काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की पुल, सडकलगायत संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला प्रहरीले जनाएको छ ।
बाढीले प्रहरी चौकी, विद्यालय, गुम्बा, पाटीलगायत संरचनामा पनि क्षति पुर्याएको पनि बताइएको छ । कागखोलामा मिसिने खहरे खोलाहरु थुनिएका कारण आएको बाढीबाट ठूलो क्षति भएको खबर आएको र सुरक्षाकर्मीहरुसहितको टोली अहिले घटनास्थलतर्फ गईरहेको प्रहरीले जनाएको छ ।
बाढीले केही विद्युतका पोलहरु समेत बगाएको छ । राती अचानक बाढी आएपछि मानिसहरु भागगाग गरेका थिए । बाढीले घरहरु बगाउँदा कालिगण्डकी आंशिक रूपमा थुनिएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
कागबेनीको पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको छ ।
प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् ।
कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले जानकारी दिए ।
काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ । राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ ।
बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ ।
कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए ।
उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।
