काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहावले उच्च जोखिमको तह नाघेपछि ५६ वटै ढोका खोलिएको छ।
यस नदीमा यो वर्षकै उच्च मापन गर्दै ब्यारेजका सबै ढोका खोलिनुका साथै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उच्च तह पार गरेपछि आइतबार राति नै कोशी ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ।
सबै ढोका एकैपटक खोलिएपछि कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ।
महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए ।
उनकाअनुसार एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक लगाइएको थियो ।
राति पानीको सतह बढे पनि सोमबार बिहानदेखि भने घट्दो क्रममा रहेको डीएसपी डाँगीले बताएका छन् ।
