जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले यसलाई वैधानिक तवरबाट स्थापित गरिनुपर्थ्यो । ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन सार्वजनिक विदा दिने निर्णय गरियो ।’
‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो क्याबिनेटबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन । यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।’
यसलाई ठीक ढंगले स्थापित गर्ने प्रमुख जिम्मेवारी रहेको पनि उनले बताए । ‘हामीले नै यसलाई आम जनताको बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ,’ उनले भने ।
‘असफल हुने छुट छैन’
निकै जटिल परिस्थितिबाट नेपाल सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै उनले आफूलाई असफल हुने छुट नभएकोसमेत प्रचण्डले बताएका छन् ।
उनले भने, ‘अहिले हामी सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा छौं । तपाईं हामीलाई थाहा छ अर्थतन्त्रको स्थिति के छ, राजनीतिको अवस्था के छ । सरकारको नेतृत्व गर्ने अवसरलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु ।’
‘हामीलाई असफल हुने बिल्कुल छुट छैन । हामीले सामाजिक न्यायको क्षेत्रमा, सुशासनको क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नैपर्ने छ । त्यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठीक ढंगले कार्यान्वयन गर्न सकिन्छ ।’
केही समयदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कयौं कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको बताउँदै उनले भने, ‘यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्नका निम्ति दृढताको साथ अगाडि बढ्नुको कुनै विकल्प छैन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी कार्यालय परिसरमा शहीद तथा बेपत्ताहरूको स्मरणमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण पनि गरेका थिए ।
