काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
गण्डकीमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनमा केन्द्रमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र सहितका दलको गठबन्धन बनेपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । शुक्रबार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएको पाण्डेले बताएका छन् ।
अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ’, पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्रि सरुवा बढुवा लगायतको काम गर्नु न्यायसंगत मानिदैन ।
यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले बताएका छन् । उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस–नेकपा माओवादी क्रन्द्र सहितका दलको गठबन्धनमा सरकार निर्माण हुँदा नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्रीको प्रबल दाबेदार हुन् । उनले अब प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने पनि बताउँदै आएका छन् ।