Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एम्बुलेन्स रोकेर भीआईपीको सवारी कहिलेसम्म ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 1.5K
    SHARES

काठमाडौंको बाटो बिहानैदेखि व्यस्त हुन्छ। ८ नबज्दै बच्चाहरू आफ्नो विद्यालयको बस पर्खिरहेका हुन्छन् भने अर्कोतिर आफ्नो काममा जानेहरूको चटारो उस्तै। दिनहुँको यो दौडधुपमा म पनि थपिएकी छु यो शहरमा। स्वास्थ्य विभागमा इन्टर्नसिप गरिरहेकी म दिनहुँ भक्तपुरदेखि टेकुसम्म जाने गर्छु।

मेरी साथी जसलाई म मायाले ‘फट्याङ्ग्री’ भन्ने गर्छु, उसँग स्कुटरमा प्राय:जसो दिनहुँ हिंडिरहेकी हुन्छु। स्कुटरको पछाडि बसेर मान्छेहरूलाई नियाल्नु नै मेरो बिहान–बेलुकाको दिनचर्या बनिसकेको छ। हामी दुईपांग्रेको हतार सबैलाई थाहा छँदैछ, दायाँ होस् या बायाँ दुवैतर्फबाट घ्याच्च–घ्याच्च ब्रेक हानी–हानी ओभरटेक गर्नुपर्ने !

हतार पनि किन नहोस् काममा भरिसक्य समयमै पुग्नुपर्ने दबाव सबैलाई हुन्छ। त्यस्तै बेलुका चाँडो चाँडो घर पुगेर न्यानो भएर बस्ने मन सबैको नै हुन्छ। यही आउने जाने क्रममा एक दिन बिहान बानेश्वर नजिक साइरन बजाउँदै अगाडि पछाडि पुलिसको गाडी र बीचमा कालो सिसा भएको गाडी रफ्तारमा हुँइकियो। ट्राफिक दाइले पनि हत्तपत्त सबै अरु गाडीहरूलाई रोक्ने सिंग्नल दिंदै ती साइरन बजाउने गाडीलाई सलाम गर्दै जान दिनुभयो।

मैले पनि सोचें, ‘देश बनाउने मान्छे, देशको विकास गर्ने मान्छेलाई अलिकति नि ढिलो हुनुहुँदैन।’ जनताको हितमा सोच्ने र काम गर्नेलाई कुनै पनि अवरोध स्वीकार्य छैन र यो हामी सबैले बुझ्नु पनि पर्छ। त्यो जिम्मेवारीलाई हामीले सम्मान गर्नुपर्छ।

आज अलिक हतार भयो। १० बज्नै लागेको थियो तर हामी भने त्यही कोटेश्वरको जाममा पर्‍यौं। पछाडिबाट साइरनको आवाज सुनियो। हत्तेरी ! यो ढिलो भएको बेला फेरि कुन मन्त्रीको सवारी भएछ भन्दै मैले पछाडि हेरें। तर, यसपटक कालो हैन सेतो रंगको गाडी पो परेछ।

योपालि भने देशको जनताको सवाल हैन एउटा मान्छेको ज्यान बचाउने हतार थियो। साइरन बजिरह्यो तर यो गाडीलाई न त कसैले अगाडि बढ्न सिंग्नल दियो न त कसैले बाटो छाड्यो !

म स्वास्थ्यको मान्छे, आतुर भएर रातो ट्राफिक बत्ती कहिले हरियो हुन्छ भनेर हेरिराखें। मलाई थाहा छ- त्यो एक एक मिनेट बिरामीको ज्यान बचाउनलाई कति महत्वको हुन्छ। ‘गोल्डेन आवर’ ट्रमा र इमर्जेन्सी मेडिसिनमा प्रयोग भइरहने शब्द हो। यस सिद्धान्तले भन्छ- कुनै पनि ट्रमालाई १ घण्टा भित्र उपचार गर्न सकियो भने यसबाट हुने अक्षमता र मृत्युलाई केही हदसम्म रोक्न सकिन्छ।

चार वटा एसियन देशमा गरिएको अध्ययनले देखाएको छ, हरेक १० मिनेट अस्पताल पुग्ने समयमा गरिने ढिलाइले ६ प्रतिशत बढी खराब नतिजा आउने सम्भावना बढ्छ। कैयौं मानिस समयमै अस्पताल नपुगेर आफ्नो ज्यान गुमाइरहेका छन्।

इन्डोनेसियामा गरिएको एकीकृत लिटरेचर रिभ्यूमा एम्बुलेन्स ढिलाइ हुनुको मुख्य कारण भनेकै ट्राफिक जाम (७१.४ प्रतिशत) रहेको देखाएको छ। त्यसैले २० प्रतिशतभन्दा माथि आकस्मिक सेवा चाहिने बिरामीको मृत्यु हुने गरेको पाइएको छ।

तसर्थ, कालो सिसा भएको गाडीलाई दिने प्राथमिकता अब एम्बुलेन्सलाई पनि दिने कि ? हामी सबैलाई आ-आफ्नो गन्तव्यमा पुग्न हतार भएतापनि त्यो एम्बुलेन्समा भएको मानिस कहींकतै हामी या हाम्रो आफन्त नि हुन सक्छ कि भनी एकचोटि सोच्न जरुरी छ।

हामी आम जनताले त्यो साइरन र बिरामीको मर्म बुझी बाटो सजिलो गर्दिनु नै जिम्मेवार नागरिकको पहिचान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४