नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलका अनुसार गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भए पनि निर्णय भएको छैन । ‘कानुनी जटिलताका विषयमा परामर्श भइरहेको छ,’ उनले भने, ‘निर्वाचन आयोगसँग पनि परामर्श गरेका छौं ।’
वडामा छुट्टा-छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । कांग्रेस सभापति पोखरेल भने सहमति भइनसकेको बताउँछन् । धरानमा कांग्रेसले मेयरसहित १५ वटा वडामा दाबी गरेको बताउँदै उनले निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।
धरानको मेयरमा गठबन्धन दल नेपाली कांग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापालगायतको दाबेदारी छ । माओवादी केन्द्रबाट आइन्द्रबिक्रम बेघा, सभाषद किरण राईको दाबी छ । नेकपा एमालेबाट उपमेयर मञ्जु भण्डारीसहित आधा दर्जन आकांक्षी छन् । एमाले नेताहरुका अनुसार धरानको मेयरमा मुरारी सुवेदी, बिजय राई, मोतीराज सुनुवार, प्रकाश राई, पूर्व मेयर मनोज मेन्याङ्बोलगायत दाबेदार छन् ।
२०७४ को निर्वाचनमा धरानमा नेकपा एमाले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेपका माओवादी केन्द्रले १ र कांग्रेसले पाँचवटा वडा जितेको थियो । मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा भने कांग्रेसबाट उम्मेदवार बनेका तिलक राई मेयरमा निर्वाचित भएका थिए ।
