Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 8.6K
    SHARES

काठमाडौं । आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् ।

यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसी पूर्वानिर्धारित कार्यक्रम अनुसार भारतको भ्रमणमा छन् ।

असार मसान्तको नजिकमा अर्थ मन्त्रालय मूल नेतृत्वविहीन हुँदा मन्त्रालयभित्र पनि अन्योलको वातावरण छ । श्रीमती बिरामी भएको भन्दै विदामा बसेका सचिव मरासिनी मन्त्रीको राजीनामा आएकाले आकस्मिक विदा छोट्याएर फर्किने सम्भावना छ । तर, निश्चित भइसकेको छैन ।

चालु आर्थिक वर्ष २०७८/७९को पुँजीगत खर्च सोमबारसम्म ४२.५१ प्रतिशत मात्र भएको छ । राजस्व संकलनको लक्ष्य भेटाउन समेत अबको एक सातामा लक्ष्यको १७ प्रतिशत प्रगति प्राप्त गर्नुपर्नेछ ।

यस अवस्थामा मन्त्रालयको नियमित काममा असर पर्ने डर अर्थ मन्त्रालयभित्रै छ । अर्थ मामिलाका जानकारहरु पनि आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुआत हुने समयमा अर्थ मन्त्रालयमा मूल नेतृत्व नभए विभिन्न प्राविधिक समस्या तथा नीतिगत अड्चन पर्ने बताउँछन् ।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव तथा प्रवक्ता ढुण्डी प्रसाद निरौलाको मत भने फरक छ । ‘एक दिनको बिदाले काममा असर गर्दैन, सचिवज्यूले मंगलबारका लागि स्वास्थ्यका कारण बिदा लिनु भएको हो र भोलि ठीक भएमा आउने जानकारी पीए शाखालाई गराउनु भएको छ,’ उनले भने ।

राजस्व सचिव र संस्थान समन्वय महाशाखा प्रमुख समेत पूर्वनिर्धारित कार्यक्रम अनुसार कार्यक्रममा सहभागी भइरहेको भन्दै उनले अन्य सहसचिवहरु भने बिदामा नबसेको जानकारी दिए ।

उनकाअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार हरेक उत्तरदायी अधिकारीले आफ्नो अनुपस्थितिमा तोकिएको जिम्मेवारी सुम्पनु पर्छ । ती अधिकारीको अनुपस्थितिमा तोकिएका अधिकारीले काम गर्न सक्छन् । सोही कारण अर्थ मन्त्रालय भित्रको प्रणालीले विना अवरोध काम गर्ने निरौलाले बताए । ‘सचिवज्यू बिदामा बस्दा मुख्य सचिवलाई जानकारी गराउनु पर्छ,’ उनले भने, ‘त्यसबेला नै उहाँको अनुपस्थितिमा काम गर्ने जिम्मेवारी अर्को अधिकारीलाई तोकिने भएकाले प्रणालीले नियमित काम गर्छ, खासै प्रभाव पर्दैन ।’

अर्कोतर्फ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालय आर्थिक वर्षको अन्तिममा बढी व्यस्त हुन्छ । कार्यालयमा अर्का सचिव महालेखा नियन्त्रक सुमनराज अर्यालले नियमित काम गरिरहेका छन् । आर्थिक वर्षको अन्तिममा हुनुपर्ने भुक्तानीमा देखापरेका बाधा अड्चन उनी आफैंले फुकुवा गरी कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई अख्तियारी प्रदान गर्न सक्छन् ।

पूर्वसचिव लालशंकर घिमिरे समेत मन्त्री वा सचिव अनुपस्थित हुँदैमा ‘आकास नखस्ने’ बताउँछन् । ‘मन्त्रीले राजीनामा गरे अर्को आउलान्, उनी नभए पनि अर्थको नियमित काम रोकिन्न, सचिव नहुँदा अर्को मान्छेलाई स्वतः जिम्मेवारी तोक्ने परिपाटी हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४