काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि बस बुधवार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।
धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतक दुईमध्ये साँघुरी गढीका ४५ वर्षीय हस्त राईको पहिचान भएको र अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेहरुको दमौलीस्थित रत्न हरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये रञ्जित परियारको थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
प्रहरीका अनुसार बाँकी घाइते ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकाहरूको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा घाइतेमध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ ।