काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाकी सांसद तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलक्षित गरेको टिप्पणी भाइरल भएको छ ।
झापामा आफू निकट केही प्रतिनिधिसँगको कुराकानीमा अध्यक्ष ओलीले शिक्षामन्त्री सुमनाविरुद्ध छुद्र टिप्पणी गरेका थिए ।
उनले भनेका थिए– ‘नेपाल घुम्न आएकी, विदेशको केटासँग बिहे गरिन् उतैतिर कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन !
ओलीले टिप्पणी गरेको भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । प्रचार गर्नेहरूले ओलीको यो टिप्पणी सुमनालक्षित नै भएको दाबी गरिरहेका छन् ।
त्यसको पुष्टि हुने गरि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पनि एक्समा उक्त भिडिओ शेयर गर्दै कमेन्ट गरेका छन् ।
उनले ओलीलाई ‘लिंगद्वेषी’को आरोप लगाउँदै उनैसँग मिलेर “प्रचण्ड”सरकारमा सहभागी भएको आफ्नो पार्टीको समेत आलोचना गरेका छन् ।
‘यिनै लिंगद्वेषी ओलीसँग हल लागेर ‘प्रचण्ड’ बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यङ्ग्य पचाउन बानी पार्नुपर्ने हो सायद’, कार्कीले लेखेका छन्, ‘तर यिनीहरूलाई भन्नचैँ पर्छ– देश पुरुषको मात्र हैन । देश पुरुषको घर र महिलाको माइत हुन्न । विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ ।