Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इमर्जिङ टिम्स कप : एशिया कपको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २५ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । विश्वकप छनोट क्रिकेट खेलेर घर फर्केको चौथो दिन नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा एशियाका टेष्ट मान्यता प्राप्त सहितका ८ राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स एसिया कप हुँदै छ ।

इमर्जिङ कपमा नेपाल बाहेकका देशले आफ्नो ए टिमलाई सहभागी गराउनेछन् । नेपालले जिम्बाव्वेमा भएको विश्वकप छनोट खेलेका ११ जना र ५ जना नयाँ खेलाडी सम्मिलित राष्ट्रिय टिम नै पठाएको छ । प्रतियोगितामा नेपालले भारत ए, पाकिस्तान ए र यूएई एसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले लगत्तै एसिया कप पनि खेल्नुपर्ने भएकाले त्यसको तयारीका लागि नेपालले सिनियर टिम नै पठाएको बताए । ‘ओमान र यूएई एसिया कपमा छैन । हामीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नुछ । त्यसैका लागि खेलाडीहरुलाई एक्सपोजर होस् र अनुभव पनि हासिल होस् भनेर राष्ट्रिय टिम नै पठाएका हौं’, सिंहले भने ।

एशिया कप क्रिकेट प्रतियोगिता हुनुभन्दा दुई महिनाअघि हुन लागेकाले इमर्जिङ कपलाई नेपालले एशिया कपकै तयारीका रुपमा लिएको छ ।

‘इमर्जिङ टिम्स एसिया कपको लागि बिल्डअप हो । यसलाई हामीले अवसरका रुपमा लिनुपर्छ र केही खेल जित्नका लागि प्रयास गर्नुपर्छ’, सोमबार श्रीलंका प्रस्थान गर्नुअघि मुख्य प्रशिक्षक मोन्टी देसाइले भने । दुई महिनापछि हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानको सिनियर टिमसँग खेल्ने छ ।

इमर्जिङ कपमा यूएईले पनि ए टिम नै पठाउने भएकाले यस प्रतियोगिताका कुनै पनि खेलले ओडीआई मान्यता पाउने छैन । त्यसैले टेष्ट मान्यता प्राप्त देशको टिमको ए टिमसँग खेल्दै एसिया कपका लागि तयारी गर्ने नेपालको लक्ष्य छ ।

‘टेष्ट राष्ट्रको ए साइड पनि राम्रो छ । उनीहरु पनि बलियो योजना अनुसार आएका छन् । हामीमा पनि विनिङ मेन्टालिटी हुनुपर्छ’, प्रशिक्षक मोन्टीले भने ।कप्तान रोहितकुमार पौडेलले पनि इमर्जिङ कप एसिया कपको तयारीको राम्रो अवसर भएको बताए ।

नेपालसँग खेल्ने टिममा इण्डियन प्रिमियर लिग आईपीएल र भारत तथा पाकिस्तानका घरेलु प्रतियोगिता खेलेका खेलाडी छन् ।

‘ए टिम भए पनि उनीहरुको राम्रो टिम छ । आईपीएल खेलेका खेलाडी छन् । पाकिस्तानमा पनि सिनियर खेलाडीहरु छन्’, रोहितले थपे, ‘राम्रो खेल हुने अपेक्षा छ र एसिया कपका लागि राम्रो तयारी हुनेछ ।’

नेपालले पछिल्लो पाँच महिना लगातारजसो अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । नेपालले जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा टेष्ट मान्यता प्राप्त टिम वेष्ट इन्डिज र जिम्बाव्वेसँग खेलेको थियो । श्रीलंका भ्रमणमा पनि नेपाली टिमले जित्ने लक्ष्य राखेको छ । कप्तान रोहितले भने, ‘विश्वकप छनोटमा टेष्ट टिमसँग खेलिसकेका छौँ । त्यसैले राम्रो टिमसँग कसरी खेल्ने भन्ने अनुभव छ ।’

प्रशिक्षक देसाईले पनि विश्वकप छनोटको अनुभव इमर्जिङ टिम्स कपमा प्रयोग गर्ने बताउँछन् । ‘विश्वकप छनोटमा केही खेलमा हामी जितसम्म पुगेर पराजित भएका थियौं,’ देसाईले भने, ‘हामीले टेष्ट टिमसँग खेलेर अनुभव लिएका छौं । त्यसैलाई इमर्जिङ कपमा प्रयोग गर्दै हरेक खेलमा प्रतिस्पर्धा गर्न चाहन्छौं ।’

श्रीलंकामा अभ्यस्त हुने

नेपालले श्रीलंकामा धेरै क्रिकेट खेलेको छैन । प्रशिक्षक मोन्टी देशाइ श्रीलंकामा अनुकुल हुने प्रयास गर्ने बताउँछन् । ‘त्यहाँको कन्डिसनमा स्पिनरलाई चुनौती छ र हामीले त्यसलाई अडप्ट गर्नुपर्छ’ उनले भने ।

नेपालले समूह चरणका तीनवटै खेल फरक मैदानमा खेल्ने छ । पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग कोलोम्बो क्रिकेट क्लब मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेल भारत ए सँग १७ जुलाईमा आर प्रेमदासा इन्टरनेशनल स्टेडियममा खेल्नेछ भने अन्तिम खेल युएईसँग पी सारा ओभलमा खेल्नेछ ।

कप्तान रोहितले पनि श्रीलंकाको वातावरणमा चाँडै अभ्यस्त हुनुपर्ने बताए । ‘हामी त्यहाँ गएर ३-४ दिन तयारी गर्नेछौं र त्यहाँको चुनौती कस्तो हुन्छ त्यही अनुसार खेल्नुपर्छ’, रोहितले भने ।

बेञ्च बलियो बनाउने प्रयास

यस पटक नेपाली टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी, लेग स्पिनर सन्दीप लामिछाने र फास्ट बलर करण केसी छैनन् । ज्ञानेन्द्र र दीपेन्द्रलाई क्यानले आराम दिएको जनाएको छ भने दीपेन्द्र र सन्दीप ग्लोबल टी-२० क्यानडा लिग खेल्न जाने भएकाले इमर्जिङ टिम्स खेल्ने टिममा छैनन् ।

आरिफ शेखले पनि पारिवारिक कारण देखाउदै नाम फिर्ता लिएका छन् । जसले गर्दा जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेको टिममा यस पटक ५ खेलाडी परिवर्तन भएका छन् ।

टिममा अनुभवी खेलाडीका रुपमा फास्ट बलर सोमपाल कामी छन् । सन् २०१४ देखि सोमपाल निरन्तर टिममा छन् ।

त्यसपछि कप्तान रोहित र स्पिनर ललित राजवंशी सिनियर खेलाडी हुन् । यस पटक टिममा देव खनाल, सन्दीप जोरा, पवन सर्राफ, सूर्य तामाङ र श्याम ढकालले अवसर पाएका छन् । श्याम र सूर्यले यसअघि लिग टु मा नेपाली टिममा स्थान बनाए पनि डेब्यु गर्न बाँकी छ । मुख्य स्पिनर सन्दीप नभएकोले यी दुईले अवसर पाउने सम्भावना छ ।

मुख्य प्रशिक्षक देसाई नयाँ खेलाडीहरुका लागि यो राम्रो अवसर भएको बताउँछन् । ‘केही खेलाडीहरुलाई अवसर दिउँ भनेर सिनियर खेलाडीहरुसँग छलफल गरेर नै रोहित र मैले यो निर्णय गरेका हौं’, देसाईले भने, ‘दीपेन्द्र र सन्दीप क्यानडामा खेल्न जाँदैछन् र उनीहरुका लागि ठूलो अवसर हो ।’

कप्तान रोहितले नयाँ खेलाडीलाई अवसर दिँदा बेञ्च बलियो हुने बताए । ‘नियमित खेल्ने १४ जनामा अतिरिक्त १० जना खेलाडी पनि भए यसले ‘बेन्च स्ट्रेन्थ’ देखाउँछ । मेरो विचारमा यसले समग्रमा नै टिमलाई फाइदा गर्छ र स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

गत वर्ष केन्या भ्रमणमा टोलीमा रहेका पवन खराब प्रदर्शनपछि टिम बाहिर थिए । पवन सर्राफले ८ ओडीआई र १७ टी-२०, देव खनालले १०, अर्जनु साउदले ९ ओडीआई र ३ टी-२०, सन्दीप जोराले ५ ओडीआई र ६ टी-२०, प्रतिश जिसीले ३ ओडीआई, किशोर महतोले २ ओडीआई खेलेका छन् ।

लिग टु यता ब्याटर भीम सार्की र अलराउण्डर गुल्सन झाले भने लगातार खेल्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४