Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल टी–२० लिगमाथि आईसीसीको कडा निगरानी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आशंका बढेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) झस्किएको छ । र, उसले कडा निगरानी थालेको छ । म्याच वा स्पट फिक्सिङमा शून्य सहनशीलता अपनाउने आईसीसीले आफूले अनुमति दिएको प्रतियोगितामा एन्टी करप्सन युनिट (एसीयू) राख्ने गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगका आईसीसी एसीयू कमिटीका पूर्व सदस्य वीर सिंह नेतृत्वको टोली खटिएको छ ।

प्रतियोगितामा स्पट फिक्सिङको आशंका बढेपछि आईसीसीले निगरानी बढाएको छ । स्रोतका अनुसार वीर सिंह नेतृत्वको टोलीले लिगबारे गरेको रिपोर्टिङका आधारमा आईसीसीले प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको बताइन्छ । त्यसका लागि आईसीसी एसीयूका दुई सदस्य काठमाडौं ओर्लिएका छन् । आईसीसी एसीयू म्यानेजर समेत रहेका इंग्ल्याण्ड प्रहरीका पूर्व अनुसन्धान अधिकृत र आईसीसी एसीयू सदस्य सन्नी सम्मिलित टिम बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनीहरुले बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् । मैदानमा रहेका क्यान एसीयूका म्यानेजर वीर सिंहसँग भेटवार्ता गरेका छन् । दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टिमसँग छलफल गरेका उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलाई पनि भेटेका छन् । राखेपले बुधबार मात्र नेपाल टी–२० लिगमा विदेशी खेलाडी श्रम स्वीकृति बिना खेलाएको, सट्टेबाजी भइरहेको र सम्भावित स्पट फिक्सिङबारे छानबिन गर्न कार्यकारीणी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा भएको भेटमा लिगको विवादबारे छोटो छलफल भएको थियो । राखेप सदस्यसचिव टंकलाल घिसिङले चासो दिएपछि आईसीसी टिम उनलाई भेट्न पुगेको स्रोतले बताएको छ । सदस्य सचिव घिसिङले आईसीसी प्रतिनिधिसँग भेट भएको स्वीकार गरे पनि थप खुलाउन चाहेनन् । ‘आईसीसी र राखेप दुवै नेपाल क्रिकेटको नियामक निकाय हो । नियामक निकायबीच आवश्यक कुराकानी भयो,’ सदस्य सचिवले जन प्रहारसँग भने, ‘छलफलका विषयवस्तु उहाँहरुले गोप्य राखौं भन्नुभएको छ ।

आईसीसीले आफ्नो एसीयू नेपाल पठाउने खवर नेपाल क्रिकेट संघ क्यानलाई बुधबार अबेरमात्र दिएको थियो । यो टिम शुक्रबार बिहानै आईसीसी हेडक्वार्टर दुवई फर्किने छ । ‘उहाँहरु आएर सबै कुरा बुझ्नुभएको छ । हामीले प्रतियोगिताका खेलहरुलाई निष्पक्ष बनाउन हरसम्भव प्रयास गरेका छौं,’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले जन प्रहारसँग भनेका छन् ।

क्यान अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ नभएको दोहो¥याए । ‘हाम्रा एसीयू सदस्यहरुले निगरानी गरिरहेका छन्, नेपाल प्रहरीको सीआईबीका अफिसरहरुले होटलदेखि रंगशालासम्मका गतिविधि हेरिरहेका छन् । यस्तो प्रतियोगितामा फिक्सिङ हुनु असम्भव जस्तै हो,’ उनले भने ।

क्यानले बुधबार मात्र वक्तव्य जारी गरी स्पट फिक्सिङबारे प्रमाणसहित उजुरी गर्न आग्रह गरेको थियो । तर फ्रेन्चाइज टिमका कप्तान स्वयंमले स्पट फिक्सिङका लागि खेलाडीहरुलाई प्रस्ताव आएको सार्वजनिक गरिसकेका छन् । प्रतियोगितामा स्पट फिक्सिङ भइरहेको हुनसक्ने उजुरीको संख्या एसीयूमा लामो भइसकेको क्यानकै एक सदस्यले जन प्रहारलाई जानकारी दिएका छन् ।

एसीयूमा परेको उजुरीका आधारमा विराटनगर सुपर किंग्सका कप्तान म्याककार्थीलाई खेल्न दिइएको छैन । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल र टेष्ट राष्ट्र जिम्बावेका स्टार अलराउण्डर सिकन्दर राजा रहेको टिममा म्याकर्थीलाई कप्तान बनाउनुले विराटनगरको टिम व्यवस्थापनको नियतमा पनि प्रश्न उठेको छ ।

वेष्ट इण्डिजका ३५ वर्षीया म्याककार्थीले सन् २०१८ यता देशका लागि एक टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस आफैंमा विवादित छ ।

क्यानले सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौता विवादरहीत छैन । सम्पूर्ण व्यवस्थापनको अधिकार पाएको सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालिया यतिबेला भारतमा छन् । क्यान अध्यक्ष चन्दले बुधबार मात्र सेभेन थ्री प्रतियोगिताको बीचमा सम्पर्कमा नरहेको भन्दै सम्झौता खारेजी र क्यानले पाउनुपर्ने भुक्तानीका लागि कानूनी प्रक्रिया सुरु गर्ने बताएका थिए ।

त्यसको भोलिपल्ट बिहीबार सेभेन थ्री स्पोर्टसले ६० लाख भारतीय रुपैयाँ क्यानको खातामा जम्मा गरेको छ । क्यान र सेभेन थ्री स्पोर्टसबीच भएको सम्झौताअनुसार पहिलो वर्षको ३ करोड ९० लाख दिनुपर्ने थियो । प्रतियोगिता सुरु हुनुअघि दुईपल्ट गरेर १ करोड २० लाख रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४