Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसलाई “प्रचण्ड”ले दिएको स्पेस के हो ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव पार्टी स्थायी कमिटीमा राखेका छन् ।

बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष “प्रचण्ड”ले समसामयिक विषयमा ब्रिफिङ गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे नेताहरुको धारणा समेत मागेका छन् ।

नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले कसरी जाने भनेर नेकपा एमाले र अरु दलहरुसँग सम्वाद भइरहेको प्रचण्डले बताएका छन् । नेपाली‘कांग्रेस र नेकपा एमालेको अडानहरु सबै बाहिर आएका छन्’ एक स्थायी कमिटी सदस्य भन्छन्, ‘अध्यक्ष “प्रचण्ड” ले त्यही ब्रिफिङ गर्नुभयो, र हाम्रो प्रयत्न राष्ट्रिय सहमति खोज्नेतर्फ हुने बताउनु भएको छ ।

यद्यपि गठबन्धनलाई तलमाथि गर्नेबारे आफ्नो कुनै सोच नभएको उनले बताएका छन् । विगतमा पार्टी एकता भएर पनि विघटन भएको पृष्ठभूमिमा यो सरकार बनेको भन्दै उनले यो गठबन्धन टिकाउने र अर्को चुनावसम्म लैजान प्रयत्न गर्ने बताएका छन् ।

तर नेपाली कांग्रेस पार्टीले विश्वासको मत दिएपछि आफ्नो सरकार राष्ट्रिय सहमतिको भएको भन्दै उनले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति गर्न पाए राजनीतिक स्थिरता कायम हुने धारणा राखेका छन् । ‘यो उहाँको सदीक्षा हो, तर यसो गर्यो भने राष्ट्रिय सहमति हुन्छ भनेर उहाँले ठोस रुपमा भन्नुभएको छैन’ एक नेताले सुनाएका छन् ।

आफूहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भन्दा नेपाली कांग्रेसका नेताहरु हौसिएको र सत्तारुढ एमाले नेताहरुमा संशय पैदा भएको नेकपा माओवादी केन्द्रका नेताहरु स्वीकार्छन् ।

१० पुषमा सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा दाबी पेश गर्न जानुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच राष्ट्रपति नेकपा  एमालेले लिने र प्रधानमन्त्री तथा सभामुखमा आलोपालो गर्ने सहमति भएको थियो । त्यसअनुसार ११ पुषमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री नियुक्त भए भने ५ माघमा नेकपा एमालेका नेता देवराज घिमिरे सभामुखमा चुनिएका छन् । सत्ता गठबन्धनको भागबण्डा अनुसार नै उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर चुनिएकी छन् ।

गठबन्धनमा आवद्ध दलहरुले सातै वटा प्रदेशमा मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु भागबण्डा गरेका छन् । ७ मध्ये चार प्रदेश सरकारको नेतृत्व नेकपा एमालेबाट गर्दा नेकपा माओवादी केन्द्रले २ प्रदेशको मुख्यमन्त्री लिएको छ ।

तर प्रधानमन्त्री पद छाड्न नमान्दा सबैतिर सत्ता गुमाएको नेपाली कांग्रेसले २६ पुषमा विश्वासको मत दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय सहमति भन्न थालेका छन् । ‘राष्ट्रपति साझा पद हो, प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिएजस्तै राष्ट्रपति पनि साझा रुपमा चुन्नुपर्छ’नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भन्छन्, ‘संविधानको संरक्षणका लागि पनि साझा व्यक्ति आवश्यक छ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्न प्रस्ताव गर्दा नेपाली कांग्रेसका नेताहरु भने हौसिएका छन् । विश्वासको मत दिने क्रममा नेपाली कांग्रेसका नेताहरुले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड”सँग सम्वाद बढ्ने र राष्ट्रपति निर्वाचनसम्म पुग्दा परिस्थिति अनुकूल हुनसक्ने दाबी गरेका थिए । बिहीबार अन्तिम समयमा पूर्वनिर्धारित पार्टी केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि सभापति शेरबहादुर देउवाले स्थगित गर्नुलाई पनि राष्ट्रपति चुनावसँगै जोडेर हेरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दिइरहेको अभिव्यक्ति र लिएका पहलकदमीलाई लिएर नेपाली कांग्रेसको नेतृत्वमा विश्वासको मतको बदला राष्ट्रपतिको चुनावमा सहयोग पाउने आशा बढेको अनुमान लगाउन सकिन्छ । ३ माघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूलाई विश्वासको मत दिने दलहरुको बैठक बोलाउनु र त्यो बैठक नेपाली कांग्रेस समेत सहभागी हुने परिस्थिति बन्नुलाई नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले अनुकूल अवस्था निर्माणका रुपमा बुझेको देखिन्छ ।

नेताहरुका अनुसार,नेपाली कांग्रेस सकेसम्म नेकपा  एमाले समेतको सत्ता गठबन्धन भत्काउन चाहन्छ र चुनावअघि बनेको गठबन्धन फर्काएर केन्द्रदेखि प्रदेशसम्म सत्तामा आउन चाहन्छ । यदि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” गठबन्धन बदल्न तयार नभए राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवारलाई सहयोग गरोस् भन्ने चाहन्छ । त्यो पनि नभए राष्ट्रपति नेकपा एमालेले नपाउने अवस्था बनाउन सके सत्ताको खेल कुनै पनि बेला आफ्नो अनुकूल बन्न सक्ने नेपाली कांग्रेसका नेताहरुको बुझाइ छ ।

नेकपा माओवादी केन्द्रका नेताहरु भने “प्रचण्ड”ले भनेको राष्ट्रिय सहमति नेकपा एमाले बाहेकको नभएको तर्क गर्छन् । ‘राष्ट्रिय सहमति बन्दै जान्छ भने प्रधानमन्त्रीले पहल लिनुलाई अस्वाभाविक रुपमा हेर्नु हुन्न’ स्थायी कमिटी सदस्य प्रह्लाद बुढाथोकी भन्छन्, ‘तर नेकपा एमाले सहमत नभई राष्ट्रिय सहमति बन्दैन, त्यसमा तलमाथि हुने कुरै छैन ।

कतिपयले नेकपा एमाले र नेपाली कांग्रेसले एकअर्कालाई स्वीकार नगर्ने अवस्थामा नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा आफ्नो उम्मेदवार अघि सार्न खोजेको अनुमान गर्ने गरेका छन् ।

हाल नेपाल समाजवादी पार्टीको अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईको नाम पनि चर्चामा छ । कतिपयले भने प्रचण्डले गैरराजनीतिक व्यक्ति पनि अघि सार्नसक्ने दाबी गर्छन् । १० पुषमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच भएको वार्ताका क्रममा पनि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको चर्चा भएको दाबी गर्नेहरु छन् ।

यस्ता व्यक्तिमध्ये मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको नाम सबभन्दा अगाडि आउने गरेको छ । स्रोत भन्छ, ‘हिजो मन्त्रिपरिषद् अध्यक्ष बनाउने बेला पनि उनलाई “प्रचण्ड”ले नै अघि सारेका थिए । सबै दलले स्वीकार गरेपछि सरकारको नेतृत्व गरे । अहिले पनि त्यो अवस्था नआउला भन्न सकिन्न ।

नेकपा एमालेले भने राष्ट्रिय सहमति गरे पनि आफूले अघि सार्ने उम्मेदवारका नाममा हुनुपर्ने बताएको छ । नेकपा एमाले नेताहरु विपक्षीलाई खेल्न ठाउँ नदिन समेत आग्रह गर्छन् । ‘सहमतिको आधारमा प्रधानमन्त्री बन्नुभएकाले अहिले उहाँले सत्ता गठबन्धनभित्र शंका आशंका पैदा हुने, विपक्षीहरुले खेल्न मौका पाउने र मुलुकको राजनीतिक भविष्यबारे अन्योल हुने कुनै पनि अभिव्यक्ति, क्रियाकलाप र निर्णय गर्न मिल्दैन,’नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४