काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादी समूहद्वारा भएका हिंसात्मक गतिविधिपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रूपमा प्रस्तुत हुने देखिएको छ । पूर्वराजा शाहकै निर्देशनमा तीनकुने तथा वरपरका क्षेत्रमा तोडफोड, आगजनी, लुटपाटजस्ता अराजक क्रियाकलाप भएको निष्कर्षसहित सरकारले उनीमाथि कठोर कानुनी कदम चाल्ने तयारी गरेको हो ।
सुरक्षा निकायहरूले घटनाबारे सरकारलाई जानकारी दिँदै, हिंसात्मक गतिविधि पूर्वराजाको निर्देशनमै भएको प्रतिवेदन दिएका छन् । घटनापछि सरकारले कठोर नीति अपनाउने निर्णय गर्दै पूर्वराजा शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारी अधिकारीहरूले शाहलाई घटनाको मुख्य योजनाकारका रूपमा पहिचान गरिसकेको बताइरहेका छन् । एक उच्च सरकारी अधिकारीका अनुसार, शुक्रबारको हिंसात्मक घटनाका मुख्य योजनाकार शाह नै रहेको निष्कर्ष निकालिएको हो ।
घटनाको योजनाबद्ध ढंगले सञ्चालन गरिएको पुष्टि भएसँगै, शाहलाई कानुनी प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको जनाइएको छ । सरकारले पूर्वराजासँग सम्बन्धित सबै गतिविधिलाई निगरानी गर्दै आवश्यक कदम चाल्ने निर्णय गरेको छ । प्रमुख दलहरूले पनि तीनकुने ताण्डवमा राजनीतिक र कानुनी रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहराउँदै उनको सुविधा कटौटीसहित थप कारबाही र प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् । राजवादीहरूले ज्ञानेन्द्रकै परामर्श र समर्थनमा आन्दोलन परिचालन समिति बनाएकाले पनि घटनाको जिम्मेवारी उनकै हुने दलहरूको तर्क छ ।
यसबाहेक नागरिकस्तरबाट ज्ञानेन्द्रलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ । समर्थक दलहरू भने ज्ञानेन्द्रको प्रतिरक्षामा उत्रँदै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । यता पूर्वराजा शाहका समर्थकहरूले भने यो कदमलाई राजनीतिक प्रतिशोधको रूपमा लिएका छन् । उनीहरूको भनाइमा– सरकार स्वेच्छाचारी ढंगले निर्णय गर्दैछ र पूर्वराजाको प्रतिष्ठा धूमिल गर्ने प्रयास भइरहेको छ ।
यस घटनापछि, सञ्चारमाध्यम, नागरिक समाज तथा विपक्षी दलहरूले पूर्वराजाका गतिविधिहरू निगरानी गर्न र नियन्त्रणमा लिन सरकारमाथि दबाब बढाएका छन् ।