पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्ड समय सहित कास्य जितिन् ।
सरस्वतीले बनाएको कीर्तिमान ह्याण्ड टाईमिङ कीर्तिमान हो । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डसहित स्वर्ण जितेकी थिइन् । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद सागमा देवी माया पनेरुले बनाएको १२:१९ सेकेण्डको टाइमिङ भने ईलेक्ट्रोनिक टाइमिङ हो ।
प्रशिक्षण नै नगरी राष्ट्रिय कीर्तिमान !
बुधबार देशको केन्द्रीय दशरथ रंगशालाको फिल्डबाट एउटा सनसनी समाचार फैलियो । जहाँ नेपाली खेलकुदकै एकमात्र ग्रासरुट कार्यक्रमको केन्द्रीय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलका स्पर्धा भइरहेका थिए । दाङकी निशा चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान रचिन् । जुनियर स्पर्धाका खेलाडीले सिनियरतर्फको राष्ट्रिय कीर्तिमान बनाउनु निकै ठूलो उपलब्धी थियो । सन् २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड बुधबारदेखि निशाको नाममा सरेको छ
उल्लेखनीय कुरा के छ भने दाङ, तुलसीपुर उपमहानगरपालिका १६ भेलाही गाउँकी १७ वर्षीया निशा एथलेटिक्सकी व्यावसायिक खेलाडी होइनन् । उनी बिना प्रशिक्षण राष्ट्रपति रनिङ शिल्डमा स्थानीय तह, जिल्ला, प्रदेश हुँदै पहिलोपल्ट काठमाडौं आएर दशरथ रंगशालामा दौडिएकी हुन् । फिल्ड विधामा नयाँ कीर्तिमान बनाएकी निशाले ट्र्याकमा पनि आफू सहभागी सबै स्पर्धामा स्वर्ण जितिन् । अर्थात् उनले राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जित्दा ३ स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
१ सय मिटर दौडमा उनको १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान हो । त्यस्तै निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेण्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरे । म तेक्वान्दो खेलाडी पनि हो । तेक्वान्दो नियमित खेल्थेँ । म टच ब्ल्याकबेल्ट हुँ । तर एथलेटिक्स चाहिं प्रतियोगिता हुँदा मात्र खेल्ने हो । मलाई पद्यमा चौधरी गुरुले प्रशिक्षण गराउनुभएको थियो । स्कुलमा चाहिं वसन्त वली गुरुले सिकाउनुभएको हो,’ निशाले अनलाइनखबरसँग भनिन् ।
१२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो । ६ कक्षा पढ्दादेखि नै यो प्रतियोगितामा सहभागी भए पनि स्वर्ण जित्न सकेकी थिइनन् । कोरोना महामारीका कारण पछिल्ला दुई संस्करण प्रतियोगिता आयोजना हुन सकेन । यसपल्ट उनले सनसनी नै मच्चाइन् । ‘स्वर्ण जित्छुजस्तो त लागेको थियो । तर, कीर्तिमान नै बन्छ भन्ने लागेको थिएन,’ उनले भनिन्, ‘ट्रेनिङमा मैले ५ मिटर ३२ सेन्टिमिटरसम्म गरिरहेको थिएँ । यहाँ सजिलो हुने रहेछ । काठमाडौंको ट्र्याकमा पहिलोपल्ट खेलेको हो ।’
तुलसीपुर ग्रेट अरनिको माविमा अध्ययनरत निशाको घरबाट बेलझुण्डी रंगशाला पुग्न साइकलमा ३० मिनेट लाग्छ ।
आठौं राष्ट्रिय खेलकुदमा ५ करोड खर्चेर निर्माण गरिएको सुविधासम्पन्न ट्र्याकसहितको बेलझुण्डी रंगशालामा निशाले अहिलेसम्म प्रशिक्षण गर्न पाएकी छैनन् । उनले भनिन्, ‘प्रतियोगिता हुँदा त्यहाँ खेल्ने हो । प्रतियोगिता आउने बेलातिर स्कुलमै खेल्ने हो ।’ यस संस्करणको राष्ट्रपति रनिङ शिल्डका लागि लुम्बिनी प्रदेशमा प्रारम्भिक छनोट प्रक्रिया असार १२ गतेदेखि सुरु भएको थियो ।
निशाले तुलसीपुर उपमहानगरस्तरीय सुरुवाती प्रतियोगिता जितेको पाँच दिनपछि जिल्लास्तरीय प्रतियोगिता खेलिन् । त्यसको पाँच दिनपछि लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता जितेर काठमाडौं आएकी हुन् । काठमाडौंमा भएको केन्द्रीय प्रतियोगिता मंगलबारदेखि सुरु भएर आज (बिहीबार) सम्पन्न भएको छ ।
कीर्तिमानको खुसीभन्दा मेलो सघाउन नपाएको चिन्ता धेरै
असारको महिना सबैतिर खेती लगाउने चटारो छ । आफ्नै जमिन नभए पनि निशाको परिबारले अर्काको जमिनमा खेती गर्ने गरेका छन् । बुबा भारतमा मजदूरी गर्छन्, आमा, दुई दिदी र भाइलाई धान रोप्ने चटारो छ । कीर्तिमानी प्रदर्शनका बाबजुद निशालाई यसपाली रोपाईंमा आमालाई सघाउन नपाएकोमा चिन्ता छ । जितेपछि ममीसँग हिजो कुरा भएको थियो । कहिले घर आउने भनेर सोध्नुभयो । मैले जितेकोमा खुसी नै हुनुहुन्छ,’ निशाले भारतमा रहेका बुबासँग भने कुरा हुन नपाएको बताइन् । टिमभित्र भने जितेपछि बधाईको ओइरो लागेको छ ।
राखेपले यस संस्करणको राष्ट्रिपति रनिङ शिल्डमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडी पहिचान गरी जुनियरस्तरमा नियमित प्रशिक्षण दिने बताएको छ । निशाको चाहना पनि यतै बसेर नियमित प्रशिक्षण गर्ने र अझै राम्रो प्रदर्शन गर्दै जाने नै छ । जुनियरस्तरमा राम्रो खेल्न थालेपछि उनी विभागीय टोलीको नजरमा पर्नेछिन् । अफर आएको खण्डमा परिवारसँग सल्लाह गर्नुपर्ने निशाले बताइन् ।