Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री”प्रचण्ड”फकाउन देउवाको गगन”दूत” बने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 1.9K
    SHARES

काठमाडौँ । पुरानो गठबन्धन ब्युँताउन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफललाई तीव्रता दिएका छन् । सत्ता गठबन्धनमा खटपट देखिएपछि यसअघिको पाँच दलीय गठबन्धन ब्युँताउन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको जोडबल छ ।

यसै सन्दर्भमा बिहीबार मात्र प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । स्रोतका अनुसार बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणका विषयमा छलफल भएको थियो ।

भेटमा महामन्त्री थापाले नेकपा एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीबाट विगतको भएको समानान्तर शक्तिको अभ्यास स्मरण गराएका थिए । ‘राष्ट्रपतिमा नेकपा एमालेको उम्मेदवार निर्वाचित भए समानान्तर शक्तिको अभ्यास हुन्छ । यो बेलामा आजको कुरा मात्र हेरेर हुँदैन,’ थापाको भनाइ रहेको थियो । 

नेकपा एमालेसँग सिंगल डिल गरिएको हो । त्यहाँ केपी शर्मा ओलीजीसँग सहमति भए पुग्छ । नेपाली कांग्रेसमा त्यस्तो अवस्था मैले देखेको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

आजको सत्ता समीकरण हेरेर राष्ट्रपतिमा नेकपा एमालेको उम्मेदवार निर्वाचित गराएमा संविधान दुर्घटना हुन सक्ने महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा आफ्नो पार्टीभित्र पनि उठेको सुनाएका थिए । राष्ट्रपतिमा नेकपा  एमालेको हुँदा संविधान दुर्घटनामा पर्ने सक्ने खतरालाई मध्यनजर गरेर नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरेको प्रचण्डको भनाइ रहेको छ ।

केही दिनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई राष्ट्रपतिमा सहयोग गर्न नसक्ने संस्थागत निर्णय गर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार  थापालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले संकेत दिएको नेपाली कांग्रेस स्रोतको दाबी छ । नेपाली कांग्रेसका एक नेताले भने, ‘विश्वासको वातावरण बन्दै गएको छ । नेकपा माओवादी केन्द्र चाँडै निर्णयमा पुग्ला ।

स्रोतका अनुसार सत्ता गठबन्धनभित्र पुस १० मा नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति तोडेर अगाडि बढ्दा आउने परिस्थितिबारे पनि प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच गहन ढंगले छलफल भएको छ । प्रचण्डको जिज्ञासा मेटाउन सभापति देउवाले महामन्त्री गगनकुमार थापालाई एक साता अघि बालुवाटार पठाएको नेपाली कांग्रेस स्रोत बताउँछ ।

नेकपा माओवादी केन्द्रका नेताहरूका अनुसार सात दलीय गठबन्धन तोड्ने जोखिम उठाइ पुरानो गठबन्धन ब्युँताएर आउँदा नेपाली कांग्रेसमा सबैको सहयोग हुन्छ कि हुँदैन भन्ने प्रचण्डको गहिरो चासो रहेको छ ।

नेकपा एमालेसँग सिंगल डिल गरिएको हो । त्यहाँ केपी शर्मा ओलीजीसँग सहमति भए पुग्छ । तर नेपाली कांग्रेसमा त्यस्तो अवस्था मैले देखेको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । गत वैशाखमा भएको स्थानीय र मङ्सिरमा भएको आम चुनावमा नेपाली कांग्रेसको एउटा डा. शेखर कोइराला र गगनकुमार थापा पक्षले सहयोग नगरेको नेकपा माओवादी केन्द्रका नेताहरूले आरोप लगाउँदै आएको अवस्था छ ।

भोलि गठबन्धन ब्युँताउँदा नेपाली कांग्रेसको एउटा पक्षले भाँजो हालिराख्ने हो कि भन्ने भय प्रचण्ड”मा रहेको छ । त्यसैले भेटमा थापाले प्रधानमन्त्री प्रचण्डलाई सिंगो कांग्रेसको पूर्ण सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन ब्युँताउन तीन कुराको प्रष्टता चाहेका थिए । नेपाली कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने, त्यसमा नेपाली कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने र यसमा नेपाली कांग्रेसको सिंगो पंक्तिको साथ हुनुपर्ने प्रचण्डको अपेक्षा थियो । त्यसमा पनि नेपाली कांग्रेसको संस्थापन इतर पक्षको मनोविज्ञान बुझ्न प्रधानमन्त्री प्रचण्डले आफै उनीहरूसँग संवाद गर्न चाहेका थिए ।

प्रचण्डको सोही जिज्ञासा मेटाउन सभापति देउवाले महामन्त्री थापालाई एक साता अघि बालुवाटार पठाएको नेपाली कांग्रेस स्रोत बताउँछ । महामन्त्री थापाले राष्ट्रपति निर्वाचन र आगामी सत्ता सहकार्यका लागि नेपाली  कांग्रेसमा एकमत रहेको सन्देश प्रचण्डसमक्ष पुर्‍याइसकेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनपछि पुरानो गठबन्धन ब्युँताएर जाँदा भोलि फेरि आफूविरुद्ध छिमेकीको चलखेल हुने हो कि भन्ने प्रचण्डलाई चिन्ता छ । किनभने पहिलो चरण प्रधानमन्त्री छाड्ने वचनबाट देउवा ब्याक हुनुमा अन्तर्राष्ट्रिय शक्तिको चलखेलको मुख्य भूमिका रहेको प्रचण्डको बुझाइ छ ।

अब सुदूरपश्चिमबाट नै पुरानो गठबन्धन ब्युँतिने नेपाली कांग्रेसका नेताहरूको दाबी छ ।

नेकपा माओवादी केन्द्रका नेताहरूका अनुसार पाँच दलीय गठबन्धन भत्किनुमा नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र तत्कालीन प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदी पनि जिम्मेवार छन् । निधि र सुवेदीले नेकपा एमाले र शक्ति केन्द्रको ढाडस दिँदा देउवा प्रधानमन्त्री छाड्न तयार नभएको नेताहरूको बुझाई छ । 

अहिले भने विगतमा भएको कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न प्रचण्डसँग नेपाली कांग्रेसले प्रतिबद्धता जनाएको स्रोतको दाबी छ । अबको केही दिनमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा ‘तपाईंको उम्मेदवारलाई सहयोग गर्न सक्दिनँ’ भन्ने अवस्था सिर्जना हुने नेपाली  कांग्रेस नेताहरूको रिडिङ छ । त्यो अवस्थामा सत्ता गठबन्धनमा उथलपुथल आउन सक्ने र त्यही बीचमा नेकपा एमाले सरकारबाट बाहिरिएर नेपाली  कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा इन्ट्री लिन सक्ने उनीहरूको विश्वास रहेकोछ ।

‘राष्ट्रपतिको निर्वाचनबाट राष्ट्रपति मात्र प्राप्त हुन्थ्यो र अरू केही प्राप्त हुने अवस्था थिएन भने नेपाली कांग्रेसले यत्रो धेरै ‘पापड’ पेल्दैनथ्यो,’नेपाली कांग्रेस स्रोत भन्छ । राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किन्छ भन्नेमा  नेपाली कांग्रेसका अधिकांश नेता आशावादी छन् । 

बिहीबार साँझ गठबन्धन ब्युँताउने विषयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पनि लामै छलफल भएको थियो । अध्यक्ष नेपालका अनुसार सात दलीय गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनमा असहजता महसुस गरेका छन् । प्रचण्डलाई भेटेपछि नेपाल शुक्रबार नै देउवा निवास धुम्बाराही पुगेका थिए ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको नयाँ सरकारलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने अध्यक्ष नेपालको दाबी छ । नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सम्मिलित शाह सरकारमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराउने तयारी छ । अब सुदूरपश्चिमबाट नै पुरानो गठबन्धन ब्युँतिने नेपाली कांग्रेसका नेताहरूको दाबी छ । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखक सुदूरपश्चिम प्रदेशको पराकम्प केन्द्र सरकारसम्म पुग्ने बताउँछन् । 

शुक्रबार (आज) बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक हार्दिकता पूर्ण हुन नसकेको सङ्केत देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा  ओलीले आज संसद् भवनबाट बाहिरिँदा गठबन्धनको भविष्यबारे प्रस्ट जवाफ दिएनन् । सञ्चारकर्मीले ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौँको सरकार के होला अध्यक्षज्यू’ भनेर प्रश्न गर्दा ‘हेर्दै जाऔँ’ भन्ने ओलीको टिप्पणी थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४