Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १७ २०७९
  • 4.9K
    SHARES

काठमाडौं । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उनको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उनी हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएकी छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । भेडापालन गर्ने र हातमा सीप भएकाले चासो दिन छोडेपछि गाउँमा राडीपाखी बुन्ने प्रचलन हराउन थालेको उनी बताउँछिन् ।

“पहिला राडीपाखी बेचेरै खान लाउन पुगेको पुग्थ्यो, घर व्यवहार चलाइन्थ्यो, गाउँमा धेरैले राडीपाखी बुन्ने गर्थे, अहिले कसैले पनि बुन्दैन हामी बूढाबूढी भैयो, हातपाखुरा बस्न थाले”, यमकलाले भनिन्, “अहिले त भेडा पनि कम मान्छेले मात्रै पाल्ने गर्छन्, ऊन पनि पाउन मुस्किल हुन्छ, भनेको बेला पाइँदैन, अब बिस्तारै यो पेसा हराउँदै जान्छ, अहिले नै धेरै कम भएको छ ।”

उनले आफूले बुनेका राडीपाखी देशमा मात्रै नभई विदेशसम्म पुग्ने गरेको जनाउँदै अहिले माग बढे पनि पुर्‍याउन नसकेको उनको भनाइ छ । आफूहरूले अग्रजबाट निकै चासो दिएर सिकेको भन्दै अहिलेका नयाँ पुस्ताले यसप्रति चासो नै नदिँदा राडीखापी बुन्ने पेसा लोप हुँदै गएको उनले बताइन् । “अहिलेका पुस्ताले यो काम गर्न झन्झट मान्छन्, यस्तो काम गर्दैनन्, राडीपाखी बुन्न अली झन्झटिलो हुन्छ, त्यही भएर पनि होला सिक्नै चाहँदैनन्, मैले मेरा छोराछोरी र गाउँका अन्य मान्छेलाई पनि सिकाउन कोसिस गरेँ तर सकिन, चासो नै दिएनन्”, उनले भनिन्, “मैले बुन्न छोडे भने त यो गाउँमा मान्छे नै हुन्न होला, अहिले मै मात्रै हुँ यसरी काम गर्ने ।”

तमानखोला–३ की टेककुमारी बुढालाई पनि राडीपाखी बुन्ने परम्परा हराउँदै गएकोमा चिन्ता छ । उनले भनिन् , “हराउन थाल्यो यो पेसा, अब कसरी बचाउन सकिन्छ र ?, अहिलेका युवायुवतीले यसप्रति चासो देखाएनन्, हामी दुई/चार जनाछौँ गाउँमा यो बुन्ने, हाम्रो हात बस्यो भने त गाउँमा राडीपाखी बुन्ने कोही हुन्न, अहिलेसम्म त हामीले जेनतेन बुनिराखेका छौँ ।”

राडीखापी बुन्न भेडाको ऊन अति आवश्यक पर्ने जनाउँदै भेडापालक पनि घट्दै गएको उनको भनाइ छ । पहिले–पहिले राडीपाखी बेच्नका लागि बागलुङको ठाउँठाउँमा मेला लाग्ने गरेको भन्दै अहिले तिमेलासमेत नलाग्ने उनको भनाइ छ । नयाँ पुस्ताले सिक्न चाहे आफूले निःशुल्क रुपमा सिकाउने उनी बताउँछिन् ।

“राडीपाखी बेच्ने मेला पनि लाग्न छोड्यो, पहिले बागलुङ जिल्लाका धेरै ठाउँमा राडीपाखी बेच्ने मेला लाग्थ्यो, अहिले न मेला लाग्छ, न मान्छेले बुन्छन्, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भनिन्, “यो काम अलि कति झन्झटिलो हुन्छ तर सिकेर बुन्दै गएपछि सजिलो लाग्छ, कोही युवायुवतीले सिक्न चाहे मैले निः शुल्क सिकाउने थिए ।”

कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थाल्दा जिल्लाको पहिचान नै सङ्कटमा पर्ने देखिन्छ । भेडाको रौँलाई प्रशोधन गरी धागो निर्माण गर्ने र विभिन्न काठका औजारबाट निर्माण गरिने राडीपाखी पछिल्लो केही वर्ष यता जिल्लामा कम मात्रैमा देखिन्छ । बागलुङमा उत्पादन हुने राडीपाखी खास गरी गुल्मीको रिडीमा लाग्ने माघेसङ्क्रान्ति मेलामा बढी बिक्री हुन्थे । बागलुङबाट यस बेला ठूलो मात्रामा राडीपाखी रिडीमा पुर्‍याउने र राम्रो मूल्य पार्ने गरेको निसीखोला–६ की ६७ वर्षीया पुनिकला घर्तीमगरले बताइन्।

“रिडीमा माघ १ गते ठूलो मेला लाग्ने गर्थ्यो, अहिले पनि त्यो मेला लाग्छ, उति बेला हामीहरू गाउँका १०/१२ जना एक वर्षभरि बुनेको राडीपाखी बोकेर जान्थ्यौँ, अहिलेको जस्तो मोटर बाटोको सुविधा थिएन, त्यहाँ पुग्न झन्डै चार दिन लाग्थ्यो”, उनले भनिन्, “त्यहाँ पुगेपछि राडीपाखीको खोसाखोस हुन्थ्यो, घर फर्किने बेला रु दुई÷तीन लाख लिएर आउँथ्यौँ, अहिले त बुन्न पनि कम भयो, जान पनि छोडियो ।”

उनले एउटा राडी तयार गर्न पाँचदेखि १० दिनसम्म लाग्ने सुनाइन्। ओढ्न, बिच्याउनका लागि प्रयोग गरिने राडीपाखी विदेशमा समेत निर्यात हुने गरेको भन्दै पछिल्लो समय निकै कम भएको उनको भनाइ छ । घर्तीमगरले एउटा राडीलाई सामान्य रु सात हजारदेखि ५० हजारसम्म पर्ने गरेको बताइन्। राडीपाखी बलियो र बर्सौँ टिक्ने हुँदै धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

स्थानीयले विदेशबाट आयातित कपडाको प्रयोग गर्न थालेपछि यसको उत्पादन कम भएको तमानखोला उनले बताइन् । अहिले बजारमा सिरक, डसनालगायत सबै खाले फ्रेन्सी सामान पाइन थालेपछि राडीपाखीको प्रयोगसमेत कम हुँदै गएको उनको भनाइ छ । उनले भनिन्,“हामी सानो हुँदा सिरक, डसना र कम्बल पाइँदैनथ्यो, मान्छेले ओढ्न बिछ्याउन राडीपाखीको प्रयोग गर्ने गर्थे अहिले सबैथरी कपडा बजारमा पाइन थालेपछि यसको उत्पादन र प्रयोग घट्यो ।”

राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै जाँदा बूढापाकाले चिन्ता गर्न थालेका छन् । गाउँले जनजीवन र जीविकापार्जनसँग जोडिएको राडीपाखी बुन्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको तमानखोला–४ का कृष्ण सिर्पाली बताउँछन्। उनले यस्ता कला र सीपको संरक्षणमा स्थानीय पालिकाले चासो दिनुपर्ने सुझाव दिए ।

“राडीपाखी त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, अझ बागलुङ जिल्लाकै चिनारी हो, केही वर्षयता यसको प्रयोग र बुन्नेको सङ्ख्यानै कम भएको छ, स्थानीय सरकारले बुन्ने सीप भएका मानिसलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई सिक्नतर्फ आकर्षित गर्न सके यो पेसा लोप हुने थिएन”,उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४