूका अनुसार, देवकीका दाइ कंसले आफ्नी बहिनीको आठौँ गर्भबाट जन्मने सन्तानले आफ्नो अन्त्य गर्ने आकाशवाणी सुनेपछि देवकी र वसुदेवलाई कारागारमा बन्दी बनाएका थिए । कंसले देवकीका सात सन्तानको हत्या गरेपछि आठौँ सन्तानका रूपमा श्रीकृष्णको जन्म भयो । भगवानको अलौकिक शक्तिले त्यस रात कारागारका द्वारहरू आफैँ खुले, पहरेदारहरू गहिरो निद्रामा परे र वसुदेवले श्रीकृष्णलाई बोकेर यमुना नदी पार गरी गोकुलमा नन्द-यशोदाको घरमा सुरक्षित पुर्‍याएका थिए । पछि उनै कृष्णले मामा कंसको बध गरी धर्मको पुनःस्थापना गर्नुभयो ।

जन्माष्टमीलाई ज्ञान, भक्ति, कर्म र प्रेमको पर्वका रूपमा धूमधामले मनाइन्छ । आजको दिनलाई चार प्रमुख रात्रिमध्येको ‘मोहरात्रि’ पनि भनिन्छ, जसले अज्ञान, अहंकार र लोभलाई हटाएर ज्ञान र प्रेमको स्थापना भएको रातको प्रतीकका रूपमा लिइन्छ ।

आज देशभरका कृष्ण मन्दिरहरू, विशेषगरी पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, काठमाडौँको बूढानीलकण्ठ, गोठाटारको नवतनधाम लगायतका स्थानमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । महिलाहरू दिनभर व्रत बसी मध्यरातमा श्रीकृष्णको पूजा-आराधना गरी रातभर भजन-कीर्तन र जाग्राम बसेर यो पर्व मनाउँछन् । यसो गर्दा मनोकामना पूरा हुने जनविश्वास छ ।

श्रीकृष्ण जन्माष्टमी केवल पूजा र उत्सवमा मात्र सीमित छैन, यो उहाँले दिनुभएको गहन ज्ञानको स्मरण गर्ने दिन पनि हो । महाभारतको युद्धमा अर्जुनलाई दिएको उपदेश ‘श्रीमद्भागवत गीता’ आज पनि मानव जीवनका लागि उत्तिकै सान्दर्भिक छ । गीतामा प्रतिपादित ज्ञान, कर्म, ध्यान र भक्ति योगले मानिसलाई जीवन जिउने कला सिकाउँछ ।

कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन… अर्थात् ‘कर्ममा तिम्रो अधिकार छ, फलमा छैन’ भन्ने गीताको सन्देशले मानिसलाई निष्काम कर्मयोगतर्फ प्रेरित गर्दछ । स्वार्थरहित भई संसारको कल्याणका लागि कर्म गर्नु, फलको आशा नराख्नु र ईश्वरप्रति समर्पण भाव राख्नु नै कृष्ण नीतिको सार हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४