Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाविरुद्ध प्रतिरोध गर्ने निष्कर्षमा दुई महामन्त्रीद्वय थापा र शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २६ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीभित्रको विवाद वा असन्तुष्टिलाई पोख्ने माध्यम सामाजिक सञ्जाललाई प्राय बनाउँदैनन् । पार्टीभित्र उकुसमुकुस अवस्थामा रहेको उल्लेख गर्दै उनले आइतबार भने सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका निकटका नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उनी प्रतिरोध गर्ने अवस्थामा पुगेका छन् । देउवाबाट निरन्तरको वेवास्ता, अवमूल्यन, निर्णय प्रक्रियामा एकलौटीलगायतका कारणले दुई महामन्त्रीले सभापति विरुद्ध प्रतिरोध गर्न लागेका हुन् ।

गत बुधबार भएको शीर्ष नेताको बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले आफु पदबाट राजीनामा दिने चेतावनीसमेत दिएका थिए । बैठकमा सहभागी एक नेता भन्छन्,’रुपान्तरण वा राजीनामाको कुरा महामन्त्री शर्माले उठाउनुभएको हो, शर्माको बोली उद्धृत गर्दै ती नेता भन्छन्, ‘यस्तै तरिकाले पार्टी चल्न सक्दैन । मसँग दुई विकल्प छन् । या त् पार्टीमा सुधार या त् महामन्त्रीबाट राजीनामा दिनुको विकल्प छैन ।

महाधिवेशन सकिएको डेढ वर्षमा सभापति देउवाबाट उनी सधैं प्रताडित हुन पुगेको नेताहरुको बुझाइ रहेको छ । पार्टी सभापति एकलौटी तरिकाले चलेको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने निचोडमा महामन्त्री गगनकुमार थापा पुगेका छन् । तेस्रो उमेर समूहबाट महामन्त्रीमा निर्वाचित थापा र शर्माको विचार, क्षमता तथा ऊर्जालाई सभापति देउवाले पहिचान गर्न नसकेको थापा निकटका नेताहरुको बुझाइ छ । ‘महामन्त्री दुईलाई नेविसंघको महामन्त्री जस्तो व्यवहार सभापतिले गरेको देखिन्छ,केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘पार्टीको महामन्त्रीको व्यवहार सभापतिबाट देखिएन ।

पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना प्रतिस्पर्धी नरहरि आचार्यप्रति लिएको नीति स्मरण गर्छन् । त्यो क्रम अहिले पूर्णरुपमा टुटेको भन्दै देउवाप्रति नेताहरुको रोष छ । ‘नरहरि आचार्य दाइ संगठनमा कमजोर हुनुहन्थ्यो । तर, गिरिजाबाबुले उहाँको विचार सुन्नुहुन्थ्यो,नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘संविधान सभा र संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा जानुपर्ने नरहरि दाइको नीतिलाई पार्टीको नीति बनाउनुभयो ।

विगत डेढ वर्षमा देउवाले आफूखुसी निर्णय गर्ने र त्यसको अपजसको भागिदार महामन्त्रीलाई बनाउने रणनीति अंगिकार गरेको नेपाली कांग्रेसका नेताहरु टिप्पणी गर्छन् । २०६२ भदौमा भएको ११औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग आचार्य सभापतिमा पराजित भएका थिए । कोइरालाले १२१५ मत पाउँदा आचार्यले १६५ मत मात्रै पाएका थिए ।

सभापतिमा न्युन मत पाएका आचार्यको नीतिलाई महत्व दिने तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको विशेषतालाई समेत देउवाले स्मरण गर्न नसकेको नेताहरुको बुझाइ रहेको छ । महामन्त्रीको विचार सुन्दै नसुनेको उनी निकट नेताहरुको गुनासो छ । ‘प्राविधिक रुपमा मात्रै यी महामन्त्री हुन् । राजनीतिक रुपमा महामन्त्री होइनन् भन्ने खालको व्यवहार सभापतिबाट भयो,’ थापा निकट गण्डकीका प्रदेश सांसद डिल्लीराम सुवेदी भन्छन्, ‘महामन्त्रीलाई दिनुपर्ने भूमिका र राजनीतिक महत्व दिन मूल नेतृत्वले स्वीकार नगरेको देखिन्छ ।

विगत डेढ वर्षमा देउवाले आफूखुसी निर्णय गर्ने र त्यसको अपजसको भागिदार महामन्त्रीलाई बनाउने रणनीति अंगिकार गरेको नेपाली कांग्रेसका नेताहरु टिप्पणी गर्छन् । पार्टी हितका लागि दलले लिनुपर्ने नीति पटकपटक प्रस्तुत गरेपनि त्यसलाई पार्टी सभापति शेर बहादुर देउवाले लत्याएको बुझाइ थापा निकट नेताहरुमा छ । महामन्त्री सभापतिको शैलीले दिक्क भएका थापाले लेखे”कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ।”

अब पनि देउवा शैलीको प्रतिवाद नगर्ने हो भने पार्टीको क्षय रोक्न नसकिने अवस्थामा थापा पुगेका छन् । महाधिवेशन सकिएपछिको यो अवधिमा आफ्नो सुझावलाई सभापतिले मनन नगर्दा दल दिशाविहीन हुने भय थापामा छ । सभापतिको निर्णय प्रक्रियालाई अब पनि स्वीकार गरेर जाँदा नयाँ पुस्ताको राजनीतिक जीवन सकिने निष्कर्षसहित थापाले आक्रोश पोखेको उनी निकट नेताहरु बताउँछन् ।

नेपाली कांग्रेसभित्र र बाहिरको जनमानसले अपेक्षा गरेका नेताका रुपमा थापाले पहिचान बनाएका छन् । संस्थापन पक्षले पार्टीभित्र र बाहिर आफ्नो छवि बिगार्ने प्रयत्न गरेको बुझेर नै थापाले नयाँ कदम लिन लागेको उनी निकट नेता दाबी गर्छन् । नेपाली कांग्रेसका कार्यकर्ताका लागि भरोसा र आड पनि हो । अन्य दलसँग प्रतिवाद गर्ने क्षमता राख्ने नेता हो नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,’देउवाले आफूखुसी निर्णय गर्छन् । गलत निर्णयको दुई महामन्त्रीले विरोध किन नगरेको भनेर आवाज उठ्छ । जस आफूले लिएर अपजस जति महामन्त्रीमा देउवाले थोपरिदिन्छन् ।

उप निर्वाचनमा नेपाली कांग्रेस दुवै स्थानमा पराजित भयो । त्यसको विषयमा हालसम्म समीक्षा पनि हुन सकेको छैन । कतिपयको नेताको बुझाइमा मूल नेतृत्वका कारणले नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका हुन् ।

संस्थापनइतरका नेता भन्छन्, ‘तनहुँ चितवनमा कार्यकर्ताले नेपाली कांग्रेस हुँ तर मत फेर्छु भने । मूल नेतृत्वसँग कार्यकर्ता रिसाएका छन् । पार्टी  सभापति देउवा र पत्नि आरजु राणासँग जोडेर महामन्त्रीद्वयको मूल्यांकन गर्ने प्रवृत्ति समेत मौलाएको छ । संस्थापन पक्षले महामन्त्रीलाई कमजोर बनाउन उनीहरुले पनि के गरेर ? भन्ने भाष्य जबरजस्त निर्माण गर्न लागेको थापा निकट नेताहरुको बुझाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्नका लागि मूल मुद्दा नै सु-शासनको बनायो । तर पुराना दल सु-शासन र डेलिभर गर्न नसकेको चुनावी प्रचार सामग्री बनाएर चुनाव जित्यो । सु-शासनको मुद्दा पेचिलो बनेको बेलामा त्यसमा आत्मसमीक्षा नेपाली कांग्रेसमा हुनै सकेन । “केन्द्रमा नेपाली कांग्रेस सहभागी सरकार छ । ३२९ गाउँपालिकामा नेपाली कांग्रेसको सरकार बनेको छ । प्रदेशमा मुख्यमन्त्री र मन्त्री बनेका छन्, ‘संस्थापनइतरका नेता भन्छन्, ‘एकपटक पनि सु-शासन र डेलिभरीको छलफल नै हुँदैन । सु-शासनको कुरा उठाउनेलाई सभापतिले पेलेको पेल्यै गर्छन् ।

गत बुधबार र शुक्रबार बसेको शीर्ष नेताको बैठकमा परम्परागत तरिकाले पार्टी सञ्चालन गर्न नहुने भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माले सभापतिलाई चेतावनी पनि दिएका थिए । तर पनि उनीहरुको कुरामा सुनुवाइ गर्ने गुञ्जायस कतै भेटेनन् । सभापतिले आफूलाई मन लागेको बेला जुनसुकै निर्णय लिनसक्ने तर जायज निर्णय समयमा नभएको गुनासो पार्टीमा छ । महामन्त्रीद्वय केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल र चन्द्र भण्डारीलाई मनोनित गर्न बेला बेलामा सभापतिलाई सुझाव दिँदै आएका थिए ।

थापा निकट केन्द्रीय सदस्य भन्छन्- देउवाको कार्यशैलीको अब प्रतिरोध हुन्छ । देउवा प्रवृत्तिका विरुद्धमा अब लडाइँ हुन्छ ।
उनीहरुको बोलीलाई देउवाले वेवास्ता गर्दै आएका थिए । अस्ति अकस्मात् रिजाललाई देउवाले केन्द्रीय सदस्य बनाएका छन् । ‘मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य बनाउन मन लाग्यो, बनाइदिए,’ संस्थापनइतरका नेता भन्छन्, ‘पहिले महामन्त्रीले बनाउन सुझाव दिँदा किन बनाएनन् ? उनलाई मन लागेको बेला त जे पनि हुने रहेछ, भ्रातृ संस्थालाई किन पूर्णता दिएनन् ?”

पछिल्लो समय पार्टीभित्र कस्तो सम्म रह्यो भने गठबन्धनको बैठक बस्दा देउवाले अन्य/अन्य नेतालाई साथमा लिएर बालुवाटार छिर्ने गरेका छन् । महामन्त्रीलाई खबरसमेत गरेनन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन लागि महामन्त्रीद्वयलाई कुनै भूमिका दिइएन । ‘उहाँहरुलाई देउवाले केही होइनन् जस्तो गर्छन् । देउवाले गरेको निर्णय अनलाइन हेरेर थाहा पाउनुपर्दछ,महामन्त्री गगनकुमार थापा निकट विद्यार्थी नेता भन्छन्,’मन्त्री बनेको अनलाइन पढेर महामन्त्रीले थाहा पाउने अवस्था छ ।

आफूलाई अप्ठ्यारो परेको बेला भने महामन्त्रीद्वयको देउवाले साथ लिने गरेका छन् । एमसीसीको चर्को विरोध हुँदा त्यसको प्रतिवाद गर्न तथा नेताहरुसँग संवादमा देउवाले महामन्त्रीलाई भूमिका दिएका थिए । ‘महामन्त्रीहरुको प्रयास विना एमसीसी पारित गर्ने कल्पना सभापतिले गर्नुभएको थियो?’ थापा निकट प्रदेश सांसद सुवेदी भन्छन् ।

नेपाली कांग्रेसको विधानमा पदाधिकारीको व्यवस्था छैन । कार्यसम्पादन र केन्द्रीय समितिको बैठक भने विधानमा भएको व्यवस्था अनुसार देउवाले बोलाउँदैनन् । विधानले नचिनेको पदाधिकारी बैठक डाकेर कतिपय विषयमा सहमति खोज्ने प्रयास गर्छन् । निर्णय आफूखुसी गर्ने तर विधानले नचिनेको पदाधिकारी बैठक डाक्नुको अर्थ नभएको नेताहरु बताउँछन् । ‘पदाधिकारी बैठक बोलाएर आफुखुसी निर्णय गर्ने अब सहने अवस्थामा महामन्त्रीद्वय हुनुहुन्न, थापा निकट केन्द्रीय सदस्य भन्छन्, ‘देउवाको कार्यशैलीको अब प्रतिरोध हुन्छ । देउवा प्रवृत्तिका विरुद्धमा अब लडाइँ हुन्छ ।

आइतबार अपराह्न महामन्त्रीको थापाले आक्रोशित रुपमा सामाजिक सञ्जालमा लेखेपछि शंका उपशंका पार्टीभित्र र बाहिर उठेका थिए । थापा निकटका व्यक्तिहरुलाई कार्यकर्ताले निरन्तर फोन गरेका छन् । थापाको अभिव्यक्तिलाई लिएर २/३ कोणबाट व्यक्तिहरुले विश्लेषण गरेका छन् । पार्टी विभाजन गर्न लागेका हुन् ? भन्दै कार्यकर्ताको फोन आएको थापा निकट एक नेताले सुनाएका छन् । पार्टीभित्र रहेर देउवा प्रवृत्तिविरुद्ध संघर्ष गर्ने उद्घोषका रुपमा बुझ्न कार्यकर्तालाई उनीहरुले बुझाएका छन् ।

नेताहरुका अनुसार कुन रुपमा अघि बढ्ने बारे थापाले केन्द्रीय सदस्य,कार्यकर्ता लगायतमा छलफललाई व्यापकता दिने तयारी गरेका छन् । उनीहरुको राय अनुसार कठोर कदम चाल्न समेत तयार रहेर महामन्त्री अघि बढेको उनी पक्षीय नेताहरुको दाबी छ । ‘केन्द्रीय सदस्य, सांसद, भ्रातृ संस्थाका नेताहरु, कार्यकर्ताहरुसँग छलफल गर्नुहुन्छ,थापा निकट केन्द्रीय सदस्य भन्छन्,’जुन हदसम्म जाने गरी निर्णय लिन सकिन्छ । पार्टी जोगाउन लागि कठोर निर्णय लिन पनि महामन्त्री तयार हुनुहुन्छ ।

देउवाको शैलीलाई आजित महामन्त्रीद्वयले केन्द्रीय समिति बहिष्कारसम्मको रणनीति बनाउन सक्ने उनीहरु निकट नेताहरु बताउँछन् । ‘एकलौटी निर्णय गर्दै प्रवृत्ति कायमै रहेको अवस्थामा केन्द्रीय समितिको बैठक बहिष्कार गर्नुहुन्छ । पदीय भूमिका अनुसार काम गर्न नपाए पदबाट राजनीमा दिएर विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनमा लाग्नुहुन्छ,’ महामन्त्री निकट एक नेता भन्छन् । महामन्त्रीको सामाजिक सञ्जालमा व्यक्त विचार सभापति देउवाप्रतिको असन्तुष्टि थियो नै । संस्थापनइतरका नेता डा. शेखर कोइरालासँगको कार्यशैलीलाई लिएर थापा आक्रोशित बनेको उनी निकट नेताहरु बताउँछन् ।

समूहलाई नेतृत्व गर्न नसकेको र शक्तिको अभ्यास गर्न शेखर चुकेको संस्थापनइतरका नेताहरु नै उनलाई आरोप लगाउँछन् । ‘शेरबहादुरसँग विचारको लडाई पनि शेखर दाइ गर्नुहुन्न् । आफ्नो समूहको एकीकृत विचारका लागि लड्ने हिम्मत पनि उहाँमा देखिन्न्,’ एक केन्द्रीय सदस्य भन्छन् । संस्थापनइतरबाट मन्त्री बनाउनेको नाम शेखरले गगनसँग छलफल नै नगरी देउवालाई बुझाइदिएका थिए ।

नेपाली कांग्रेस स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्काले शेखरले नाम दिइसकेको जानकारी थापालाई गराएका थिए । वैशाख १९ साँझ देउवालाई भेटेर शेखरले आफ्नो तर्फबाट मन्त्री हुनेको सूची दिएका थिए । वैशाख २० मा शेखर पक्षबाट उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले मन्त्रीको शपथ लिएका थिए ।

‘आपसी समूहमा छलफल त गर्नुपर्ने हो । मन्त्री हुनेको नाम दिएर आँखाको उपचार गर्न विदेशतिर लाग्नुभयो,’ गगन निकट नेता भन्छन् । गगन-शेखर सम्बन्धमा चिसोपना आएको छ । दुई नेताबीच पछिल्लो समय संवादले निरन्तरता पाएको छैन । संस्थापनइतरका एक नेताका अनुसार राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले समन्वय गरेर मिलाउन सके मात्रै एउटा विकल्प रहेको उनले सुनाएका थिए ।

शेखर-गगनलाई विगतमा संवादमा ल्याउन समन्वय गरेका आचार्य भन्छन्, ‘दुवै जना जाने / बुझेका व्यक्ति हुन् । नेपाली कांग्रेस र देशको हित बुझेकै होलान् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४