Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुनः चक्रव्यूहमै नेपाली कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १२ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकलाई नजिकबाट नियाल्दा दर्जनौं चुनौतीका बाबजुद पार्टी सभापति शेर बहादुर देउवा कार्यकालमै पुन एकपटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच संसदीय दलमा प्रतिस्पर्धा हुने देखियो । पार्टी सुधारसँगै पार्टीलाई ‘लोकप्रिय’ बनाउन भन्दा देउवा समर्थक केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा माथि ‘कटाक्ष’ गरेरै समय व्यतीत गरेका थिए ।

देउवा समूहले जनमत बढाउँदै लगेका ‘नयाँ र स्वतन्त्र शक्ति’लाई भन्दा आफ्नै पार्टीका महामन्त्रीलाई चुनौतीका रूपमा लिंदै बैठकमा अनौठो रूपमा प्रस्तुत भएका थिए ।

उनीहरूका निम्ति गगनकुमार थापा यति गह्रौं भए कि नेपाली कांग्रेसमा गगनकुमार थापा नभएको भए हिजोको वा भोलिको निर्वाचनमा नेपाली कांग्रेसले ‘दुई तिहाइ’ नै ल्याउँथ्यो झैं प्रस्तुत भएका छन्  । बैठकबाट भने देउवा भर्सेस गगन भन्ने नै सन्देश कार्यकर्ताको तहमा पुगेको छ । नेपाली कांग्रेसमा विकसित यो मनोविज्ञानका पछाडि कुन-कुन विषयले काम गरेको छ, खोजी गरिनुपर्छ ।

“गगनकुमार थापाको फरक मत”

महामन्त्री गगनकुमार थापा भित्र कमी-कमजोरी नै छैन भन्ने होइन । तथापि,नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सार्वजनिक हुँदै गर्दा महामन्त्री थापाले भ्रष्टाचारका सन्दर्भमा नेपाली कांग्रेस निर्मम रूपले प्रस्तुत हुनुपर्ने फरक मत सार्वजनिक गरेका छन्  । यसबाट आम नेपाली  कांग्रेसजनमा आशा पलाएको छ । ग्रीक कथामा उल्लिखित विकृतिले भरिपूर्ण ‘पाण्डोरा बक्स’ भित्रको आशाको रूपमा महामन्त्री गगनकुमार थापाको ‘फरक मत’ लाई लिन सकिन्छ । फरक विचारसहित प्रस्तुत भएका महामन्त्री गगनकुमार थापा ऊर्जावान्, तेज, गतिशील र करिश्मायुक्त छवि बनाइरहेका छन् भने वाक्पटुताका धनी त उनी छँदैछन् ।

उनीसँग निर्वाध सम्पर्क नपाउँदा पनि नेता-कार्यकर्ता नथाकी उनकै सम्पर्कमा जान रुचाउँछन् । किनकि उनको लोकप्रियताका सामु कार्यकर्ताले निर्वाध सम्पर्क गर्न नपाएको विषय गौण भइदिन्छ । छैटौं र सातौं पटकको प्रधानमन्त्री पदको दौडमा रहेका नेता देउवा ‘समृद्ध नेपाल निर्माण’को अभियानमा ‘विचार र भौतिक’ दुवै हिसाबले भेटिंदैनन् । उता,महामन्त्री गगनकुमार थापा भने नेपालले अन्य देशसँग विकसित गर्नुपर्ने कूटनीतिक सम्बन्धदेखि पार्टी रूपान्तरण-पुस्तान्तरण हुँदै राजनीतिक स्थिरता, सुशासन र समृद्धिका सन्दर्भमा कार्ययोजना सहित भेटिन्छन् ।

नेपाली कांग्रेसको सम्पन्न केन्द्रीय समिति बैठकमा पनि युवावस्थामै ‘पोजिसन’ प्राप्तिका निम्ति हतारो गरेको भन्दै उनीमाथि ‘निर्मम कटाक्ष’ गरियो । देउवा पुनः छैटौं पटक प्रधानमन्त्री भएर देशलाई पुनः बर्बादीको भड्खालोमा पुर्‍याउनु भन्दा गगनको हतारोले नै देशले समृद्धिको मार्ग पहिल्याउन सम्भव देख्ने ठूलो जमात नेपाली कांग्रेस केन्द्रीय समिति भन्दा बाहिर रहेको छन ।

महामन्त्री गगनकुमार थापाले आफूभित्र सुधार गर्नुपर्ने दर्जनौं विषय छन् । ‘कार्यकर्ताले सहज पहुँच’ नपाउने तथा उनी स्वयं पनि धेरथोर ‘स्टन्ट’मा रमाउन खोज्ने जस्ता विषय उनीमाथि लाग्ने आरोपका उच्च रूप हुन् । यी विषयलाई चिर्न सक्दा मात्र देशमा बढ्दै गएको ‘पपुलिजम्’को घातक दुश्चक्रबाट देशलाई बाहिर निकाल्न उनीसँगै युवापुस्ता सक्षम हुनेछन् । आज उनी लगायत युवा पुस्तामाथि ‘सुनियोजित’ रूपमै प्रहार सुरु गरिएको छ ।

हुन त, राजनीतिमा चर्चा र प्रहार बेगर कोही पनि उठ्न सम्भव छैन । २०१५ सालमा पनि बीपी कोइरालामाथि यसैगरी राजनीतिक रूपमा आफैंभित्रबाट प्रहार नगरिएको होइन । त्यतिबेला डाक्टर के.आई. सिंहको चर्चा कहीं पनि थिएन । तर, आज ‘गतिशील र तेज’ भएकै कारण उनीमाथि प्रहार देखिंदा नेपाली कांग्रेस भित्रको ‘दरबारिया समूह’ उनलाई सकेसम्म नेपाली कांग्रेसबाट बाहिर निकाल्नै उद्यत भएको बुझ्न कठिन छैन ।

 “देउवाले गुमाएको अवसर”

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले सत्ता र शक्ति बारे राम्रोसँग बुझेका छन् । पार्टीभित्रको समूह आफ्नो वा इतरलाई फुटाएर पार्टी भित्र र नेपालका वामपन्थीलाई फुटाएर शासन सत्तामा रहने डिजाइनमा पनि अपवादलाई छाडेर आजका मितिसम्म देउवा सफल भएकै छन् । तर, शासन सत्तामा रहँदा समयको वेगलाई पनि बुझ्नुपर्दछ भन्ने हेक्का चाहिं उनीमा पटक्कै देखिएको छैन ।

जीवनको उत्तराद्र्धमा पुगिसकेका गिरिजाप्रसाद कोइरालासँग लडेर तथा लड्ने क्षमता गुमाउँदा पार्टी नै फुटाएर सत्ता प्राप्ति गर्नु नै देउवा समूहले देउवाको भक्तिगान गाउने विषय बनिदियो ।

हिजो बीपीले सुवर्णशमशेरदेखि किसुनजी हुँदै बाँकी सबै नेतालाई आफ्नै छत्रछायाँमा राखेर भूमिका दिंदै पार्टी र छोटै समय किन नहोस् सरकार चलाएका हुन्  । तर, आज देउवा इतर समूहका नेता डा. शेखर कोइराला र गगनकुमार थापा बीच समेत खेलेर पार्टीभित्र एक्लौटी नेताका रूपमा स्थापित हुने अन्तिम प्रयत्न गर्दैछन् ।

देउवाले अवसर गुमाउँदै लगेकाले अब पुन उनी मुलुकको शासनभार सम्हाल्ने तहमा पुग्ने सम्भावना क्षीण हुँदै गएको छ । हिजो राजा ज्ञानेन्द्रको उक्साहटमा नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी नै सत्ता र शक्तिका लागि तोड्ने देउवालाई स-सम्मानपूर्ण नेपाली कांग्रेसमै भित्र्याउन नेता गिरिजाप्रसाद कोइराला तयार भएका थिए  ।

तर, आज भिजनरी पुस्ताका अब्बल नेताहरू गगनकुमार थापा -विश्वप्रकाश शर्मालाई सम्पन्न केन्द्रीय समिति बैठकमै तेजोबध गर्न देउवा समूह सानेपास्थित एक सुविधासम्पन्न होटलमै रणनीतिक बैठकमा जुट्यो । देउवाको यो बाटो नै गलत थियो । उनले करिश्मायुक्त गगनदेखि परिपक्व नेता शेखरसम्मलाई नफुटाई सँगसँगै यात्रा गराएर समृद्ध नेपालसँगै नेपाली कांग्रेस रूपान्तरणको मार्ग पहिल्याउन सक्नुपर्दथ्यो । यहींनेर देउवाले अवसर गुमाएका हुन्  ।

“नेपाली कांग्रेस र सुशासन”

आफ्नै पार्टीका नेता समेत मुछिएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा थुनामा रहेका आफ्नै पार्टीका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्ने-नगर्ने भन्ने बहस नेपाली कांग्रेस बैठकमा रोचक रूपमा देखियो । बैठकको लाइभ हेरिरहेका तमाम नेपाली कांग्रेसजनमा समेत निराशाको सन्देश प्रवाह हुने गरी पार्टी संस्थापन पक्ष सुशासनका विरुद्धमा सतहमै ओर्लन पुग्यो । सँगै, सुशासनकै पैरवी गर्ने नेता गगन-विश्व विरुद्ध तथा देउवाकै भक्तिगानका विषयमा देउवा समूहले नै खर्चिएको शब्द र समय हेर्दा आफ्नै नेताका नाममा ‘पथ’ नामको भाष्य सिर्जना गरेर नथाक्ने नेपालका वामपन्थी पनि चित् खाए होलान् !

यसरी सुशासन भन्ने विषय नै नेपाली शब्दकोशबाट खारेज गरौंला झैं गरेर केन्द्रीय समितिको लाइभ बैठकमा प्रस्तुत देउवा समूहले भोलि संसदीय दल र पार्टी सभापतिमा युवापुस्ता विजयी भइहाल्दा पनि सहज रूपमा स्वीकार्न नसक्ने ‘चित्र र चरित्र’ देखाउँदैछ । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले नेकपा एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुपूर्व नै आफू विधि र सुशासनका विषयमा एक कदम अगाडि भएको सन्देश दिन सक्नुपर्दथ्यो । हिजो त नेपाली कांग्रेस नेतृत्व चुक्यो-चुक्यो, आज केन्द्रीय समिति बैठकमा समेत कथित बहुमतको आडमा आफूलाई सुशासनका विपक्षमा उभ्याएर पुनः इतिहासमै नराम्रोसँग चुक्न पुगेको छ । उक्त समूह जनताका बीच जानका निम्ति भोलिको मितिमा सहज देखिन्न भने इतिहासले समेत माफ गर्ने छैन ।

सत्तालिप्सा, गुटबन्दी, परिवारवाद र आफन्तको घेराबन्दीमा रहेका तथा जीवनको उत्तराद्र्धमा पुगिसकेका देउवाबाट त धेरै आशा गर्ने ठाउँ नरहला । तर, देउवाकै दरबारको पर्खालभित्र महादेवको घाँटीमा सर्प झैं बेरिएका तथा गुटकै कारण नेता बन्न पुगेकाहरूले बुझ्नै पर्ने कुरा चाहिं के हो भने कांग्रेस जस्तो पार्टी ‘सुशासन तथा विधि’का विषयमा समेत अनुदार बन्दा समयको वेगले कांग्रेसलाई अवश्य प्रजापरिषद् बनाइदिनेछ । त्यतिबेला न रहनेछ बाँस न बज्नेछ बाँसुरी ।

“तीन धार”

कांग्रेस केन्द्रीय समितिमा तीन वटा धार कांग्रेस कार्यकर्ताले प्रष्ट देखे । एउटा अतिवादी धार जो पार्टी संस्थापन पक्ष बनेर यथास्थितिमा रमायो । जुन धारले परिवर्तनकारी धारमाथि सिंगो केन्द्रीय समिति बैठक अवधिभर कटाक्ष गर्दै समय व्यतीत गर्‍यो । जुन धारको प्रस्तुति हेर्दा लाग्छ-भोलि आफू जनता र कार्यकर्ताको तहमा जानै पर्दैन ।

दोस्रो धार देखा पर्‍यो- गगन, विश्व, प्रदीप आदिको। अंकगणितका हिसाबले यो धार सानो देखिए पनि मनोबलका हिसाबले ठूलै ‘भावभंगी’मा प्रस्तुत भयो र पाण्डोरमा बक्सको ‘होप’ अर्थात् आशा झैं कार्यकर्तामा यही पंक्तिसँग ठूलो आशा देखिन्छ ।

अर्को तेस्रो धारको रूपमा केन्द्रीय समितिमा प्रस्तुत भएको डा. शेखर कोइरालाको धारमा भने आफूले प्राप्त गरेको धेरै चिज गुम्ला झैं गरी ‘मलिन अनुहार र मसिनो स्वर’मा प्रस्तुत भयो । सम्भवतः डा. शेखरको आवाज मलिन हुनुका पछाडि देउवाले वरिष्ठ नेतासँगै भावी पार्टी सभापति बनाइदिने प्रलोभन नै हुनुपर्दछ ।

बीपी कोइरालाको विरासत समेतको ‘बेनिफिट’ पाएका शेखरले पार्टीलाई पुस्तान्तरण सहित रूपान्तरणको एजेण्डामा आफूलाई उभ्याएर कांग्रेसलाई ‘बीपी विचार’को राजमार्गमा दौडाउन सक्नुपर्दथ्यो । तर, डा. शेखर समूहको प्रस्तुतिले पनि कार्यकर्ताको उक्त भावनालाई खण्डित तुल्याइदियो ।

तसर्थ, ‘मिसन-८४’ मात्र नभएर आगामी नेपालको राजनीतिलाई नै ‘ट्रयाक’मा लैजानका निम्ति सभापति देउवाले अंकगणितको ‘त्यान्द्रो’ नसमाती, समयको वेग बुझी युवाहरूमध्येबाट प्रतिस्पर्धा गराएर नेतृत्व सुम्पनु नै देउवाको निम्ति समेत श्रेयस्कर देखिन्छ ।

अन्यथा, केन्द्रीय कार्यसमितिको बैठक समेत लाइभ गरेको भनेर देउवा समूहले कथित क्रान्तिकारिता प्रस्तुत गर्ने र दोस्रोपक्ष पार्टीमा रूपान्तरणका लागि पुस्तान्तरण गराइछाड्ने वाणीले मात्र पार्टी र मुलुकमा परिवर्तन सम्भव छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४