काठमाडौं । तनहुँ क्षेत्र नम्बर –१ मा आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहोल तातिएको छ ।
गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी बन्नु भएको थियो भने पौडलको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकबहादुर रानामगरको १९ हजार ९ सय ८१ मत आएको थियो ।
नेपाली कांग्रेसका बागी उम्मेदवार गोबिन्दराज जोशीको ६ हजार ८८६ मत आएको थियो त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का विकास सिग्देललाई ६ हजार ४४ मत प्राप्त भएको थियो । गत फागुन २५ मा पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ –१ खाली भएको हो र त्यहाँ बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।
सो निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई,नेकपा एमालेका तर्फबाट पुर्ब आइजीपी सर्वेन्द्र खनाल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट अर्थविद डा. स्वर्णिम वाग्ले लगायत र अन्य साना दलहरुसहित गरेर ९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले स्थानीयसँग मत माग्न थालिसकेका छन् ।
तीन जनाबीच प्रतिस्पर्धा
तनहुँ १ को उपनिर्वाचनमा अरु दलहरुले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेसका गोबिन्द भट्टराई,नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अर्थविद डा. स्वर्णिम वाग्लेबीच नै हुने विश्लेषण गरिएको छ । नेपाली कांग्रेसका भट्टराई लामो समयदे खि राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनको प्रतिनिधि सभामा उम्मेदवारी पहिलोपटक हो । त्यस्तै नेकपा एमालेका खनाल नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक आइजीपी हुन् ।
खनाल गत मंसिर ४ मा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका उम्मेदवार बनेका थिए । तर उनी पराजित भएका थिए । त्यस्तै वाग्ले २०७४ मा नेपाली कांग्रेसको सरकारको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए । उनी अहिले नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा लागेर उम्मेदवार बनेका हुन् । गोरखा घर भएका वाग्ले तनहुँ झरेर उम्मेदवार भएका हुन् । नेपाली कांग्रेसका भट्टराई तनहुँ कै स्थानीय वासिन्दा हुन भने नेकपा एमालेका खनाल पनि तनहुँ मै जन्मिएका हुन् ।
कसले मार्ला बाजी ?
गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँ १ मा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल विजयी हुँदा नेकपा एमालेका उम्मेदवार दोस्रोमा थिए भने रास्वपा चौथो थियो । नेपाली कांग्रेसका बागी गोबिन्दराज जोशी तेस्रो स्थानमा थिए । तर यसपटक जोशी समर्थकको मत कसलाई जान्छ भन्ने टुंगो लागेको छैन जोशी पनि खुलेका छैनन् । मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तीनै जना उम्मेदवार नयाँ अनुहार हुन् ।
तनहुँमा राम्रो पकड रहेको नेपाली कांग्रेसका उम्मेदवार भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समर्थन रहेको छ । उनी गठबन्धनका साझा उम्मेदवार हुन् । उता सांगठनिक रुपमा नेकपा एमाले पनि बलियो पार्टी हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने भर्खर उदाएको नयाँ पार्टी हो तर रास्वपाका उम्मेदवार वाग्लेलाई भने बलिया उम्मेदवारको रुपमा हेरिएको छ ।
वाग्ले विगतमा नेपाली कांग्रेसमा रहेका कारण नेपाली कांग्रेसका केही भोट काट्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको भोट वाग्लेले काट्दा नेकपा एमालेले आफ्ना उम्मेदवार खनालले जित्न सक्ने आकलन गरेको छ भने सत्ता गठबन्धनको भर भएकाले नेपाली कांग्रेसका उम्मेदवार भट्टराइलाई चुनाव जित्न कुनै डर नभएको नेपाली कांग्रेसका नेताहरु दाबी गर्छन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वाग्लेलाई युवा मतदाता र नेपाली कांग्रेस नेकपा एमालेका भोट काट्न सके जित निकाल्न सकिन्छ भन्ने विश्वास रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका स्थानीय नेताहरु बताउँछन् । निर्वाचन आयोगका अनुसार तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् । तीनै जना नयाँ अनुहार भएकाले कसले निर्वाचन जित्ला भन्ने कुरा त्यति सहज भने देखिएको छैन ।