Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तकको ५० प्रतिशत ढुवानी सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 2K
    SHARES

काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । वैशाख १ गतेदेखि सुरु हुन लागेको २०८० को शैक्षिक सत्रका लागि जिल्ला सदरमुकाममा पाठ्यपुस्तकको ढुवानी भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन्  ।

यो पटक ऐतिहासिक काम भएको छ । कक्षा ६ देखि १० सम्मका लागि १ करोड ५० लाख थान पाठ्यपुस्तक छापि सकिएको छ । ५० प्रतिशत किताबको ढुवानी समेत सकिएको छ,’ झाले बताएका छन्  । केन्द्रले गत शुक्रबारदेखि नै पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको थियो । पाठ्यपुस्तक बिक्री वितरणका लागि केन्द्रका ९ वटा बिक्री केन्द्रबाट काम गर्दै आएको छ । त्यस्तै १ हजार २६७ बिक्रेतामार्फत केन्द्रले पाठ्यपुस्तक विक्री वितरणको कार्य गर्दै आएको झाको भनाइ छ ।

हिमाली र पहाडी क्षेत्रका ४९ जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुगिसकेका छन् । त्यस्तै अन्य जिल्लामा समेत पाठ्यपुस्तक ढुवानी गर्ने काम भइरहेको उनको भनाइ छ । केन्द्रले सबै प्रादेशिक कार्यालय मार्फत पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।

अबको एक हप्ताभित्रमा सबै जिल्ला र सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने जनक शिक्षाले दाबी गरेको छ । वैशाखको पहिलो साताभित्रमा सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने गरी काम अघि बढिरहेको झाको भनाइ छ । केन्द्रले यो वर्ष समयमै पाठ्यपुस्तक छाप्नु र समयमा नै ढुवानी गर्नुलाई ऐतिहासिक भनेको छ । ‘विगतमा हुने कागजको अभाव यो वर्ष भएन । पुँजीगत खर्चको समस्या हुने गरेको थियो । यो वर्ष त्यो पनि भएन । जसले गर्दा हामीले सहजै काम गर्न पायौँ,’ झाले भने ।

विगतमा कोरोना महामारी, कागजको अभाव लगायतका कारणले समयमा नै पाठ्यपुस्तक छाप्न नसकेको केन्द्रले जनाएको छ । जसले गर्दा केन्द्रको चर्को आलोचना हुँदै आएको थियो । यो वर्षदेखि केन्द्रले ५ वटा पुस्तक छपाइ मेसिनबाट काम गर्दै आएको थियो । विगतमा २ वटाले मात्र काम गर्दै आएकोमा यो वर्षदेखि थप ३ वटा मेसिनसहित काम थालेको थियो ।

मेसिन थप भए पनि केही समय कागजको अभाव देखिएको थियो । तर, ठेकेदारले समयमा नै कागज आपूर्ति गरेपछि छपाइको काम पनि समयमा नै सकिएको झाले बताए । हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या दोहोरिन नदिन यो वर्ष कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकको छपाइ निजी प्रकाशनलाई दिएको थियो । निजी प्रकाशनहरूले १ करोड २० लाख थान पाठ्यपुस्तकको छपाइको जिम्मा पाएका थिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निजी प्रकाशनबाट छपाई भएका पाठ्यपुस्तकहरू उनीहरूकै च्यानलमार्फत बजारमा गइसकेको बताए । पाठ्यपुस्तकको अभाव अन्त्य गर्नको लागि शिक्षा सचिवको संयोजकत्वमा एक समिति नै बनेको छ । उक्त समितिले हरेक दिनको रिपोर्ट माग्दै आएको थियो । दैनिक कति पाठ्यपुस्तक छापिए, कति पाठ्यपुस्तक विक्री वितरण भयो भन्ने जानकारी शिक्षा सचिवसमक्ष पुग्ने खालको च्यानल बनाइएको छ ।

त्यस क्रममा कुनै समस्या आएमा शिक्षा सचिवले आवश्यक समन्वय तथा निर्देशन गर्दै आएका छन् । शिक्षा सचिवको सक्रियतामा नै यो वर्ष केन्द्रले समयमै पाठ्यपुस्तक छाप्न सकेको मन्त्रालयका अधिकारीहरूको बुझाइ छ । प्रवक्ता शर्माले जनकलाई बारम्बार ताकेता गर्दै आएको र कुनै समस्या देखिएको खण्डमा तत्काल समाधान गर्ने गरी अघि बढिरहेको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि नै सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी सङ्ख्याको आधारमा रकम निकासा गरिसकेको थियो । शैक्षिक सत्र २०८० मा पाठ्यपुस्तकका लागि केन्द्रले ३ अर्ब ४० करोड रुपैयाँ बजेट स्थानीय तहमार्फत विद्यालयलाई निकास गरेको थियो । पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन गर्नको लागि स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । देशभरका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई पाठ्यपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४