Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुनर्जागृत हुँदै कांग्रेसको नर्सरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ५ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा सधैं अग्रस्थानमा उभियो । दलहरु प्रतिबन्धित रहेकै अवस्थामा बहुदलीय व्यवस्थाका पक्षमा आवाज बुलन्द गर्ने उद्देश्यले २०२७ वैशाख ६ मा स्थापित नेविसंघ गणतन्त्रपछि भने ओइलाउँदै गयो ।

पाउ पार्टीको सिधा हस्तक्षेप र गुटगत समस्याका कारण नेविसंघ गतिशील हुन नसकेको टिप्पणी हुने गरेको छ । तदर्थ समितिको भरमा सञ्चालित संस्थाको पटक-पटक म्याद थपिएको छ । संघले १२औं महाधिवेशन गर्न सकेको छैन । पार्टीले यसै वर्षको अन्तिमसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ । चैतभित्र महाधिवेशन गर्नुपर्ने संस्था यतिबेला स्ववियु निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्थामा छ ।

कांग्रेस राजनीतिको नर्सरीका रुपमा परिचित नेविसंघमा २०७८ चैतदेखि तदर्थ समिति क्रियाशील छ । २०७३ सालमा अध्यक्षमा निर्वाचित भएका नैनसिंह महरले २०७५ माघमा राजीनामा दिएका थिए । २०७८ चैतमा आएर सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरे । संघमा पार्टीभित्र समूह र नेताहरुको भाग पुर्‍याउन तदर्थ समितिको संख्या ७५२ जनाको बनाइएको छ ।

केन्द्रीय समिति जम्बो बनेको संघमा आवद्धताको यकिन तथ्यांक भने छैन । सदस्यता वितरणको कार्य १५ फागुनसम्म रहेकाले त्यसपछि मात्रै यकिन संख्या उपलब्ध हुने संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

विद्यार्थीका मुद्दाबाट विचलित भएको आरोप खेपिरहेको नेविसंघले यतिबेला भने क्रियाशिलतामा धेरथोर सुधार गरेको छ । शेर्पा नेतृत्वको कार्यसमितिले पछिल्लो समय गरेका केही कामबाट नेविसंघ पुनर्जागृत हुने हो कि छनक देखिएको छ । यो कार्यसमितिले गरेको महत्वपूर्ण काममध्ये एक हो, ‘जय नेपाल कप’ क्रिकेट

प्रतियोगिता ।

नेविसंघले तीन देशका ८ वटा विश्वविद्यालयको टिमलाई आमन्त्रण गरेर क्रिकेट प्रतियोगिताको आयोजना गर्‍यो । ७ माघदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका चार, भारतका तीन  र बंगलादेशको एउटा विश्वविद्यालयले भाग लिएका थिए ।

‘विश्वव्यापी उत्षणता र जलवायु परिवर्तन न्यूनीकरण गर्न साझा संकल्प’ को नारा बोकेर प्रतियोगिता आयोजना गरिएको थियो । विजेतालाई १५ लाख, उपविजेतालाई १० लाख, खेलाडीसहित अरु पुरस्कार ५ लाख रुपैयाँ राशिको थियो ।

१५ माघमा सकिएको प्रतियोगिताको फाइनल हेर्न र पुरस्कार वितरण गर्न सभापति शेरबहादुर देउवा त्रिवि मैदान पुगेका थिए । भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले हराउँदै मध्यपश्चिमले उपाधि जितेको थियो ।

खेललाई जलवायु परिवर्तनसँग पनि जोडिएको हुँदा हिमाली क्षेत्रमै संगोष्ठी समेत राखिएको थियो । २४ माघमा सोलुखुम्बुस्थित स्याङ्बोचेमा खेलाडीसहित पुगेर संगोष्ठी आयोजना गरिएको थियो । संगोष्ठीको मुख्य सन्देश ‘वान अर्थ, वान भोइस, एक्ट अन क्लाइमेट चेञ्ज’ बनाइएको थियो । अघिल्लो वर्ष ‘विश्वकर्मा व्याटल अफ टाइटन्स’ नाममा संघले

रोबोटिक प्रतियोगिता पनि आयोजना गर्‍यो ।

पार्टी भित्रको गुटको छाया विद्यार्थी संगठनमा समेत रहेकाले संस्थापन पक्षले गरेका कार्यहरुमा अर्को पक्षले आपत्ति जनाउँदै आएको छ ।

नेविसंघ सामाजिक सञ्जाल विधेयकमा राखिएका प्रावधान विरुद्ध पनि सडकमा देखिएको छ । अभिव्यक्ति स्वतन्त्रता विरुद्ध हुने व्यवस्था विधेयकमा समावेश गरिएको भन्दै ३० माघमा माइतीघरमा संघका नेता/कार्यकर्ता सडकमा उत्रिए । सामाजिक सञ्जाल नियमन विधेयकमा विवादास्पद विषयहरु रहेकाले सडकबाट विरोध गरिएको संघका केन्द्रीय सदस्य पवन आचार्यले बताए ।

सोसल मिडिया प्रयोगकर्तालाई आफ्नो वास्तविक पहिचान दर्ता गर्न बाध्य बनाउने र ‘अश्लिल’ र घृणा शब्दहरुको परिभाषा अस्पष्ट रहेको आचार्यले बताए । सरकारलाई इन्टरनेट प्रयोगकर्ताको गतिविधि निगरानी गर्ने, विधेयकमा राखिएको दण्डको व्यवस्था लगायतमा आपत्ति रहेको उनले सुनाए ।

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको छ । यसैले, यस विधेयक संसद्बाट पारित हुनुअघि नै यसका विवादास्पद प्रावधानमाथि खुला छलफल गरी संशोधन गर्नुपर्छ,’ आचार्यले भने ।

सोही दिन नेविसंघले सामाजिक सञ्जाल नियमन गर्ने विधेयकको सन्दर्भमा रहेर बहस कार्यक्रम समेत राखेएको थियो । संघले महामन्त्री विश्वप्रकाश शर्मालाई निम्त्याएर सरोकारपक्षसँग बहस राखेको थियो ।

नेविसंघले ‘मेरो शिक्षा मेरो प्रश्न अभियान’ मार्फत निजी विद्यालयले मापदण्ड विपरीत उठाएको शुल्क फिर्ता गर्ने कार्य समेत गरेको थियो । ‘अधिकांश विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएको पाइयो । रुपन्देहीमा मात्रै ७१ लाख रुपैयाँ स्कुल र कलेज प्रशासनले फिर्ता गरे,’ सेजुवालले भने, ‘प्रतिशतका आधारमा दिनुपर्ने छात्रवृत्ति संख्यामा दिएर मिलाउने काम भएको पायौं ।’

नेविसंघले गत वर्षदेखि ‘पेड इन्टर्नसिप अभियान’ सुरु समेत सुरु गरेको थियो । पारिश्रमिक सहितको इन्टर्नसिप अभियानबाट ३०० सय बढी विद्यार्थी लाभान्वित भएको संघको दाबी छ । नेविसंघ माध्यम बनेर विद्यार्थी अध्ययन गर्ने कलेज र काम उपलब्ध गराउने कम्पनीबीच पेड इन्टर्नसिपका लागि एमओयू गरिएको संघले जनाएको छ ।

‘हामीले अघिल्लो वर्ष सुरु गरेको अभियानलाई सरकारले कानुन बनाएर लागू गर्ने तयारी गरेको छ,’ सेजुवाल भन्छन् । नव प्रवर्द्धन र साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेविसंघको पहलमा ५१ वटा स्टार्ट अप व्यवसाय निःशुल्क दर्ता भएका छन् ।

गत वैशाखमा प्रारम्भिक बाल विकास र विद्यालय शिक्षा सुधारका लागि ७५३ पालिकामा ज्ञापनपत्र संघले बुझायो । साथै, विद्यालय शिक्षा विधेयकमा छिटो अघि बढाउन माग गर्दै शिक्षा मन्त्रालय र संसदीय समिति ध्यानाकर्षण समेत गराइएको थियो ।

नेविसंघमा रहेका विकृति हटाउँदै अघि बढेको प्रवक्ता सेजुवाल दाबी गर्छन् । ‘नेविसंघ सडकमा पनि छ । बन्द कोठामा बहस पैरबीमा पनि छ,’ उनी भन्छन्, ‘केही व्यक्तिले संगठनमा रहेर गलत काम गरेका थिए । त्यसको सजाय संगठनले समेत भोग्नु पर्‍यो । जसले गल्ती गर्छ, त्यसको जवाफदेही स्वयं व्यक्ति हुनुपर्छ । संगठनले त्यो व्यक्ति गलत कामको भारी बोक्न सक्दैन ।’

पार्टी भित्रको गुटको छाया विद्यार्थी संगठनमा समेत रहेकाले संस्थापन पक्षले गरेका कार्यहरुमा अर्को पक्षले आपत्ति जनाउँदै आएको छ । सदस्यता प्रदानका लागि जिल्ला र क्याम्पसमा प्रतिनिधि खटाउँदा बढेको विवाद जय नेपाल कपसम्म आइपुग्दा झनै माथि पुग्यो ।

नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी नेताहरुले संस्थागत निर्णयमा आपत्ति जनाउँदै आएका छन् । प्रतिनिधि खटाउँदा र जय नेपाल कप गर्दा अध्यक्ष शेर्पाले आर्थिक अनियमितता गरेको उक्त पक्षको आरोप छ । कार्यक्रम गर्ने नाममा शेर्पाले पैसा उठाएर अनियमितता गरेको शेखरपक्षका विद्यार्थी नेता धर्मराज शाहीले आरोप लगाए । ‘महाविधेशन गर्नतिर लाग्नुपर्न व्यक्ति प्रतियोगिता नाममा पैसा उठाउनतिर लाग्नु भएको छ,’ शाहीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४