Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास लुकाउने आधा दर्जन पसललाई जरिवाना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १४ २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । अनुचित मुनाफा कमाउने लोभले ग्यास लुकाउने व्यवसायीलाई सरकारले कारबाही थालेको छ । ग्यास लुकाएको पुष्टि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आधा दर्जनभन्दा बढी ग्यास पसललाई कारबाही गरेको हो ।

केही ग्यास पसलका सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए । ‘ग्यास लुकाएको सूचनाका आधारमा अनुगमन गर्दा ग्यास पसलहरू कारबाहीमा परिरहेका छन् । अनुगमनका क्रममा असहयोग गरेको कसुरमा पनि कारबाहीमा परेका छन्,’ पौडेलले भने, ‘कतिपय सूचना आयल निगमले अनुगमन गरेर पनि दिएको छ ।’ शंखमूलस्थित मंगल खाद्य एन्ड ग्यास स्टोरलाई मंगलबार २० हजार रुपैयाँ जरिवाना गरिएको पौडेलले जानकारी दिए । उक्त स्टोरले १० वटा ग्यास लुकाएको फेला परेको थियो । ‘सूचनाका आधारमा अनुगमन गर्दा मंगलले हिमाल र श्रीरामसहित १० ग्यास लुकाएको फेला पर्‍यो,’ पौडेलले भने, ‘उपभोक्ता संरक्षण ऐनअनुसार २० हजार जरिवाना गर्‍यौं ।’

ललितपुरस्थित राजु स्टोर्स र एस एन्ड जेएस स्टोरलाई पनि सोमबार २०/२० हजारका दरले जरिवाना गरिएको थियो । राजु स्टोर्सले १० र एस एन्ड जेएसले १५ सिलिन्डर ग्यास लुकाएको फेला परेको थियो । ती डिपोमा आयल निगमको टोलीले अनुगमन गर्दा सञ्चालकले ग्यास नभएको दाबी गरेका थिए । तर डिपोभित्र ग्यास लुकाइराखेको भेटिएको थियो ।

‘कारबाही गर्ने अधिकार निगमलाई छैन, त्यही भएर कारबाही गर्न वाणिज्यलाई पत्राचार गरेका थियौं,’ निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख नेत्र काफ्लेले भने, ‘वाणिज्यले कारबाही गरेको जानकारी पाएका छौं ।’ गत बुधबार अनुगमनका क्रममा सुविधानगरमा एक ग्यास पसललाई पनि १० हजार जरिवाना गरिएको थियो । उक्त पसलले बिलबीजक जारी नगरेकाले कारबाही गरिएको बताइएको छ ।

सुनाकोठीस्थित अदितराज स्टोर (ग्यास पसल) लाई सोमबार ५० हजार जरिवाना गरिएको छ । बिनादर्ता सञ्चालन गरेको कसुरमा उक्त स्टोरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको पौडेलले बताए । दिप्सना किराना पसललाई ५ हजार जरिवाना गरिएको छ । बिलबीजक जारी नगरेको कसुरमा उक्त पसललाई कारबाही गरिएको हो । यीबाहेक आधा दर्जन ग्यास पसललाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

संकटका बेला छोपेर नाफा कमाउन खोज्नेलाई कारबाही गर्नुपर्ने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले बताए । ‘अभावका बेला सबै उपभोक्तालाई पुग्ने गरी समानुपातिक रूपमा बिक्री गर्न भनेका छौं,’ थापाले भने, ‘ग्यास लुकाएर अनुचित नाफा कमाउन खोज्नेलाई अनुगमन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ अहिलेकै आपूर्ति प्रणालीले अबको ४/५ दिनमा ग्यास अभाव हट्ने उनको दाबी छ । ‘कतिपय कम्पनीको ग्यास आएको छ । कतिपयमा छैन, सरकारले उपभोक्ताको मागबमोजिम आपूर्ति गरे अभाव हट्छ,’ उनले भने ।

भारतीय आयल कर्पोरेसनले सार्वजनिक बिदाका दिन पनि ग्यासको लोड दिएकाले अभाव छिट्टै हट्ने निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख काफ्लेको दाबी छ । ‘भारतमा आइतबार बिदा भए पनि ५३ बुलेट लोड भयो । सोमबार १३६ बुलेट र मंगलबार ९० बुलेट लोड भएका छन्,’ उनले भने, ‘अबको दुई–तीन दिनमा बजारमा सहजै पाइन्छ ।’ एलपी ग्यास उद्योगीहरूले आईओसीको पारादिप, हल्दिया, बरौनी र मथुरा रिफाइनरीबाट ग्यास आयात गर्छन् ।

उद्योग र डिलरकै कारण बजारमा ग्यास अभाव भएको काफ्लेको दाबी छ । उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, ढुवानी व्यवसायी/उद्योगीले चैत ६ देखि दुई साता ढुवानीमा अवरोध गरेपछि बजारमा ग्यास अभाव देखिएको हो । अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्य स्वचालित बनाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएपछि ग्यासको मूल्य बढ्ने आकलन गर्दै व्यवसायीले समेत ग्यास लुकाएका छन्, जसले गर्दा बजारमा अभाव देखिएको हो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४