Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वामदेवको ‘वाम एकता’मा ओली-प्रचण्ड नै अनिच्छुक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । वाम एकतामा सक्रिय हुँदै आएका नेता वामदेव गौतमको समूहले नयाँ पार्टी गठन गरेको छ ।

गौतमकै नेतृत्वमा गठन भएको पार्टीको नाम नै नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) राखिएको छ । वामदेव यसअघि पनि सोही अभियानका संयोजक थिए । वामदेवको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले नेपालका छरिएका कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने नै एकता राष्ट्रिय अभियानको मूल ध्येय रहने बताए । नयाँ दल दर्ता भएपछि पहिलो प्राथमिकता नेकपालाई एकीकृत गर्ने अभियान चलाउने उनले बताए ।

वामदेव गौतमको पार्टीले भनेजस्तो वाम एकता त्यति सजिलो छैन । यतिबेला संसद्मा मूलतः कम्युनिस्टका तीन पार्टी ठूला देखिएका छन् । सानातिना कम्युनिस्ट पार्टीहरू कति संसदमै छन्, कति संसदबाहिर पनि रहेका छन् ।

स्थानीय तहमा धेरै सिट जितेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई एउटा मियोलाई ल्याउन वामदेव गौतमले भनेजस्तो सजिलो देखिँदैन । विशेष गरी एमाले र माओवादी केन्द्र नै यतिबेला दुई ध्रुवमा छन्, एकले अर्कालाई देखिनसहने अवस्थामा छन् । यस्तो बेलामा वामदेवको ‘वाम एकता’को सूत्रले काम गर्न मुस्किल पर्ने कम्युनिस्ट नेताहरू नै बताउँछन् ।

स्थानीय तहको निर्वाचनपछि नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एमालेबिच एकता प्रयास भइरहेको स्रोतको भनाइ छ । दोस्रो तहका नेताहरू एमाले र एकीकृत समाजवादीको एकताको लागि छलफलमा रहेको स्रोत बताउँछ । यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच पनि एकताको लागि प्रयास भएका छन् । तर खास गृहकार्य अघि बढेको छैन ।

नेकपा एमालेका एक नेताका अनुसार वाम एकताको चर्चासँगै केही नेताबिच संवाद भए पनि ठोस गृहकार्य अघि बढेको छैन । ती नेताले भने, ‘चिया गफमा, भेटघाटमा वाम एकताको लागि संवाद भइरहेको छ, तर ठोस कार्यनीति केही अघि बढेको छैन ।’ उनका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै एकताको लागि अनिच्छुक छन् ।

‘शीर्ष नेतृत्व नै वाम एकताको लागि अनिच्छुक भएको खण्डमा कसरी एकीकरण अगाडि बढ्छ ?’ ती नेताले भने ।

माओवादी केन्द्रका एक नेताका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबिच वाम एकताको लागि छलफल चलेको छ, छलफलमा एमाले पार्टीभन्दा पनि पहिला समाजवादी र माओवादी केन्द्रबिच एकता गर्न सकिन्छ भन्ने कुरा उठेको छ ।

माओवादी केन्द्रका ती नेताका अनुसार वाम एकतामा एमालेको शीर्ष नेतृत्व नै अनिच्छुक छन्, एक कम्युनिस्ट नेता भएर अर्को कम्युनिस्ट नेतालाई निषेध गर्ने, एकीकृत समाजवादीलाई पार्टी नै नमान्नेजस्ता एमालेको गतिविधिले एकीकरणमा समस्या ल्याइरहेको छ ।

पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका कम्युनिस्टलाई एकीकरण गरेर चुनावमा जान सुझाव दिइरहेको हुनाले पनि वाम एकताको लागि नेपालको कम्युनिस्टलाई दबाब परेको छ । माओवादी केन्द्रका एक नेताले भने, ‘कम्युनिस्ट पार्टीलाई मिल्नूस् भनेर सदाशयता देखाउनु सकारात्मक हो, तर शीर्ष नेतृत्व नै एकीकरणमा अनिच्छुक भए कसरी एकता हुन सक्छ र ?’

२०७८ साउनमा एमाले विभाजन भएदेखि नै एमालेका तल्लो तहका कार्यकर्ताबाट नेतृत्वलाई एकताको लागि दबाब नआएको होइन । स्थानीय तहको चुनावपछि एकताको दबाब झन् बढेको छ । तर शीर्ष नेताहरू नै एकताप्रति गम्भीर नबन्दा र एकले अर्कालाई निषेधको नीति अपनाउन छोडेपछि बल्ल एकताको वातावरण बन्न सक्ने एमालेका एक नेताले बताए । एमालेका ती नेताले भने, ‘तलबाट नेता तथा कार्यकर्ताको एकताको लागि दबाब छ, तर एकता सजिलो छैन, शीर्ष नेताहरू नै एकले अर्कालाई स्विकार्न सकिरहेका छैनन् ।’

योबिचमा एमाले अध्यक्ष केपी ओली र नारायणकाजी श्रेष्ठबिच भेटघाट पनि भयो । एमालेका नेताहरू र माओवादी केन्द्रका नेता वर्षमान पुनसँग पनि वाम एकताको लागि छलफल भएका छन्, तर ठोस प्रगति केही भएका छैनन् ।

एमालेका एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली एकीकृत समाजवादीसँग र माओवादी केन्द्र दुबैसँग संवाद अघि बढाउन चाहेका छैनन्, न त एकीकृत समाजवादी र माओवादी केन्द्रले त्यसमा रुचि देखाएका छन्, यस्तो बेलामा एकीकरण गर्ने भनेर दोस्रो नेताबिच हुने छलफलले सार्थक परिणाम लिन देखिँदैन । ती नेताले भने, ‘माधव नेपाल र प्रचण्डलाई कांग्रेस नै प्यारो छ, कांग्रेसको बुई चढेर धेरै सिट जित्न सकिन्छ भन्ने विश्वास छ भने एमालेसँग नै किन मिल्नपर्‍यो, कांग्रेससँग मिलिरहे भैगो !’ उनले एमाले एक्लै चुनावमा जाने बताए । उनले थपे, ‘पार्टी प्रवेश गरेर जुनसुकै नेता तथा कार्यकर्ता एमालेमा आउन सक्नुहुन्छ, त्यसको लागि ढोका खुला छ, तर एकता नै अहिले तत्काल सम्भव देखिँदैन ।’

उनले कुनै पार्टीको सदाशयताले वाम एकता नहुने बताए । ‘कसैले वाम एकतालाई सदाशयता देखाउन सक्ने भयो, तर तत्काल वाम एकताको सम्भावना कम छ, चोइटिएर गएकाहरू धेरै पर पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४