Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सात दलीय गठबन्धनभित्र शंका-उपशंका


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको अधीनमा रहेको सात दलीय गठबन्धनभित्र शंका, उपशंका बढ्न थालेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका ओली र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद् विस्तारकै विषयलाई लिएर बालकोट, बालुवाटारमा तारन्तार वार्ता भइरहे पनि दाहाल अलमलमा परेपछि राजनीतिको गाँठो फुक्न नसकेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन बाहिरका दलसँग सहकार्यको सन्देश दिएसंगै सत्तारुढ गठबन्धनमा संशय बढेको हो । सरकारले विश्वासको मत पाएलगत्तै मन्त्री चयन गर्ने योजना सुनाएका प्रधानमन्त्री दाहालका लागि सरकारलाई पूर्णता दिने एजेण्डा नै भ्यागुताको धार्नी बनेको छ ।

सरकारले अभूतपूर्व विश्वास पाएपछि दाहाल र ओलीबीच ८ पटक घण्टौं वार्ता भएपनि हालसम्म त्यसले आकार पाउन सकेको छैन । कांग्रेसले सरकारलाई विश्वासको मत दिनु र प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्ति गठबन्धन प्रतिकूल देखिन थालेपछि एमाले अध्यक्ष ओली सशंकित बन्नुभएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको सत्तारुढ कांग्रेसले सरकारमा देखाएको आशक्ति ओलीलाई मन परेको छैन ।

एमाले अध्यक्ष ओलीले संसदमै फाइदा लागि ढोक्सा नथाप्न सचेत गराउनुभएको थियो । दाहाल सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले अप्रत्याशित दाउ बल्झेला कि भनेर सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि लोभियो भने बागमती प्रदेशसभाको सभामुखमा उम्मेदवारसमेत उठायो । तर नतिजा दुवै ठाउँमा शून्य रह्यो ।

पदाधिकारी बैठकले संघमा सभामुख, राष्ट्रपतिका लागि अन्य दलसँग वार्ता अगाडि बढाउने बताएर कांग्रेसले सात दलीय गठबन्धनमा तरंग उत्पन्न गराएको छ । सात दलीय गठबन्धन निर्माण क्रममा भएको सहमति विपरीत प्रधानमन्त्री दाहालले कांग्रेसलाई राजकीय पदको ‘भाग’ दिने आशंकामा अध्यक्ष ओली सकभर छिटो मन्त्रिपरिषद् विस्तार हुनुपर्ने अडानमा हुनुहुन्छ । प्रधानमन्त्री दाहालले मंगलबारका लागि बोलाएको सर्वदलीय बैठकप्रति एमाले सशंकित छ । त्यसो आफ्नै पार्टीका कसलाई मन्त्री बनाउने भन्ने चक्रव्यूहले पनि दाहाललाई कठिन बनाएको छ ।

माओवादीभित्र मन्त्रीको लफडा प्रदेश १ मन्त्रिपरिषद् विस्तारमै देखियो । प्रदेश १ मा प्रधानमन्त्री दाहालका ज्वाइँ जीवन आचार्यलाई मन्त्रीमा नियुक्त गरिएपछि पार्टीभित्रै विरोधका स्वर उछालिएका छन् । सात दलीय गठबन्धनमा आवद्ध दुई दलबाहेकले मन्त्रिपरिषदमा भाग पाइसकेका छन् भने राप्रपा र नागरिक उन्मुक्ति पार्टीले मागअनुसार नपाए सरकारलाई समर्थन मात्रै गर्ने तर मन्त्रालयको जिम्मा नलिइने चेतावनी प्रधानमन्त्री दाहाललाई दिएका छन् ।

दाहाललाई विश्वासको मत दिएर कांग्रेसले सत्ताको भर्‍याङमा आँखा लगाइरहे पनि नेकपा एसले भने ओलीको नायवी रहेसम्म सरकारमा नजाने बताइसकेको छ । यही माघ ५ गते बिहीबार प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदै छ । सात दलीय गठबन्धनको सहमतिअनुसार एमालेले सभामुख पाएको छ । तर कांग्रेसले आँखा लगाएपछि माओवादीले राजनीतिक बेइमान गर्छ कि भन्ने डर ओलीलाई छ ।

नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न दाहालले सत्ता गठबन्धनसँग निरन्तर छलफल गरिरहनु भएको छ, तर सबैका आ–आफ्ना डम्फु बजेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

सात दलीय गठबन्धन बाहिरै रहेका कांग्रेस, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहालले विश्वासको मत दिएका छन् । यद्यपि कांग्रेसले प्रतिपक्षमा बस्ने बताएर जग हँसाइ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४