काठमाडौं । तत्कालिन केपी ओली सरकार ढाल्न कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाएको जनता समाजवादी पार्टीले निर्वाचनको मुखमा एमालेसँगै सहकार्य गरेपछि मधेशको भोट बैकमा असर परेको छ । नागरिकता विधेयकको विरोधमा उभिएको नेकपा एमालेसँग गठबन्धन गरेपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका उम्मेदवारहरुलाई मधेसमा भोट माग्न सकस मात्रै परेको छैन मधेश भोट बैकमा असर परेको छ । ‘नागरिकता विधेयकमा एमालेले जसरी विरोध गरेको थियो, त्यसलाई वेवास्था गर्दै जसपाले एमालेसँग सहकार्य गर्यो जसका कारण भोट बैंकमा असर परेको हो’, जसपाकै एक नेताले भने । उनका अनुसार नागरिकता विधेयक मधेस केन्द्रित दुई दल जसपा र लोकतान्त्रिक समाजवादी पार्टीको पहिलो एजेण्डा थियो तर त्यसलाई जसपाले लत्यायो ।
२०६४ सालमा मधेश आन्दोलन हुँदादेखिनै नागरिकता विधेयक प्राथमिकतामा थियो । हरेक समय मधेस केन्द्रित दलहरूले नागरिकता विधेयकको मागलाई पहिलो एजेण्डा बनाउँदै आएका छन् । मधेस आन्दोलनका क्रममा दर्जनौंको निधन भएको छ भने सयौं घाइते भएका छन् । नागरिकता विधेयक तराई मधेससँग सोझै जोडिएकै कारण वर्तमान सरकारले संसदमा विधेयक मात्रै दर्ता गरेन निर्वाचनको सम्मुखमा पास गराएर राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको थियो । तर राष्ट्रपतिले त्यसलाई प्रमाणिकरण नगरी थन्क्याएपछि एमालेलाई मधेशमा अप्ठेरो परेको थियो । त्यही बेलो जसपाले पनि एमालेसँग सहकार्य गरेर आफूलाई नागरिकता विधेयक पक्षधरमा उम्याउन सकेन । नागरिकताकै कारण मधेस गई कसैले नागरिकता विधेयकको विरोध गर्न सक्दैनन् । तर नागरिकता विधेयक पास हुन नदिएको एमालेसँग जसपाले घाँटी जोडेपछि मधेशमै जनता विभाजित भएका छन् । यसबाट जसपाका उम्मेदवारहरुलाई भोट माग्न गाह्रो परेको छ । नागरिकता विधेयक पास नभएको कारण तराई मधेसका ६ लाख नागरिकले नागरिकता पाउनबाट बञ्चित भएको मधेस केन्द्रित दलका नेताहरूले बारम्बार भन्दै आएपनि एमालेले रोकेपछि कांग्रेस लगायतका दलहरुले यसलाई चुनावी मुद्धा बनाउने संभावना पनि उत्तिकै छ ।
नागरिकताको मुद्धालाई मधेसमा उम्मेदवारी दिएका कांग्रेस र गठबन्धनका नेताहरूले आफ्नो पहिलो एजेण्डा बनाउने निश्चित छ । तर एमालेसँगको तालमेलले जसपाका उम्मेदवारहरुलाई यो मुद्दा उठाउन नैतिक रूपमा समस्या परेको छ । एमाले नागरिकता विधेयकको विपक्षमा उभिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत एमालेसँग सहकार्य गर्न तयार नभएको तर जसाप टासिन पुगेको आरोप लगाइएको छ ।
जबकि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अन्तिम समयमा लोसपाले ओलीलाई साथ दिएको थियो । त्यो सम्बन्ध लोसपाका नेताहरुले पछिसम्म कायमै राखेका थिए । तर एमालेसँग चुनावी गठबन्धन गर्न लोसपा हिच्किचायो । अन्तिम समयमसम्म पनि लोसपाले एमालेसँग सहकार्य गर्न चाहेन । बरु एक्लै चुनाव लड्न तयार भयो, एमालेसँग सहकार्य गर्न लोसपाका नेताहरु तयार भएनन् । एमाले अध्यक्ष ओलीले शुरुदेखि नै मधेस विरोधी छवि बनाएका कारण पनि एमाले जसरी पनि मधेशवादी दलकै साथ लिएर आफ्नो छविलाई मेटान चाहन्छन् । मधेस आन्दोलनको क्रममा मधेस र मधेसी जनतालाई अपमान हुने गरी थुप्रै अभिव्यक्ति दिएका थिए । चाहे नाकाबन्दीका बेला होस्, चाहे मधेसमा गरिएको साङ्ले आन्दोलनको बेला होस्, ओलीले मधेसीको अपमान गरेका थिए ।
त्यसैले ओलीलाई मधेस पस्न कठिनाइ परेका बेला जसपाले सहकार्य गरेर एमालेलाई सहज बनायो तर मधेशी जनतालाई थप अपमान गर्यो भन्ने आरोप लागेको छ । जसपासँगको सहकार्यले ओलीलाई मधेस जाने बहाना बनेको छ । एमालेले ५२ सिटमा जसपासँग सहकार्य गरेको छ । जसपामा एमालेले ३५ तथा जसपाले १७ सिटमा उम्मेदवारी दिने सहमति गरेका छन् । केही ठाउँमा सहमति विपरीत एमालेले उम्मेदवार बनाएको छ । एमालेले जसपासँग गरेको तालमेल अधिकांश तराई मधेसमै छन् । गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा मधेस प्रदेशका ३२ सिटमध्ये सप्तरी र बाराका ६ सिटमा मात्र एमाले–जसपाको भोट अगाडि छ ।
अन्य सिटमा गठबन्धनकै भोट अगाडि छ । त्यसमा पनि एमाले र जसपाको गठबन्धनले जसपा बलियो भएको ठाउँमा समेत जसपाको भोट भड्किएको छ । यसले आगामी संसदीय तथा प्रदेश सभाको निर्वाचनमा जसपालाई उल्टै घाटा हुने निश्चित भएपनि मधेशमा जसपाले एमालेसँगै मिलेर प्रदेश सरकार बनाउने कोसिस पनि गरेको देखिन्छ । ‘लोसपा बाहिरिएपछि जसपाले गतिलो पार्टनर खोजेको देखिन्छ’, मधेशका एक नेताले भने ।