पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी एक महिला काठमाडौंको गौशालामा मृत अवस्थामा फेला परेकी छन् । मृत अवस्थामा फेला पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर–५ की २८ वर्षीया प्रमिला दमाई रहेकी छन् ।
दोलखाको बैत्यश्वर गाउँपालिका–७ का ३८ वर्षीय कुमार श्रेष्ठ र प्रमिला दमाईबीच दोलखाको रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत चिनजान भएको थियोे । उनीहरुले रेडियो कार्यक्रम मार्फत नै फोन नम्बर पनि आदान प्रदान गर्छन् ।
रेडियो कार्यक्रम मार्फत नम्बर साटासाट गरी साथि बनेका उनीहरु विस्तारै प्रेम सम्बन्धमा अघि बढ्छन् । प्रमिला र कुमार दुवै विवाहित हुन् । विवाह बन्धनमा रहेका उनीहरुको दुवैतिर बालबच्चा भएपनि सम्बन्ध साथिबाट विस्तारै प्रेममा परिणत हुन्छ । उनीहरु दुवै जना काठमाडौं बस्थे ।
उनीहरु घरबाहिरै भेट्ने र कहिलेकाँही होटलमा गएर सँगै बस्ने गर्थे । यही माघ २६ गते शुक्रबारको कुरा हो उनीहरु दुवै जना गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा बस्न पुग्छन् । त्यतिबेला बैतेश्वरका कुमारले अर्कै नाममा होटल बुक गरे । उनले कोठा बुक गर्दा सन्दिप लामाको नाममा बुक गरेको भेटिएको छ ।
कुमार र प्रमिला दुवै जना शुक्रबार राती होटलमा सँगै बसे । कुमार माघ २४ मा पनि होटलमा गएर बसेका थिए । त्यसदिन साँझ ६ बजेर १८ मिनेटमा उनीहरु लजमा गएको देखिएको छ ।
तर, भोलिपल्ट दिउँसो एकाएक प्रमिला होटलको कोठामै मृत फेला परिन् । ढोकामा चाबी लगाइरहेको देखेपछि होटलका कर्मचारीले चाबी फुटाएका थिए । कोठाको खाटमा रहेको महिलाको शव घाँटीमा नाइलनको डोरीले कसिएको र अनुहार रगताम्मे थियो । त्यसपछि कोठाभित्र महिला मृत देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
पछिल्लो १ वर्षदेखि प्रमिला र कुमार ‘लिभिङ रिलेसन’ मा थिए । माघ २४ र २६ गते पनि कुमारले प्रमिलालाई सो होटलमा बोलाएको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ । प्रमिलाले कुमारलाई विवाह गर्नुपर्छ भनेर दवाव दिएपछि प्रेम सम्बन्ध हत्यामा परिणत भएको देखिएको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताउनु भयो ।
विवाहको दवाव दिएपछि प्रमिलालाई झापड हानेर कुमारले घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । घटनापछि दोलखामा उनको घरदेखि काठमाडौँको डेरासम्म प्रहरी पुग्यो। तर कुमारलाई फेला पार्न सकेन। प्रहरीले खोजीकार्य जारी राख्दा कुमार आइतबार बुद्धनगरको लक्ष्मीचोकबाट पक्राउ परे । प्रहरीका अनुसार कुमारले आफूले महिलाको हत्या गरेको स्वीकार गरेका छन् भने उनीहरुबीचको चिनजानको माध्यम र प्रेम सम्बन्धबारे यी सबै कुरा कुमारले प्रहरी समक्ष खुलाएका छन् ।
प्रमिला र कुमारको सम्बन्धबारे शंका लागेपछि यसअघि नै पनि प्रमिलाका श्रीमान नशे दमाईले प्रहरीकोमा उजुरी गरेका थिए । रामेछापको ईलाका प्रहरी कार्यालय धोबीमा दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल गराएको थियो । प्रहरीले छलफल गराएपछि पनि उनीहरु छुट्न सकेनन् । अहिले लुकेर भेटघाट र लिभिङ टुगेदरमा बस्दा प्रेम सम्बन्धले हत्या सम्मको दर्दनाक अवस्था सिर्जना गरेको प्रहरीले जनाएको छ।