हामीसँग समय थिएन र धेरै नयाँ खेलाडी टिममा छन् । पोजिसनका हिसावले हामी उनीहरुभन्दा धेरै कमजोर थियौं । टिमको अवस्थाअनुसार हामी रक्षात्मक खेलेका थियौं । पोजिसनमा कमजोर रहेपनि नतिजा हाम्रो हातमा आयो, प्लेयर अफ द म्याच बनेका गोलकर्ता अनन्त तामाङले जितको खुसी साटे ।
नेपाल टिमले तीन दिनको तयारीमा यो प्रतियोगिता खेलेको हो । भुटान र लाओस टिम आइसक्दा पनि नेपाल टिम घोषणा भएको थिएन । नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्वटोए एनेसले शहीद स्मारक ए डिभिजन लिगमा पछिल्लो १५ दिनको खेल हेरेर टिम छानेका थिए । जहाँ ६ जना पहिलोपल्ट राष्ट्रिय टिममा अटाए । तीमध्ये चारजनाले लाओसविरुद्ध डेब्यू गरे ।
टिमका प्रमुख डिफेण्डर अनन्तले खेलाडी पलायनको असर राष्ट्रिय टिमको प्रदर्शनमा देखिएको स्वीकार गरे । टिममा प्रतिभाको समस्या भन्दा पनि सन्तुलन र समन्वयको अभावले यो खेलमा अपेक्षाअनुसारको प्रदर्शन नभएको उनको भनाइ छ । ‘आजको खेल हेर्दा पूर्ण रुपमा हाम्रो सन्तुलन नै मिलेको थिएन । हामीसँग नियमित खेलिरहने खेलाडी नहुँदा त्यसो भएको हो,’ पत्रकार सम्मेलनमा अनन्तले भने, ‘भुटानसँगको खेलका लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ । भुटानमा पनि क्षमतावान खेलाडी छन् । हामीले टिमको सन्तुलन मिलाउनु पर्नेछ ।’
नवनियुक्त इटालियन प्रशिक्षक भिन्सेन्ट अल्वर्टो एनेसका लागि यो खेल पहिलो परीक्षा थियो । उनले नेपालमा आफ्नो कार्यकालको पहिलो जितमा खुसी मनाउन पाउँछन् तर, पक्कै पनि टिमको सुधारका लागि आफ्ना चुनौतिहरु भने थपिएको महशुस गरेका छन् ।
प्रशिक्षक एनेसले नयाँ खेलाडीको बाहुल्य रहेको टिममा छोटो तयारीका बाबजुद मिलेको यो सफलता नेपाल टिम र आफ्ना लागि सकारात्मक रहेको बताए । आफूहरु रणनीतिक रुपमा अनुशासित खेलेको उनको दाबी थियो ।
उनले लाओससँगको प्रदर्शन हेरेर नेपाल टिमको भविष्य आंकलन गर्न नसकिने बताए । ‘मैले मेरो टिमका खेलाडीलाई बुझ्न बाँकी छ र विपक्षी टिमलाई पनि चिन्न बाँकी छ । त्यसपछि चरणवद्ध रुपमा हामी अगाडि बढ्दै जाने छौं,’ उनले थपे, ‘हामी एकपछि अर्को खेलमा रणनीति बनाउँदै जानेछौं र त्यसरी नै उच्चस्तरको फुटबल खेल्नेछौं ।’
लाओसका प्रशिक्षक माइकल वाइसले आफ्नो युवा टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । उनले पहिलो खेलको नतिजाबाट निराश नभई भुटानसँगको खेल जितेर फाइनल खेल्नेमा आशावादी रहेको बताए । ‘म मेरा खेलाडीको प्रदर्शनबाट पूर्ण सन्तुष्ट छु । मेरा खेलाडीहरु युवा छन् । उनीहरु सिक्दैछन् । हामी निराश हुँदैनौं र भुटानसँग खेल्नेछौं,’ नेपालको प्रदर्शनबारे उनी भन्छन्, ‘घरेलु टिमको रुपमा उनीहरु अझै राम्रो हुनसक्थे । म उनीहरुको आजको खेल उत्कृष्ट थियो भन्न सक्दिन । आशा गर्छु कि हामी फाइनलमा पुनः भेट्नेछौं र त्यतिबेला अझै राम्रो खेल हुनेछ ।’
चार खेलाडीको डेब्यू
नेपालका प्रशिक्षक एनेसले लाओसविरुद्ध चाार खेलाडीलाई राष्ट्रिय टिममा डेब्यू गराए । राइट ब्याक अनिस श्रेष्ठले सुरुवात नै गरे । एपीएफका उनले आफ्नो पोजिसनमा यो खेलमा उत्कृष्ट प्रदर्शनसमेत गरे ।
एपीएफकै मणि लामाले ७३औं मिनेटमा क्लबका साथी खेलाडी नवीन लामालाई प्रतिस्थापन गरी राष्ट्रिय टिमबाट पहिलो खेल खेले । सातदोवाटो युथ क्लबबाट ए डिभिजन लिग खेल्दै उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टिममा बोलाइएका दीपक सिंह ठकुरीले नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरी ८३औं मिनेटमा डेब्यू गरे । जारी लिगको पाँच चरण सकिँदा दीपकले सातदोवाटोका लागि ४ गोल गरेका छन् भने तीन खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।
खेलमा ३ मिनेट थपिएको इन्जूरी समयमा आयुश घलानको स्थानमा मैदान छिरेर सुमित श्रेष्ठले पनि सिनियर राष्ट्रिय टिममा डेब्यू गरे । उनीसँग यू(२० राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । मनांग मर्स्यांदीबाट ए डिभिजन लिग खेलिरहेका उनले मिडफिल्डरको भूमिकामा राम्रो प्रदर्शन गरिरहेका छन् ।
मणि लामा र सुमित श्रेष्ठ फुटसलको राष्ट्रिय टिमका सदस्यसमेत हुन् । यी दुईले गत वर्ष चैतमा फुटसल एसियन कप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए । फुटबल र फुटसल गरी दुवैको राष्ट्रिय टिमबाट खेल्ने सूचीमा अब यी दुईको नामसमेत थपिएको छ । यसअघि विजय गुरुङ, आशिष लामा र नवीन लामाले दुवै राष्ट्रिय टिमबाट खेलेका थिए ।


