बेंग्लोर । यस पटक नेपाली टिमले साफ च्याम्पियनसिपमा ठूलो अपेक्षा राखेको थिएन । टिममा नयाँ प्रशिक्षक थिए भिनसेन्जो अल्बर्टो एनेस । अनी खेलाडीहरु भने अधिकांशले नेपालका लागि धेरै खेल खेलेका थिएनन् । नेपालले तयारी पनि लामो समय गर्न पाएन । अझ ए डिभिजन लिग ढिला सकिंदा नेपालले एकजुट भएर त एक हप्ता पनि तयारी गर्न पाएन । अझ साफ च्याम्पियनसिपमा यस पटकबाट आमन्त्रित टिम बोलाउन थालियो । त्यसमा लेबनान र कुवेत थपिएका थिए । साफको ड्र सार्वजनिक हुँदा नै नेपाल ‘ग्रुप अफ डेथ’मा थिए । समूह ए मा नेपाल, ८ पटकको च्याम्पियन कुवेत र पाकिस्तान थियो । विपक्षी निश्चित भएपछि नै नेपालको नतिजा कस्तो होला भन्ने धेरथोर अनुमान गर्न सकिने अवस्था थियो ।
किनभने नेपालले एक दशकयता भारतलाई हराउन सकेको छैन । कुवेतविरुद्धत झन् नेपालले एक खेल पनि जितेको थिएन । यी दुई टिमविरुद्ध १४औं संस्करणको साफमा नेपालले जित निकाल्ने अपेक्षा थोरै मात्र थियो । तर बेंग्लोरमा सुरुवाती दुई खेलमै यही दुई टोलीविरुद्ध खेलेको नेपाल लगातार दुई खेल हार्दै समूहको अन्तिम खेल खेल्नु अघि नै बाहिरियो । पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग २-० ले पराजित भयो । पाकिस्तानसँग मंगलबार हुने खेल नेपालको लागि औपचारिकता मात्रै हुनेछ । पहिलो खेलमा दोस्रो हाफमा राम्रो खेलेर अन्जन विष्टले गोल फर्काउनु नेपालको लागि सकरात्मक थियो । दोस्रो खेलमा नेपालले पहिलो हाफमा राम्रो खेल्यो भारतलाई दबाबमा राख्दै अवसर समेत सिर्जना गरेको थियो । तर फिनसिङ चुस्त हुन नसन्कदा नेपालले गोल गर्न सकेन ।
दोस्रो हाफमा नेपालको खेल ठिक फरक भयो भने भारतले सुधार गर्द दुई गोल गरेर नेपाललाई हरायो । यस खेलमा डिफेण्डर सिमान्ता थापाले नेपालका लागि डेब्यु गर्नु मात्र सम्झनलायक रहनेछ । पहिलो हाफमा नेपालले लगातार दबाब बनाउँदा अन्जन विष्ट अन्तिमतिर घाइते भए । उनको स्थानमा आभाष लामिछाने मैदान प्रवेश गरेका थिए । तर अन्जन नहुँदा नेपालको टिमको सन्तुलन कमजोर बन्यो ।
‘पहिलो हाफमा प्रदर्शन राम्रो थियो । तर अन्जनलाई परिवर्तन गरेपछि नेपालको सन्तुलन बिग्रियो,’ प्रशिक्षक एनेसले खेलपछि भने, ‘दोस्रो हाफमा नयाँ खेलाडीहरु मैदान प्रवेश गरे तर अनुभव कम भयो । दोस्रो हाफमा सिमान्त थापाले मैदान प्रवेश गर्दै डेब्यु गर्दा दिपक राज सिंह ठकुरी, र नवीन लामा मैदान प्रवेश गरेका थिए । तर लामाको प्रदर्शन अपेक्षा अनुसार नभएको उनले बताए । प्रशिक्षक भिनसेन्जोले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउँदै पाकिस्तानविरुद्धको खेल जितेर घर फर्कने बताए । ‘हामीले जस्तो प्रदर्शन गर्यौँ त्यसबाट खुशी छु । पाकिस्तानसँगको खेल जितेर घर फर्कनेछौँ,’ उनले भने ।
प्रशिक्षक एनेसले आफूले साफका लागि जति समय पायो त्यसमा सक्दो प्रदर्शन गरेको र प्रदर्शनको आफूले नै जिम्मेवारी लिने पनि बताए । ‘मसँग ११ जुनदेखि मात्र टिम थियो । त्यसबेला पनि रोहित चन्द थिएन । फिलिपिन्स गयौँ यता आयौँ । मैले टिमसँग पूरा चार दिन मात्र तयारी गर्न पाएँ । हामीसँग पर्याप्त समय भएन । मैले पाएको जति समयमा सक्दो गरेँ,’ उनले थपे,’हामीलाई धेरै समय चाहिन्छ कोचिङका लागि । भारतले लगातार खेलिरहेको छ तर हामीसँग त्यस्तो भएन । मैले पाएको जति समयमा सक्दो कोसिस गरेँ ।
प्रशिक्षक एनेसले नेपाली टिममा भएका खेलाडीहरुको लागि यो साफ अनुभवको अवसर भएको बताए । साथै उनले आयुष घलान र मनिष डाँगी जस्ता खेलाडीको उदाहरण दिँदै केही खेलाडीले आईएललगायत विदेशी लिगमा खेल्ने अवसर पाउनुपर्ने बताए । मुख्य प्रशिक्षक इगोर स्टिमाक पाकिस्तान विरुद्धको खेलमा रातो कार्ड पाएपछि नेपाल विरुद्ध कमान्ड सम्हालेका सहायक प्रशिक्षक महेश गवलीले जितबाट राहत महसुस गरे । ‘पहिलो हाफ ठीकै भयो । नेपालले राम्रो खेल्यो । दोस्रो हाफमा हामीले राम्रो खेल्यौं,’ उनले भने ।
यस्तै उनले लगातार ८ खेलमा गोल नखानु महत्वपूर्ण रहेको बताए । २०२२ नोभेम्बरमा भियतनामसँग हारेपछि भारत लगातार ८ खेलमा अपराजित छ । जसमा भारतले ७ खेल जित्दा एक खेल बराबरी गरेको छ । भारतले पाकिस्तानविरुद्धको खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । उनले भने, ‘लगातार खेलेकोले फ्रेस लेगलाई चान्स दिएको हो । केही खेलाडीले लगातार ४-५ खेल खेलेका थिए । त्यसैले अरुलाई अवसर दिएको हो ।
भारतसँग ११ खेलमा जितविहीन
भारतसँग नेपालले पछिल्लो ११ खेलमा जित निकाल्न सकेको छैन । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको थियो । एक दशकयता नेपाले भारतलाई हराउन सकेको छैन । यसमा नेपालले भारतलाई तीन खेलमा बराबरीमा रोक्नु नै राम्रो नतिजा हो । बाँकी ८ खेलमा नेपाल पराजित भएको छ । यस्तै साफ च्याम्पियनसिपमा नेपालले भारतसँग ९ खेल खेल्दा आठौं खेलमा पराजित भएको छ । २०१३ पछि नेपालले भारतलाई साफ च्याम्पियनसिपमा पनि हराउन सकेको छैन ।
२०१५ को साफमा नेपाल भारतसँग समूह चरणमा ४-१ ले पराजित भएको थियो । २०२१ मा लिग चरणमा भारतसँग १-० ले पराजित भएको नेपाल फाइनलमा ३-० ले पराजित हुँदै उपविजेता बनेको थियो । नेपालले भारतलाई अहिलेसम्म उसैको मैदानमा हराउन सकेन । भारतमै आएर भारतलाई हराउने अवसर रहेपनि नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।