Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुला ठाउँमा चटपटे, पानीपुरी बेच्न नदिनु कति व्यावहारिक ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३० २०८०
  • 4.4K
    SHARES

काठमाडौं । खुला रुपमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरामाथि काठमाडौं महानगरपालिकाले प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी हैजा फैलिन सक्ने भएकाले वर्षायामभर यस्तो खानेकुरा बेच्न नदिनेबारे महानगरपालिकाले गृहकार्य गरिरहेको छ ।

तर, यो कति वैज्ञानिक र व्यावहारिक छ त ?

जनस्वास्थ्यविद् बाबुराम मरासिनी फोहोर पानी, बासी सामग्री मिलाएर बेचिने खानेकुराले नागरिकको स्वास्थ्य हानि गर्छ, तर गुणस्तर हेर्नुको साटो व्यवसायमाथि नै प्रतिबन्ध लगाउन नहुने बताउँछन् । खुला रुपमा बेच्ने गरिएका पानीपुरी, चटपटे तथा साना व्यवसायीलाई रोक लगाउनुभन्दा त्यसलाई सम्बन्धित निकायले समाधान गर्न योजना बनाएर बिस्तारै व्यवस्थित गर्दै व्यवसायीलाई प्रोत्साहन दिनुपर्ने उनी बताउँछन् ।

तत्कालको समाधान मात्रै हेरेर कुनै पनि कुराको निर्णय लिनु मूर्खतापूर्ण हुने मरासिनी बताउँछन् । ‘थोरै लगानीमा सस्तोमा श्रम बेचेर सेवा गर्ने वा घर चलाइरहेका निम्न वर्गीय नागरिकको पेटमा लात मार्नु भनेको घुमाउरो पाराले स्वदेशमा काम छैन, विदेशमा जाऊँ भन्नु हो,’ उनी भन्छन्, ‘यसो भन्दैमा बाहिर खुल्ला ठाउँमा राखिएर खाना बेच्न मिल्छ भनेर तर्क गरेको होइन, तर यसलाई व्यवस्थित गर्न चाहिं सकिन्छ भन्ने हो ।’

नेपालमा खुला ठाउँ वा सडकमा बेचिने खानेकुरा स्वस्थकर नभएको गुनासो धेरै सुनिन्छ । जनस्वास्थ्यविद् मरासिनी पनि यसलाई स्वीकार्छन् । धेरै भीडभाड हुने ठाउँ जस्तै बसपार्क र बस स्टेसन, बजारमा यस्ता खानेकुरा धेरै बेचिन्छ । त्यहाँ धुलोधुवाँ, हिलो, फोहोर र कीटाणु जताततै हुन्छन् । व्यवसायीले आफ्नो सरसफाइमा पनि ध्यान दिएको देखिंदैन । खुला व्यवसायीले खानेकुरा पकाउँदा त्यही हातले शरीरका विभिन्न अंगमा छोएर हात नधोई त्यही हातले पकाउने र सर्भ गर्ने गरिन्छ । जुन खानकुरा खानयोग्य हुँदैन,’ उनी भन्छन् । खुला ठाउँमा राखिएका खानेकुरा खाँदा झाडापखाला, हैजा, आउँ, जन्डिस, टाइफाइड, फुड पोइजनिङ जस्ता समस्या आउन सक्छ । ‘त्यसैले यसको न्यूनीकरणका लागि साना तथा ठूला होटल व्यवसायहरुलाई तालिम दिएर मात्र होटल सञ्चालन गर्न वा ठूला व्यवसाय गर्न लाइसेन्स दिनुपर्छ,’ मरासिनी भन्छन् ।

विकसित मुलुकमा तालिम लिएर निश्चित ठाउँमा खुला रुपमा पनि खानेकुरा बेच्न पाइने नियम छ । यसरी नै नेपालमा पनि यसरी खुला रुपमा खानेकुरा बेच्ने साना व्यापारीहरुका लागि दीर्घकालीन नीति नियम बनाएर व्यवस्थित गर्नुपर्नेमा मरासिनी जोड दिन्छन् । यसका लागि सम्बन्धित निकायले व्यवसायीलाई तालिम दिने, निश्चित ठाउँ तोकिदिएर लाइसेन्स दिएर व्यवसाय गर्न अनुमति दिन सकिने उनी सुझाउँछन् ।यहाँ कतिपय पाँचतारे होटलकै खानेकुरा पनि अस्वस्थर भएको अनुगमनका क्रममा भेटिएको छ । जारकै पानी पनि विषाक्त रहेको देखिएकै छ,’ मरासिनी भन्छन्, ‘त्यसैले खुला ठाउँमा बेच्नेलाई मात्रै रोकटोक गर्नु व्यावहारिक हुँदैन ।’ यसका लागि तालिम र नियमित अनुगमन गर्नु नै उपयुक्त विकल्प रहेको उनी सुझाउँछन् ।

पानीको मूलमा ढल मिसिएर, धुवाँधुलो, फोहोरले खानेकुरा प्रदूषित हुने भएकाले सरसफाइका मापदण्ड पूरा गर्न लगाउने तर व्यवसायकै रोक लगाउन नहुने कान्ति बाल अस्पतालका चिकित्सक रामहरि चापागाईं पनि बताउँछन् । यसको लागि सफा पानीको प्रयाग गर्ने, एकैचोटि धेरै बासी हुने गरी खानेकुरा नबनाउने, सफा ठाउँमा राखेर बेच्ने सकिने नियम बनाउनुपर्छ,’ उनी भन्छन्, ‘खानेकुरालाई धुलोधुवाँ, हिलो फोहोर ठाउँबाट टाढा राख्नेको लागि पहिला एउटा निश्चित ठाउँमा सटर वा कोठा लिएर बेच्न सकिन्छ ।’

उनी उदाहरण दिंदै भन्छन्, ‘पानीपुरी, चटपटे बेच्दा पहिलो त बेच्ने स्थान सफा हुनुपर्छ, त्यसपछि त्यसको लागि चाहिने कच्चा पदार्थ तयार पार्नुअघि पकाउने भाँडो सफा राखुनुपर्छ । त्यहाँ काम गर्ने व्यक्तिले साबुनपानीले हात धोएर मात्र खानेकुरा बनाउने गरेमा खाना स्वच्छ र हाइजेनिक हुन्छ । पानीपुरी बनाउँदा वा सर्भ गर्दा हातमा पन्जा लगाउने, त्यसलाई कागजमा नभई प्लेट वा अन्य कुनै सफा भाँडामा राखेर दिने, पानीपुरीको लागि बनाइने झोलमा शुद्धीकरण गरेको पानीको प्रयोग गरे कीटाणुरहित बनाउन सकिने डा. चापागाईं बताउँछन् । खानेकुरामा फोहोर र कीटाणु पस्न नदिन जालीको प्रयोग गर्न सकिने पनि उनी सुझाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४