काठमाडौं । विशेषगरी दसैं र तिहारलाई आर्थिक चलायमान हुने पर्वकारूपमा लिइन्छ । यही समयमा वर्षभरीको करिब २० प्रतिशत आर्थिक चलायमान हुने अर्थविद्हरू बताउँछन् । विश्व बैंकले सार्वजनिक गरेको पछिल्ला तथ्यांकअनुसार सन् २०२१ मा औसत परिवारले वार्षिक ३ लाख ८० हजार खर्च गर्ने गरेका थिए । त्यसमध्ये २० प्रतिशत खर्च दसैं र तिहारमै गरेको तथ्यांक पाइएको थियो । यसअनुसार दसैंपछि तिहारलाई सबैभन्दा धेरै खर्च हुने पर्वका रूपमा लिइन्छ । यस समय विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ ।
- ४० करोडको भाइमसला
नेपालीहरूले तिहारलाई दाजुभाइ र दिदीबहिनीको पर्वकारूपमा मनाउँदै आएका छन् । यस पर्वमा दिदिबहीनीले दाजुभाइको दीर्घायूको कामना गर्दै यमराजको पूजा गर्ने गर्छन् । सोहीकारण, यो पर्वमा दिदीबहीनीले दाजुभाइलाई भाइमसला उपहार दिने गर्छन् । भाइमसलामा काजु, किसमिस, नरिवल, छोकडा, अञ्जिर, ल्वाङ, सुपारी, सुकुमेल, पेस्ता, बदाम, अलैँची, खोरपानी, ओखर, दालचिनी र मिस्री आदि मिसाइन्छ । यस्तै, विभिन्न प्रकारका चकलेट र बिस्कुट समेत यसमा हुने गर्छन् ।
नेपाल खुद्रा व्यापार संघका निर्वतमान अध्यक्ष पवित्रा बज्राचार्यका अनुसार तिहारको समयमा यी वस्तुको व्यापार ४० करोड रुपैयाँसम्म हुनेगर्दछ । ‘अहिले ती वस्तुको व्यापार अन्य समयमा पनि हुन्छ । तर, विशेषगरी तिहारको समयमा भाइमसलामा मिसाएर बढी खपत हुने गर्छ,’ उनको भनाइ छ । तिहारको समयमा मात्रै करिब ४० करोड रुपैयाँभन्दा बढीको भाइमसला खपत हुने बज्राचार्यको भनाइ छ ।
भाइमसलामा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । र, ती वस्तुको आयात छुट्टाछुट्टै हुने गर्छ । आयातकर्ताले तिहारलाई नै लक्षित गरेर सबै प्रकारका वस्तु आयातमा करिब ४० करोड रुपैयाँ बराबर खर्च गर्ने गरेको संघको भनाइ छ । सबै वस्तु आयात गर्नुपर्ने भएकाले गत वर्षको तुलनामा यी वस्तुको मूल्य कम्तिमा २० प्रतिशतसम्म बढेको संघले जनाएको छ ।
- २० करोडको झिलिमिली बत्ती, मूल्य बढ्ने
नेपाल विद्युतीय व्यवसायी महासंघले यो वर्षको तिहारमा करिब २० करोड रुपैयाँ हाराहारीको झिलिमिली बत्ती बिक्री हुने अपेक्षा लिएको छ । यो आँकलन सही भएमा गत वर्षको तिहारको तुलनामा ५० प्रतिशतले माग घटेको हुनेछ । गत वर्षको तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत भएको महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताएका छन् ।
उनले जन प्रहारसँग भने, ‘अघिल्ला वर्षहरूभन्दा यो वर्ष आयात र बजारको खरिदबिक्री पनि छैन । अघिल्ला वर्षहरूमा जस्तो चहलपहल देखिएको छैन ।’ तिहारको चहलपहल लक्ष्मीपूजादेखि सुरू हुने भएकाले पनि व्यापार विस्तारै बढ्नेमा पौडेल आशावादी छन् ।
उज्यालोको चाड मानिने भएकाले तिहारमा अलि बढी झिलिमिली बत्तीको कारोबार हुने उनको भनाइ छ । तर, गत वर्षको तुलनामा बजारको माग ५० प्रतिशतले घटेको उनको भनाइ छ । कोरोना महामारीको अघिल्लो वर्षमा तिहारको समयमा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत हुनेमा पछिल्लो समय यसको माग घट्दै आएको महासंघको भनाइ छ । खासगरी, चीनतर्फका नाका बन्द हुँदा समुद्री मार्गमार्फत आयात गनुपर्ने बाध्यता छ । यस्तै, नेपाल राष्ट्र बैंकले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा समेत आयात घटेको र आयातित वस्तु महँगो हुँदा खपत घट्ने भएको पौडेलले बताएका हुन् ।
यो वर्ष झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगो बन्नसक्ने अनुमान महासंघले गरेको छ । गत वर्ष समेत अघिल्लो वर्षको तुलनामा ३० प्रतिशले यस्ता वस्तुको मूल्य बढेको थियो ।
- साढे १३ करोडको माला
यसैगरी, नेपाल फ्लोरिकल्चर एसोसिएशनले यो तिहारमा साढे १३ करोड रुपैयाँ बराबरको माला किनबेच हुने बताएको छ । यस वर्ष ११ करोड रुपैयाँ बराबरको २० लाख सयपत्री माला खपत हुन्छ । यस्तै, १ करोड ७० लाख रुपैयाँ बराबरको र ८० लाख रुपैयाँ बराबरको गोदावरी माला खपत हुन्छ । यो वर्ष गत वर्षको तिहारको तुलनामा १० प्रतिशतले मालाको खपत बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताएका छन् ।
उनले यस वर्ष नेपालमा सबै प्रकारको फूलको उत्पादन बढेकाले आयात नबढ्ने बताएका छन् । ‘नेपालमा प्रत्येक तिहारमा सयपत्री फूलका माला मात्रै आयात हुँदै आएको छ,’ तामाङले भने, ‘गत वर्ष १८ लाख माला खपत हुँदा ३ लाख माला भारतबाट ल्याइएको थियो ।’ यस वर्ष २० लाखको माला खपत हुँदा समेत सोही मात्रामा माला आयात हुने उनको भनाइ छ । यो वर्ष ४ लाख २५ हजार मखमलीका माला र २० हजार गोदावरीका माला खपत हुने बताएको छ ।
एसोसिएसनले गत वर्षको तुलनामा यस वर्ष मालाको मूल्य बढ्ने जनाएको छ । यो वर्ष सयपत्री फूलको मालाको मूल्य स्थिर भएपनि मखमली र गोदावरी फूलको मालाको मूल्य बढ्ने एसोसिएसनले बताएको छ । मखमलीको फूलको मालाको मूल्य प्रतिगोटा १० रुपैयाँ र गोदावरी फूलको मालाको मूल्य प्रतिगोटा ५० रुपैयाँसम्म बढ्ने एसोसिएसनको आँकलन छ ।