काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पदीय मर्यादाको ख्याल नराखी नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर विवादीत क्षेत्रमा पुनःमतदान गराउने सहमति गरेका छन् । निर्वाचन आयोग उच्च स्रोतले दिएको जानकारी अनुसार प्रमुख आयुक्त थपलियाले ओलीको निजिनिवास बालकोट पुगेर सहमति जनाएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली सोमबार अबेर निर्वाचन आयोग पुगेर मागपत्र थमाएको छ ।
बालकोटमा सहमति भएपछि त्यही अनुसारको पुनः मतदान गर्नुपर्ने मागपत्र बनाई सो पत्र शंकर पोखरेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर प्रमुख आयुक्त थपलियालाई नै ओपचारिकता स्वरुप बुझाएको छ । उक्त मागपत्रमा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुनः मतदानको माग गरेको छ । यो पत्र प्रमुख आयुक्त थपलिया बालकोट पुगेर ओलीसँग सहमत भएपछि तयार भएको र औपचारिकता पुरागर्न आयोगमा आएर फेरी उनैलाई बुझाइएको स्रोतको भनाइ छ ।
संवैधानिक निकायका रुपमा रहेको निर्वाचन आयोग यस्तो अवस्थामा स्वविवेकीय निर्णय गर्नसक्ने अधिकार प्राप्त निकाय हो । यसले आम निर्वाचनका कुनैपनि निर्णय लिन कुनै एक राजनीतिक दलप्रति झुकाव राख्नुपर्ने वा शरण लिनुपर्ने अवस्थाको परिकल्पना गर्दैन् । आयोगबाट हुने निर्णयले समाजिक वा राजनैतिक सद्भावमा असरपार्न सक्ने अवस्था देखिएमा उसले सर्वदलीय र सर्वपक्षिय राय लिनसक्छ । त्यो पनि आवश्यक भएमात्र । नत्र आयोगले निष्पक्ष रुपमा गरेको पुनः मतदान वा मतगणना जुनसुकै निर्णय पनि मान्नुपर्ने हुन्छ । तर, थपलियाले सरासर गुनतिर्ने हिसावले पदीय मर्यादाकोसमेत ख्याल नगरि ‘जसोजसो ओली उसोउसो आयोग’ भनेझै गर्न पुगेका छन् ।
प्रमुख आयुक्त थपलियाको यो व्यवहारले अहिलेसम्म निष्पक्ष रहेको निर्वाचन आयोगको साँखसमेत धुमिल भएको छ । उनको यस्तो झुकावले मतगणनाका क्रममा खटाइएका कर्मचारीले एमालेका उम्मेदवारप्रति सद्भाव देखाउँदै मत थपघट गर्ने गरेको भन्ने आरोपलाई पनि पुष्टि गर्न खोजेको छ । पदीय मर्यादा अनुसार पनि संवैधानिक निकायको प्रमुख कुनै अमुक राजनीतिक दलका नेताको घरमा जान मिल्दैन । उनको राजनीतिक झुकाव एमालेप्रति वा अन्य कुनै दलप्रति रहनु स्वभाविक हो । तर, आस्था रहँदैमा सिंगो आयोगमाथि आक्षेप लाग्ने कार्य गर्न उनलाई छुट छैन् ।
स्रोतको भनाइमा एमाले अध्यक्ष ओलीले थपलिायालाई यही बेला चाहिने भएकाले नियुक्ति दिलाएको भन्दै पुनः मतदान नगराए महाअभियोग लगाएर हटाउने धम्की दिएपछि उनी पुन मतदानका लागि सहमत भएका थिए । यदी यो अवस्था आएको भए उनले सार्वजनिक रुपमा कारणबारे जानकारी गराउन सक्थे । गाह्रै भए राजीनामाको पनि बाटो थियो । उनले आचारसंहितदेखि नै उतै झुकाव देखाएको कुरा कसैमा लुकेको थिएन । निर्वाचन निस्पक्ष रुपमा गराएको भनेर सबैले मानेकै थिए । उनले इमान्दारीता पूर्वक काम गर्न चाहेका भए राजनीतिक हस्तक्षेपको एउटा पाटो यहीबाट समाप्त हुनेथियो ।
थपलिया बालकोटबाट फर्किएपछि सोमबार पार्टी महासचिव शंकर पोखरेलले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाउँदै पुनः मतदानको माग गरेका छन् । माथि पनि भनियो कि यो औपचारिकता वा कानूनी बाटो मात्रै पुरा गरिएको हो । सहमति थपलियाले पहिले नै गरिसकेका थिए । औलीकै दवावमा निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुनः मतदान गर्न माग गरेको हो ।
एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको थियो । ‘यस क्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरू कालिन्चोक बेगुम्पा मतदान केन्द्र क र ख शैलुङ्ग गाउँपालिका वडा नं २ भूसाफेदा मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्छ’, एमालेको मागमा भनिएको छ ।
त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका वडा ३ दिसिङकोट आधारभूत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मावि दार्सिङ्ग नरसेवा र सोही स्थानको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभूत विद्यालयका सबै मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले ती स्थानमा पुनः मतदानको माग गरेको छ । यी स्थानमा मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट पनि मतदान गराइएको एमालेको आरोप छ । ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा मतदान सम्पन्न गराउन एमालेले माग गरिएको छ ।
यस्तै, एमालेले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मावि केन्द्र, सोही पालिकाको वडा नं ३ को मष्टेश्वरी आधारभूत विद्यालय, वडा नं ७ को नाटेश्वरी आधारभूत विद्यालय, वडा नं ८ को नवदुर्गा आधारभूत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा २ को मालिका मावि मतदान केन्द्र, वडा नं ४ को फापरदेवस्थली मावि, बुढीगंगा नगरपालिका वडा ७ शारदा मावि मतदान केन्द्र, थमा मावि मतदान केन्द्र, वडा ८ को गिरिखेल्ने आधारभूत विद्यालय, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, सोही वडाको घटाल आधारभूत विद्यालय, सोही पालिकाका वडा नं ९ को हिमाली आधारभूत विद्यालय, सोही पालिकाको वडा नं ५ को बागेश्वरी आधारभूत विद्यालय र सोही पालिकाको बढीमालिका मावि मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको हो ।
‘बुथ कब्जा गरेको, एमालेका प्रतिनिधि हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्ष तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्छ,’ एमालेले भनेको छ । यस्तै, एमालेले उदयपुर क्षेत्र नं। १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनामा परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेको भन्दै ती स्थानमा पनि पुनः मतदानको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
एमालेको आपत्तिपछि रोकिएको उदयपुरको गणना पुनः सुरु गर्न आयोगले निर्देशन दिएको छ । सो क्षेत्रमा एमाले उम्मेदवार मञ्जु चौधरी कांग्रेसका उम्मेदवार नारायण खड्काभन्दा पछि रहेकी छन् । एमालेले सुनसरी ४ को पनि मतगणना पुनः सुरु गर्ने माग गरेको छ । साथै थोरै मतले पराजित भएको प्रतिनिधिसभाको धनुषा क्षेत्र नं २ र वाग्मती प्रदेशसभाको काभ्रे १ ९२० मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएको भन्दै एमालेले पुनः मतगणना गर्न माग गरेको छ । त्यसैगरी पाँचथरमा वसन्त नेम्वाङ विजयी भएको भन्दै उनलाई तुरुन्त प्रमाणपत्र दिनुपर्ने माग गरेको छ ।