Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कविताको लोकमा ‘तिमीविनाको म’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १९ २०७८
  • 6.7K
    SHARES

‘उडिरहेको मनको अनन्त उडानमा

वसन्ती सुवासको सुगन्ध फैलिएजस्तो

मनमुग्ध पार्ने संगीतका रागहरु

बोकेर

प्रभातकालीन स्वर्णिम किरणका ज्योत्सनाले

उज्यालिएको पूर्वजस्तो….।’

यही सूरम्य शब्दहारसँगै तपाईं एउटा काव्यिक यात्रामा निस्कन सक्नुहुन्छ । यस्तो यात्रा जसले अक्षरहरुको सुनौलो लोकमा विचरण गराउनेछ । हरेक कुइनेटो र बिसौनीमा फरक स्वाद र सुगन्ध अनुभूत गर्नुहुनेछ । यसका लागि एउटा सर्त, तपाईंमा कवितासँग रमाउने गुण विद्यमान हुनुपर्छ ।

कविताहरुको यो आलोकमा तपाईंलाई स्वागत छ । यहाँ तपाईं भावनाका जलकुण्डहरुमा डुबुल्की मार्न सक्नुहुन्छ, विस्मयका पखेराहरुमा उक्लन सक्नुहुन्छ, उमंगका पिङमा मच्चिन सक्नुहुन्छ, प्रेमिल बतासमा बहकिन सक्नुहुन्छ । यान्त्रिक सञ्जालमा मदमस्त जेलिनुहुन्छ वा आत्मिक आनन्दमा स्वच्छन्द विलय हुनुहुन्छ, सबै छुट तपाईंसँग छ । किनभने यो लोकमा तपाईंलाई अनेकथरी भाव–अनुभूतिले स्पर्श गरिरहनेछ ।

यहाँ सयर गरिरहँदा तपाईंले आफ्नै भावनाका पत्रहरु उघार्दै गरेको अनुभूत गर्नुहुनेछ । प्रेमको, आशाको, सपनाको, चाहनाको, स्मृतिको, मौनताको, शून्यताको, अन्तर्मनको अनि आफ्नै जीवनको ।

‘मान्छे समयलाई

समाउन चाहन्छ र

चाहन्छ भर्न त्यसमा

मन लागेको रङ

मान्छे युगलाई बाँध्न चाहन्छ

चाहन्छ कोर्न त्यसमा

मन लागेको अकृति..’

मनोहर शब्दलहरसँग लहरिंदै तपाईं जहाँ–जहाँ पुग्नुहुनेछ, प्रेम–हृदयको बेग्लै मिठास अनुभूत गर्नुहुनेछ । अनि त्यो ‘अद्वितीय प्रेम’मा तपाईं लठ्ठिनुहुनेछ या त ‘ओठले सुमसुम्याएका परेलाहरु’मा मदहोस हुनुहुनेछ । फेरि ‘अदृश्य घाउ’ले तपाईंलाई बिथोल्न सक्नेछ या त ‘शून्य शून्य सन्नाटा’ले वैराग्य भाव जगाउनेछ । प्रेम–अनुभूतिका तीतामीठा छालहरुले तपाईंलाई निथ्रुक्कै भिजाउनेछ । यद्यपि यो प्रेम लोक होइन । यहाँ जीवन दर्शनका गहिराइ र उचाइ पनि अनुभव गर्नुहुनेछ । घृणा र वियोगको आँधीबेहरी पनि झेल्नुहुनेछ ।

‘..दोबाटोमा पुगेपछि

शायद बाटोले पनि

दिनेछ मौन स्वीकृति

तिमी जाने छौ,

म छुट्ने छु

तर तिम्रा यादहरु

सँगै रहने छन् !

..शायद अघिल्लो मोडमा

हामी छुट्ने छौं

यो निश्चिततापछिका

शेष दिनहरु

तिमी एक्लै, म एक्लै हुनेछौं ।’

यहाँको ‘नदीकिनार’मा बसेर तपाईं अक्षरहरु सुसाएको सुन्नुहुनेछ, ‘मौनता’को भाका महसुस गर्नुहुनेछ, अनि ‘अनमोल पल’ व्यतीत गर्नुहुनेछ । अर्थात् तपाईंले आफ्नो जीवनभोगाइका अनेक याम र आयामलाई अनुभूत गर्नुहुनेछ । यो स्वप्न लोकभित्र तपाईं कहिले ‘स्मृतिको पहरा’मा छलाङ मार्न सक्नुहुन्छ कहिले ‘बादल’सँगै बहकिन सक्नुहुन्छ । ‘फूलको आग्रह’ सहर्ष स्वीकार्दै ‘प्रेमखेती’मा रमाउन सक्नुहुनेछ ।

यो मनमोहक लोकमा विचरण गरिरहँदा तपाईं आफैंभित्रको अर्को यात्रा पनि गर्नुहुनेछ । र, ‘आफ्ना लागि’ अन्तध्र्यान हुनुहुनेछ ।

‘..आऊ हामी केही पल

आफ्ना लागि बाँचौं

बाँचेका त थियौं यसरी

केवल

सास आफ्नै थियो

ढुकढुकी अरुको

सपना आफ्ना थिए

पर्खाल दुनियाँको…।’

आखिर तपाईंलाई जीवनको शाश्वत सत्यवोध हुनेछ र कताकता वैराग्य जाग्नेछ । अनि ‘रंगहीन जीवन’ले कताकता समयको दासत्वमा बाँचिरहेको बोध गराउँछ ।

‘मान्छे समयलाई

समाउन चाहन्छ र

चाहन्छ भर्न त्यसमा

मन लागेको रङ

मान्छे युगलाई बाँध्न चाहन्छ

चाहन्छ कोर्न त्यसमा

मन लागेको आकृति…।’

प्रेम अनि विरहको, प्रकृति अनि प्रविधिको, सपना अनि भ्रमको, आशा अनि विवशताको, जीवन अनि सन्नाटाको यो चक्लाबन्दीमा तपाईं कहिले उमंगको जग खन्नुहुनेछ त कहिले सत्यताको छानो हाल्नुहुनेछ । यसो भनौं, जीवन र जगतको अन्तर्यलाई बोध गर्दै एउटा काव्यिक शयर गर्नुहुनेछ । र, कविताहरुको लोकमा आफ्नो भावनाको बिस्कुन फिंजाउनुहुनेछ ।

कविता संग्रह हो, ‘तिमीविनाको म’ । साहित्यवृत्तमा आयामिक छवि बनाएका वसन्त चौधरीका हस्ताक्षर हुन्, यी सिर्जनाहरु । संग्रहमा ८५ थान कविता संग्रहित छन् । प्रकाशक हुन्, मेघा चौधरी । पुस्तकलाई रमण घिमिरेले सम्पादन गरेका हुन् भने उपसम्पादक रञ्जना निरौला छिन् ।

स्रष्टा चौधरीका यसअघि निबन्ध संग्रह, कविता संग्रह र उक्ति संग्रह प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४