काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा मुलुकको समग्र आर्थिक अवस्थाको चित्रण प्रस्तुत हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण (आर्थिक वर्ष २०८१/८२ को) पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
बिहान ११ बजे प्रारम्भ हुने बैठकमा यो महत्त्वपूर्ण दस्तावेज प्रस्तुत हुन लागेको हो, जसले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि आधार प्रदान गर्नेछ । सचिवालयका अनुसार, आर्थिक सर्वेक्षण प्रस्तुतिसँगै आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यक्रम पनि रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; ऊर्जा, जलस्रोत तथा सिँचाइ; र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले सदनमा जवाफ दिनेछन् ।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई विचारार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यद्यपि, सदनको आजको कारबाही सहज नहुने सङ्केत देखिएको छ । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई प्रमुख एजेन्डा बनाउँदै सदनमा सशक्त आवाज उठाउने तयारी गरेका छन् ।
उक्त प्रकरणमा अनुसन्धान जारी रहेको अवस्थामा गृहमन्त्री लेखक पदमा रहिरँदा निष्पक्ष छानबिन प्रभावित हुन सक्ने भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै आएका छन् । यसले गर्दा आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच टकरावको स्थिति उत्पन्न हुन सक्ने राजनीतिक वृत्तमा आकलन गरिएको छ ।