Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस संस्थापनभित्र पूर्वपदाधिकारी समेटेर समीकरण बनाउन कसरत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ७ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको एउटा तप्का महाधिवेशन केन्द्रित भएर जुर्मुराएको छ । १५औं महाधिवेशनका लागि समीकरण बनाउने ध्येयले संस्थापन पक्षका पूर्व पदाधिकारीहरूलाई एकीकृत राख्ने कसरत सुरु भएको छ ।

नेपाली कांग्रेस विभाजित हुँदा सभापति शेरबहादुर देउवालाई साथ दिएकादेखि अघिल्लो महाधिवेशनमा पनि उनैलाई समर्थन गरेका नेताहरूले नयाँ समीकरण बनाउन पहल गरेका छन् ।

नेपाली कांग्रेसका तीन नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले अन्य पूर्वपदाधिकारीहरू समेत समटेर महाधिवेशन केन्द्रित गठजोडको पहल गरेका छन् ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्रत्रयले महाधिवेशन केन्द्रित छलफल अघि बढाएका हुन् । उनीहरू तीनै जना पूर्वपदाधिकारी हुन् ।

निधि र सिंहले उपसभापतिको भूमिका समेत निर्वाह गरिसकेका छन् भने कोइराला पूर्वमहामन्त्री हुन् । निधि र सिंह विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएकाले संगठनको बलसँगै पारिवारिक बिरासतसमेत छ । कोइरालाको हकमा भने पारिवारिक बिरासत छ । चिकित्सक पेशामा रहेका कोइरालालाई पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिमा ल्याएका थिए ।

तीन नेताहरू आगामी महाधिवेशनमा मिलेर जाने विषयमा छलफल गर्नुको अतिरिक्त थप नेताहरूलाई जोड्ने प्रयासमा छन् । एकीकृत शक्ति बनाउनका लागि तीन जनाको शक्तिमा अन्य नेताहरू पनि थपिने पूर्वउपसभापति विमलेन्द्र निधिले बताए । उनका अनुसार नेताहरू जोडिँदै गएपछि आगामी महाधिवेशनका लागि सभापतिको प्रत्यासी छनोट हुनेछ ।

पूर्व उपसभापतिद्वय विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेतासँग छलफल गरिने निधिले जानकारी गराए । ‘चारमध्ये एक जनालाई सभापतिको उम्मेदवार स्वीकार्ने गरी छलफल अघि बढेको छ,’ निधिले भने, ‘म, प्रकाशमान, शशांक र कृष्ण सिटौलाजीमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने गरी सहमति जुट्छ ।

सिटौला पूर्वसभापतिद्वय गिरिजाप्रसाद र सुशील कोइरालाको विश्वासपात्र नेता हुन् भने श्रेष्ठ कार्यवाहक सभापति बनिसकेका नेता हुन् । संस्थापनमा देउवापछिको सिनियर व्यक्ति आफू रहेको श्रेष्ठले दाबी गर्दै आएका छन् ।

गत महाधिवेशनमा निधि, कोइराला र सिंहका बीचमा एक जना सभापतिको उम्मेदवार हुनेगरी निरन्तर छलफल भएको थियो । तीन नेताहरूको निवासमा त्यही विषयलाई लिएर पटकपटक संवाद भएको थियो । तर नेताहरूबीच सहमति जुट्न सकेन । त्यसबेला संस्थापन पक्षबाट ‘विद्रोह’ गरेर उपसभापति रहेका निधिले सभापतिमा उम्मेदवारी दिए ।

संस्थापन इतरले पनि एकल उम्मेदवार खडा गर्न सकेन । पूर्व उपसभापति एवं महामन्त्री सिंहले सभापतिमा उम्मेदवारी दिए । पूर्व महामन्त्री कोइराला तठस्थ बसे । राज्यका अंगका प्रमुख पदमा तीन नेता व्यवस्थापन हुने गरी तीन नेताबीच संवाद समेत भएको थियो ।

महाधिवेशन अघि सिंहले ‘तीन पुत्र’ बीच सभापति, प्रधानमन्त्री र राष्ट्रपतिमा भागबण्डा गरेर सहमति जुटाउन आफूले प्रस्ताव गरेको सुनाएका थिए । ‘मैले को सभापति, को प्रधानमन्त्री, को राष्ट्रपति मिलाऔं भनेको छु,’ महाधिवेशनअघि पत्रकारसँग सिंहले प्रतिक्रिया दिएका थिए । सभापतिको उम्मेदवारमा एकले अर्कोलाई स्वीकार्न तयार नभएपछि आआफ्नो तरिकाले अघि बढेका थिए ।

पूर्व उपसभापतिद्वय विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेतासँग छलफल गरिने निधिले जानकारी गराए ।
सभापति पदमा सिंहले ३७१ र निधिले २५० मत प्राप्त गरे । दोस्रो चरणमा भएको मतदानमा दुवैले सभापतिमा देउवालाई सघाए । सभापतिमा सघाएका सिंह, निधि र सिटौलालाई देउवाले मनोनित केन्द्रीय सदस्य बनाए । खुलातर्फ केन्द्रीय सदस्यमा कोइराला निर्वाचित भएका थिए । तीन नेताको संवाद पुनः सुरु भएको छ । कोइराला र सिंह निवासमा दुई चरण तीन नेताले छलफल गरिसकेका छन् ।

एकीकृत बल नहुँदा महाधिवेन प्रतिनिधिले न्यून मत प्राप्त गरको ‘आत्मबोध’ सहित समकालीन नेताहरूले गठजोड बनाउन तदारुकता देखाएका छन् । गत निर्वाचनमा कुनै पनि पनि पदमा उम्मेदवार नदिएका र संस्थापनसँग संयुक्त प्यानल बनाएका सिटौला सहितको समीकरण बनाउन तीन नेताहरू लागेका छन् ।

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाको आजपर्यन्त पार्टीभित्र समूह छ । पार्टीभित्र प्रमुख दुई समूह देखिए पनि सिटौला पक्षधरको समेत अस्तित्व कायमै छ ।

तीन जनाको छलफल निरन्तर रहेको र अबका संवादमा सिटौलालाई समेत आमन्त्रण गरिने निधिले जानकारी गराए । निधि, सिंह र कोइरालाले गत असोजदेखि छलफल सुरु गरेका छन् । प्रारम्भिक छलफलकै क्रममा रहेको र थप व्यक्तिहरू जोड्ने पहल भइरहेकाले भविष्यमा कसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा संवाद नभएको नेताहरू बताउँछन् ।

नयाँ बन्ने समीकरणमा पूर्व उपसभापति विजय गच्छदारलाई समेत समेट्ने प्रयास नेताहरूको छ । सभापतिमा दौडमा नदेखिएका गच्छदार पक्षको मत समेत तान्न सकिने अभिप्रायले उनलाई पनि जोड्न कसरत भइरहेको नेताहरू बताउँछन् ।

तत्कालीन लोकतान्त्रिक फोरमलाई गच्छदारले कांग्रेसमा विलय गराएका थिए । १४औं महाधिवेशनमा गच्छदार पक्षले करिब १८ हजार क्रियाशील सदस्यको दाबी गरेको थियो । गत महाधिवेशनमा २५० देखि २६० जनासम्म महाधिवेशन प्रतिनिधि ल्याएको गच्छदार पक्षको दाबी थियो । फोरम पृष्ठभूमिका नेता/कार्यकर्ता तान्नका लागि सभापतिका प्रत्यासीले स्वभाविक रूपमा गच्छदारको साथ खोज्नुपर्ने हुन्छ ।

सभापति देउवा विधानतः अर्कोपटक सभापति पदमा रहन पाउँदैनन् । कांग्रेस नेताहरूका अनुसार ‘आउट गोइङ’ सभापति भएका कारणले देउवाले संस्थापन पक्षको बैठक समेत आह्वान गर्न छोडेका छन् । सभापति देउवाले समूहको बैठक आह्वान नगर्दा संस्थापन पक्षका नेताहरू तितरवितर भएको उक्त समूहमा आशंका छ ।

सहमहामन्त्रीद्वय भीष्म आङदेम्बे र डीना उपाध्याय, नेताहरू एनपी साउद, डिला संग्रौला मोहन बस्नेत लगायतले संस्थापन पक्षमा नरहेको चर्चाका बीचमा ११ जनाको टोली २ फागुनमा देउवा निवास पुगेको थियो । उपसभापति खड्का, नेताहरू सिटौला, निधि, शशांक, प्रकाशमान, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजय गच्छदार, बालकृष्ण खाँड, एनपी साउद, उमाकान्त चौधरी बुढानीलकण्ठ पुगेका थिए ।

सभापति देउवालाई साथ दिँदै आएकाहरूको छलफलका लागि बुढानीलकण्ठ पुगेको नेता श्रेष्ठ बताउँछन् । जुन व्यक्ति उठ्दा सबै अटाउन सक्छन्, त्यही व्यक्तिको नेतृत्वमा महाधिवेशनमा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । उनले भने, ‘जो व्यक्ति सिनियर होस् । उसको नेतृत्वमा उपसभापति र महामन्त्रीहरू अट्न सकोस् । त्यसैलाई उठाउँछौं ।

बैठकमा सहभागी नेताहरूका अनुसार संस्थापन पक्षबाट १५औं महाधिवशनको सभापतिको उम्मेदवारबारे देउवाले केही बोलेनन् । बैठकमा सहभागी एक नेताले देउवा तत्काल बोल्ने पक्षमा नदेखिएको सुनाए । देउवाले महाधिवेशन नजिक देखाउन सक्ने दुई वटा भूमिकाको विश्लेषण सहित उनले सुनाए । पहिलो, देउवाले महाधिवेशन प्रतिनिधिको मुड हेरेर कुनै व्यक्तिलाई साथ दिन सक्छन् । दोस्रो, कुनै एउटा व्यक्तिको पक्षमा बोल्दा सर्वमान्य नेता हुन नसक्ने हुँदा कसैको पक्षमा पनि खुल्दैनन् ।

‘उहाँ अहिले कसैको पक्षमा पनि बोल्ने देखिन्न । प्रधानमन्त्री हुनुअघि झनै कसैको पक्ष लिएर समर्थन गर्ने सम्भावना छैन,’ ती नेताको विश्लेषण छ, ‘कुनै व्यक्तिको समर्थन गर्दा अर्को पक्ष चिढिने हुँदा तटस्थ बस्न पनि सक्छन् ।

देउवा सभापतिको प्रत्यासी नहुने तर त्यही समूहमा एकले अर्कालाई स्वीकार गर्ने अवस्था नहुँदा नेताहरू एकसाथ बुढानीलकण्ठ पुगेका थिए । सभापतिको उम्मेदवार डा. शेखर कोइराला र गगन थापा मात्रै हुन् कि जस्तो गरी भएको प्रचारले समेत संस्थापन पक्षका नेतामा चिन्ता थपेको छ ।

सभापतिका लागि फेरि प्रतिस्पर्धा गर्ने घोषणा सहित संस्थापन इतरका नेता कोइराला अघि बढिसकेका छन् । महामन्त्री थापाले सभापतिको उम्मेदवार हुने गरी तयारी गरिरहेको कांग्रेस नेताहरू बताउँछन् ।

सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति बनेका पूर्णबहादुर खड्का समेत सभापतिका आकांक्षी हुन् । यद्यपि, त्यही समूहबाट सभापतिका आकांक्षी अन्य नेताहरू समेत रहेकाले सर्वस्वीकार्य व्यक्ति चयन हुन कठिन हुने नेताहरू बताउँछन् । कांग्रेसका एक नेताका अनुसार तीन पुत्रले खड्कासँग सभापतिको उम्मेदवारका विषयमा छलफल गरेका छैनन् । उनी भन्छन्, ‘उहाँहरू तीन पुत्र र अरु अरु पूर्व पदाधिकारीलाई मिलाउन खोज्नुभएको छ । भावी महाधिवेशनलाई लिएर पूर्णबहादुरसँग छलफल भएजस्तो लाग्दैन ।

पार्टी सभापति हुने अवस्था नभए पनि देउवाको शक्ति रहिराख्ने आकलनसहित नेताहरू उनको सहयोग खोज्न लागिरहेको विश्लेषण कांग्रेसमा हुँदै आएको छ । उनी पदीय भूमिकामा नरहे पनि आफू अनुकूलको व्यक्तिलाई सभापतिमा ल्याउन खोज्ने हुँदा उनले इच्छ्याउने व्यक्तिहरूका बारेमा चर्चा हुँदै आएको छ ।

अघिल्लो महाधिवेशनमा तटस्थ बसेर अप्रत्यक्ष रुपमा सभापतिमा देउवालाई सघाएकोले उनका लागि शशांकलाई उपयुक्त पात्रका रुपमा चित्रण समेत कांग्रेसमा गरिन्छ । शशांक निकटका एक नेता सबै नेताहरूलाई समदुरीमा राखेको बताउँछन् ।

‘देउवा नजिक भएको भन्छन् । होइन भनेर हामीले किन भन्दै हिँड्नु पर्‍यो र? सम्बन्ध बिग्रेको भन्दा नजिक भयो भनेकै राम्रो हो नि,’ शशांक निकट नेता भन्छन्, ‘कुनै नेताको पनि सम्बन्ध नबिग्रियोस् भन्नेमा छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४