काठमाडौँ । कुमारी आमा निहारिका राजपूतले आत्मदाहको प्रयास गरेकी छन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै आत्मदाह प्रयास गर्दा राजपूतलाई प्रहरीले जोगाएको हो ।
उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन् । ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ ।
राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाएको हो । शुक्रवार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो ।
यसअघि आफूले न्याय नपाएको भन्दै वसन्तपुर र माइतीघरमा लामो समय अनसन बसेकी थिइन् । निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।
सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन् । तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन् ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।
तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।
