काठमाडौं । नेपाली क्रिकेटका लागि करण केसी नामै काफी छ । सन् २०१८ को फेब्रुअरी १४ मा क्यानडाविरुद्ध करणको प्रदर्शन सायदै कसैले भुल्नेछन् ।
त्यतिबेला क्यानडालाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको छनोटमा पुगेको थियो । तीव्र गतिका बलर करणले बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अर्को ऐतिहासिक सफलता हात पारे ।
त्रिकोणात्क टी-२० श्रृंखला अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले एकै खेलमा ह्याट्रिक विकेटसहित ५ विकेट लिए । अनि नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे । यस्तै करण टी-२० अन्तर्राष्ट्रियमा ५० विकेटको आँकडा पूरा गर्ने दोस्रो नेपाली बलर समेत बने ।
३.४ ओभर बलिङ गरेका उनले ५ विकेट लिएपछि २०५ रनको लक्ष्य पछ्याएको पीएनजी २ बल बाँकी छँदै १६६ रनमा अलआउट भयो र खेल नेपालले ३७ रनले जित्यो ।


सन् २०१५ मा नेदरल्याण्ड्स विरुद्ध आम्सटलभिनमा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका करणले ३६ खेल खेल्दै ५४ विकेट लिएका छन् । यसअघि उनको उत्कृष्ट बलिङ प्रदर्शन नेदरल्याण्डस् विरुद्ध नै थियो । सन् २०१९ मा भएको खेलमा उनले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए ।
बिहीबारको खेलको म्यान अफ दि म्याच करणले खेलपछि आफ्नो लागि यो विशेष क्षण रहेको बताए । खेलपछि करणले भने, ‘आउँदा दिनमा पनि चार–पाँच पटक यस्तो गर्न सकूँ ।’
कप्तान सन्दीपले करणको प्रदर्शनलाई ‘ब्रिलियन्ट अचिभमेन्ट’ भनेका छन् । ‘क्रिकेटमा थोरै मात्र यस्तो उपलब्धि हुन्छ’, उनले भने ।
बिहीबारको खेलमा सोमपाल कामी र अविनाश बोहराले समान २ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
ब्याटिङमा भने दीपेन्द्र सिंह ऐरी र यसै खेलबाट डेब्यु गरेका आदिल अन्सारी चम्कँदा नेपालले ७ विकेट गुमाएर २०३ रन बनायो । दीपेन्द्रले ३३ बलमा ६६ रन बनाए भने आदिलले ११ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३१ रन जोडे ।

दीपेन्द्र र आदिल मिलेर १९औं ओभरमा ३२ रन बनाएका थिए । जुन टी-२० अन्तर्राष्ट्रियमा नेपालले एकै ओभरमा जोडेको सर्वाधिक रन हो । १९औं ओभरमा आदिलले ३ छक्का र १ चौका तथा दीपेन्द्रले एक छक्का प्रहार गरे ।
आदिलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि खुशी व्यक्त गर्दै यसका लागि आफूले मिहिनेत गरेको बताए । ‘अन्तर्राष्ट्रिय स्तरमा यति चाँडै अवसर पाउँछु जस्तो लागेको थिएन । सुरुमा त प्रेसर थियो तर मेरो रोल नै जानेबित्तिकै हान्ने खालको थियो’ उनले भने ।
हेर्नुस् थप तस्वीरहरु :






