काठमाडौं । सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी भएको छ।
सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले पुस ५ गते नै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले नेपाल शाखाको अनुरोध अनुसार डिफ्यूजन नोटिस जारी भएको बताए।
प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेको छ।
उनीहरुविरुद्ध भने नोटिस जारी भइसकेको छैन ।
सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाएको छ। उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पुर्पक्षका लागि थुनामा छन्।
जीबीसहित १५ जना फरार छन् ।